नीयान्डर्टाल र आधुनिक मानवका पुर्खाबीच यौन सम्बन्ध

  फरकसन्देश || २०७७ चैत २६ बिहिबार 04:19 PM

काठमाडाैँ : प्रागैतिहासिक रुमेनीयाको विकट पहाडी क्षेत्रमा उनीहरूका आँखा जुधे। उनी नीयान्डर्टाल थिए र एउटा भुवादार छालाबाहेक निर्वस्त्र थिए। (नीयान्डर्टाल ४०,००० वर्ष अगाडिसम्म बाँचेका मानवपुर्खाको उपप्रजाति हो।)

उनको शरीरको स्वरूप आकर्षक थियो, छाला नरम थियो र सम्भवतः सूर्यको प्रकाशले त्यो रातो थियो। उनले आफ्नो बलियो मांसपेशीसहितको पाखुरामा चीलको पन्जाको डोरो बाँधेका थिए।

उनी प्रारम्भिक समयकी आधुनिक मानव थिइन् र उनले ब्वाँसोको भुवादार छालाको कोट लगाएकी थिइन्।अँध्यारो छाला भएकी उनको खुट्टा लामो थियो र उनको केश बाटिएको थियो।

उनले उनीलाई माथिदेखि तलसम्म हेरे र कुराकानी थाल्ने प्रयास अघि बढाए। उनी पनि एकोहोरो हेरिरहेकै थिइन्। दुवै जनाले एउटै भाषा बोल्दैन थिए र उनीहरू अप्ठेरो पाराले हाँसे। त्यसपछि के भयो हामी सबै अनुमान लगाउन सक्छौँ।

वास्तवमा यो अहिलेको काल्पनिक प्रेम कथाको दृश्यजस्तै सुनिन्छ। तर साँच्चै भन्नुपर्दा त्यो भेट वा त्यस्तै अरू भेटमा ठ्याक्कै के भयो अहिले हामीले थाहा नपाउन सक्छौँ। तर हामी त्यस्ता जोडीहरू राम्रोसँग घुलमिल भए भन्नेमा निश्चित रहन सक्छौँ।

त्यस्तो घटना भएको झन्डै ३७,००० देखि ४२,००० वर्षपछि फेब्रुअरी २००२ मा दुई जना अन्वेषकहरूले रुमेनीयाको सहर एनीनाको कार्पाथिअन पर्वतहरूको भूमिगत दक्षिणपश्चिम गुफामा अभूतपूर्व अन्वेषण गरे।

त्यहाँसम्म पुग्नु सजिलो थिएन। भूमिगत नदीमा २०० मिटर भित्रसम्म प्रवेश गरेपछि भूमिगत पानीमा ३० मिटर पौडी खेले र ३०० मिटर माथि चढेर पहिले पत्ता नलागेको ठाउँसम्म पुगे।

त्यहाँको पिस्टोरा कू आसे अर्थात् 'हड्डी भएको गुफा'मा उनीहरूले हजारौँ स्तनधारी जनावरहरूको हड्डी फेला पारे। त्यो गुफामा खैरो भालुको लोप भइसकेको पुर्खा बसेको ठानिएको थियो। त्यहाँ एउटा बङ्गाराको हड्डी फेला पर्‍यो। रेडिओकार्बन डेटिङ विधिले त्यो युरोपको जानकारी भएको प्रारम्भिक आधुनिक मानवमध्ये सबैभन्दा पुरानोमध्ये एक जनाको भएको निष्कर्ष निकाल्यो।

त्यस बेला वैज्ञानिकहरूले बङ्गारा आधुनिक भएकोमा कुनै दुबिधा नभए पनि त्यसको स्वरूप अस्वाभाविक भएको देखे। त्यहाँ केही नीयान्डर्टालको जस्तो विशेषता पनि पाइएको थियो। वर्षौँपछि वैज्ञानिकहरूको उक्त आशङ्का पुष्टि भयो।

जब वैज्ञानिकहरूले सन् २०१५ मा त्यसको डीएनए परीक्षण गरे उनीहरूले उक्त व्यक्ति पुरुष भएको र छदेखि नौ प्रतिशत नीयान्डर्टाल भएको हुनसक्ने पत्ता लगाए। त्यो प्रारम्भिक अवस्थाको मानवमा पाइएको सबैभन्दा उच्च मिश्रण हो एवम् अहिलेको युरोप र एशियाका मानिसहरूमा पाइने त्यस्तो मिश्रणभन्दा तीन गुणासम्म बढी हो।

वैज्ञानिकहरूले उक्त बङ्गारो भएको व्यक्तिको नीयान्डर्टाल पुर्खा लगभग चारदेखि छ पुस्ता पुरानो भएको हुन सक्ने लख काटे। बङ्गाराबाहेक उक्त टोलीले अर्को व्यक्तिको खप्परको अवशेष पनि फेला पारे।

वैज्ञानिकहरूले त्यो अवशेषबाट डीएनए निकाल्न अझै सकेका छैनन् तर बङ्गाराजस्तै त्यो खप्पर पनि नीयान्डर्टालसँग जोडिएको हुन सक्ने ठानिएको छ। त्यसयता सुरुका आधुनिक मानव र नीयान्डर्टालबीच यौन सम्बन्ध कायम भएका बारेका प्रमाणहरू बढिरहेका छन्।

अहिलेको जनसङ्ख्याको देखिने सङ्केतहरूले कैयौँ पटक र ठूलो भौगोलिक क्षेत्रमा त्यस्तो सम्बन्ध रहेको देखाएको छ। अहिलेसम्म नीयान्डर्टालको कम्तीमा दुई समूहको आनुवंशिक अवशेष मानिसमा पाइएको छ।

एउटा विश्लेषणले युरोप र एशियामा कैयौँ पटक आधुनिक मानव र नीयान्डर्टालबीच यौन सम्बन्धका कारण प्रजनन भएको देखाएको छ। वास्तवमा नीयान्डर्टालको डीएनए अफ्रिकीसहित अहिले बाँचिरहेका सबै मानिसमा पाउन सकिन्छ।

सन् २०१६ मा वैज्ञानिकहरूले साइबेरियाको अलटाई पर्वतका नीयान्डर्टालले उनीहरूको एकदेखि सात प्रतिशत अनुवंश लगभग एक लाख वर्षअघि बाँचेका मानवका पुर्खाहरूलाई दिएको हुनसक्ने पत्ता लगाएका थिए। आदिम कालको उक्त सम्बन्धबारे धेरै कुरा इतिहासकै गर्भमा हराएको हुन सक्ने ठानिएको भए पनि त्यो रोचक समयको थाहा भएका कुरा यस्ता छन्।

चुम्बन

सन् २०१७ मा पेन्सील्भेनिया स्टेट यूनिभर्सिटीकी मानवशास्त्री लाउरा वेरीचले ४८,००० वर्ष पुरानो घुमन्तेको सूक्ष्म अवशेषसँग टाँसिएको आदिम इतिहासकालीन दाँत फेला पारिन्।

नीयान्डर्टालले के खाइरहेका थिए र उनीहरू वातावरणसँग कसरी घुलमिल भइरहेका थिए जान्ने रुचि उनीमा थियो। त्यसका लागि तीन वटा गुफामा फेला परेको दाँतमा टाँसिएको पदार्थको अध्ययन गरिन्।

दुईवटा नमुना पश्चिमोत्तर स्पेनको एल सिड्रोनका १३ नीयान्डर्टालबाट लिइएको थियो। त्यहाँको एउटा दाँतमा ब्याक्टेरिया जस्तै सूक्ष्मजीवको आनुवंशिक सङ्केत पाइएको थियो।

मेथनोब्रीभाइबेक्टर ओरलिस अहिले पनि हाम्रो मुखमा फेला पर्छ। नीयान्डर्टाललाई अहिलेको आधुनिक मानवसँग तुलना गरेर उनले दुई जना एक लाख २० हजार वर्षपहिले अलग भएको आकलन गरेकी थिइन्।

यो कसरी भयो त्यो ठ्याक्कै थाहा पाउन असम्भव छ तर एक लाख २० हजार वर्षपहिला अरू नै केही भएको हुन सक्छ। "मेरो लागि रोचक के हो भने हामीले मानव र नीयान्डर्टालले सम्बन्ध राखेको व्याख्या गरेको पहिलो समयावधि पनि यही नै हो।"

वेरीचले सम्भवतः चुम्बनमार्फत् त्यस्तो भएको हुन सक्ने व्याख्या गरिन्। "तपाईँले जब कसैलाई चुम्बन गर्नुहुन्छ सूक्ष्मजीवहरू मुखमा भित्र र बाहिर गर्छन्।" "यो एकचोटि मात्रै भएको हुन सक्छ तर सङ्क्रमित मानिसहरूबाट चामत्कारिक ढङ्गले सफलतापूर्वक रूपमा सरेको पनि हुन सक्छ। यो अलि नियमित रूपमा भएको घटनाक्रम पनि हुन सक्छ।"

खाना बाँडेर खाँदा पनि मुखका सूक्ष्मजीवहरू सर्ने गर्छन्। तर नीयान्डर्टालले प्रारम्भिक मानवका लागि खाना बनाइदिएको इतिहास छैन।

पुरुष वा महिला नीयान्डर्टाल

अदिमकालका पुरुषसँग सम्बन्ध राख्ने अधिकांश नीयान्डर्टाल महिला थिए वा त्यसको ठिक विपरीत थियो त्यो भन्न सम्भव छैन तर केही सङ्केतहरू भने उपलब्ध छन्।

सन् २००८ मा रुसको एटलाइ पर्वतको डेनीसोभा गुफा फेला परेको औँलाको हड्डीको टुक्रा र एउटा चपाउने दाँतको मानवको एउटा नयाँ उपप्रजाति पत्ता लगाउन मद्दत गरेका थिए। उनीहरूको डीएनए विश्लेषणपछि वैज्ञानिकहरूले त्यस्तै आनुवंशिक विशेषताहरू पूर्वी एशिया र मेलानोशियन वंशज भएका पाइएको बताएका थिए।

डेनीसोभियनहरू अहिलेको मानवभन्दा बढी नीयान्डर्टालसँग मिल्दाजुल्दा थिए र यी दुई उपप्रजातिहरू सयौँ हजार वर्ष पहिले एशियामा एक अर्कामा मिसिएका हुन सक्छन्। यो सन् २०१८ मा एक जना डेनी उपनाम दिइएकी नीयान्डर्टाल आमा र डेनिसोभन पिताबाट जन्मिएकी किशोरीको हड्डीको टुक्रा फेला परेपछि पुष्टि भएको थियो।

त्यही भएर नीयान्डर्टालको पुरुष सेक्स क्रोमजोम डेनिसोभनसँग मिल्दोजुल्दो पाइए केही अर्थ लगाउन सकिन्थ्यो। तर वैज्ञानिकहरूले ३८ देखि ५३,००० वर्षको अघिका तीन नीयान्डर्टालको डीएनए परीक्षण गरे, उनीहरूको 'वाई' क्रोमजोम अहिलेको मानवसँग मिल्दोजुल्दो रहेको पाइएको थियो।

अनुसन्धानकर्ताहरूले यो नीयान्डर्टाल र प्रारम्भिक कालका आधुनिक मानवबीच अत्यधिक धेरै अन्तर्प्रजनन भएका प्रमाण भएको उल्लेख गरेका छन्। त्यही भएर नीयान्डर्टालहरूको सङ्ख्या घट्दै गएर जाँदा उनीहरूको अस्तित्व समाप्त हुन लाग्दा उनीहरूको वाई क्रोमजोम लोप भएको हुन सक्छ र त्यसलाई हाम्रोले प्रतिस्थापन गरेको हुनसक्छ।

यसको अर्थ पुरुष मानवको उल्लेख्य सङ्ख्याका पुर्खाहरूले महिला नीयान्डर्टालसँग यौन सम्बन्ध राखिरहेका थिए। तर कथा यत्तिमै सकिँदैन। अन्य अनुसन्धानले हाम्रा पुर्खाहरूले पुरुष नीयान्डर्टालसँग पनि यौन सम्बन्ध राखेको देखाएको छ।

आधुनिक मानवमा पाइएको माइटोकोन्ड्रियाबारे सन् २०१७ मा गरिएको एउटा अध्ययनमा नीयान्डर्टालको अवशेष पाइएको थियो। आमाबाट सन्तानमा जाने गुणहरू बोक्ने माइटोकोन्ड्रियाले सुगरबाट पोषण लिने बताइन्छ।

त्यो अन्तर्प्रजनन मानव समुदाय अफ्रिकामा सीमित रहेको दुई लाख ७० हजार वर्षदेखि एक लाख वर्षअघि भएको हुन सक्ने ठानिएको छ।

यौन रोग

केही वर्ष पहिले भील पाइमनअफले यौन सम्पर्कबाट सर्ने पापिलोमा भाइरसको सङ्क्रमणबारे अध्ययन गरिरहेको बेला एउटा अनौठो कुरा फेला पारे। पापिलोमा भाइरस भालु, डल्फिन, कछुवा, सर्प र चराजस्ता सबै जीवजन्तु र अध्ययन गरिएका लगभग सबै प्रजातिमा देखा परेका छन्।

मानवमा यो भाइरसका १०० वटाभन्दा बढी प्रकार देखा परेका छन् जुन विश्वभरि हुने ९९.७ प्रतिशत गर्भाशयको क्यान्सरका कारक हुन्। उक्त भाइरसमध्ये सबैभन्दा घातक एचपीभी-१६ हो जुन शरीरमा वर्षौँ रहन सक्छ र त्यसले भित्रभित्रै कोषहरूलाई नष्ट पार्छ।

यो भाइरसका विभिन्न प्रकारहरू कहाँ फेला परिरहेका छन् भन्नेमा स्पष्ट विभाजन छ। पृथ्वीको अधिकांश क्षेत्रमा 'ए' प्रकारको भाइरस देखा परे पनि सबसाहारा अफ्रिकामा अधिकांश मानिसमा 'बी' र 'सी' प्रकारको सङ्क्रमण भएको पाइएको छ।

नीयान्डर्टालको डीएनए वितरण पनि यस्तै चरित्रको थियो। सबसाहारा अफ्रिकाका मानिसहरूमा एचभीपी भाइरसका अस्वाभाविक प्रकार पाइएको मात्रै होइन उनीहरूमा नीयान्डर्टालका आनुवंशिक अवशेष तुलनात्मक रूपमा कम पाइन्छ।

के भएर यस्तो भयो भन्ने बुझ्न पाइमेनअफले गरेको अध्ययनले 'ए' प्रकार ६०,००० देखि १,२०,००० वर्षको बीचमा पहिलो पटक देखिएको पत्ता लगायो। यसबाट यो अरू एचभीपी १६ भाइरसभन्दा कान्छो रहेको पत्ता लाग्यो।

यो आधुनिक मानवहरू अफ्रिकामा देखा परेर नीयान्डर्टालसँग सम्पर्कमा आएको भनिएको समयावधि थियो। यसलाई ठ्याक्कै प्रमाणित गर्न नसकिए पनि पाइमेनअफ उनीहरूले तत्कालै यौन रोगहरू एक अर्कालाई सार्न थालेको विश्वास गर्छन्।

उनले एचभीपी १६ भाइरसमा देखिएको विभाजनले हामीले 'ए' प्रकारको भाइरस नीयान्डर्टालबाट प्राप्त गरेको धारणा राख्दै आएका छन्।

नीयान्डर्टालसँग यौन सम्बन्धले मानिसहरूलाई एचआइभीको मिल्दोजुल्दो ऐतिहासिक सङ्क्रमणसहित विभिन्न भाइरसको सम्पर्कमा पुर्‍याएको थियो। तर लोप भइसकेका हाम्रा पुर्खाप्रति आक्रोशित हुनुपर्ने अवस्था छैन किनभने मानवले उनीहरूलाई पनि विभिन्न सङ्क्रामक रोग सारेको थियो।

यौनाङ्ग

नीयान्डर्टालका यौनाङ्ग कस्ता थिए भन्नेबारे धेरैलाई चासो लाग्न सक्छ। विभिन्न प्राणीका यौनाङ्गबारे कैयौँ वैज्ञानिक अध्ययनहरू भएका छन् र ती अङ्गहरूले जनावरहरूका जीवनशैली, प्रजननशैली र विकासक्रमका बारेमा जानकारीहरू दिएको पाइएको छ।

मानिसहरू सबैभन्दा नजिकको सम्बन्ध रहेको भनिएको चिम्पान्जीसँग हाम्रो ९९ प्रतिशत डीएनए मिल्छ।चिम्पान्जीसँग 'पिनाइल स्पाइन' अर्थात् छाला र रौँजस्तै वस्तुबाट बनेका अङ्ग छन् जसबाट भाले र पोथीले यौन सम्पर्क राख्छन्।

सन् २०१३ मा वैज्ञानिकहरूले नीयान्डर्टाल र डेनिसोभनको अनुवंशको अध्ययन गर्दा उनीहरूमा पिनाइल स्पाइन नभएको निष्कर्ष निकाल्यो। आधुनिक मानवमा पनि नभएको पेनाइल स्पाइन हाम्रा साझा पुर्खाहरूबाट कम्तीमा आठ लाख वर्ष पहिले नै लोप भएको ठानिन्छ।

यो महत्त्वपूर्ण छ किनभने यसले पुरुषलाई अरूसँग प्रतिस्पर्धा गर्न र प्रजननको सम्भावना बढाउन मद्दत गर्न सक्ने ठानिएको छ। त्यही भएर नीयान्डर्टाल र डेनिसोभनहरू अधिकांश एकल सम्बन्धको पक्षमा रहेको आकलन गरिएको छ।

अन्तिम नीयान्डर्टाल

नीयान्डर्टाल र आधुनिक मानवको पुर्खाबीच सम्बन्धले अहिले मानिसको कैयौँ विशेषता जस्तै छालाको रङ्ग, उचाइ, निद्रा, मनस्थिति र रोग प्रतिरोधी प्रणालीमा योगदान दिएको ठानिन्छ। उनीहरूको बारेको जनकारीले आधुनिक रोगहरूको सम्भावित उपचारमा पनि सघाइरहेको छ।

नीयान्डर्टालहरू लगभग ४०,००० वर्षअघि लोप हुँदा त्यसका लागि दुईतर्फको आकर्षण, जलवायु परिवर्तन र अन्तर्प्रजननजस्ता कारणहरू रहेको ठानिन्छ। एक थरीले दुई वटा उपप्रजातिमा देखिएका सङ्क्रामक यौनरोगलाई कारण मान्छन् जसमा नीयान्डर्टालले प्रतिरोधी क्षमता विकास गर्न सकेनन् र अहिलेको मानवको पुर्खाहरूले प्रतिरोधी प्रणाली हासिल गरेर अघि बढ्न सके।

अर्को थरीले नीयान्डर्टालको सानो जनसङ्ख्यालाई आधुनिक मानवले आफूमा ग्रहण गरेको ठान्छन्। किनभने उनीहरूले हाम्रो वाई क्रोमजोम र माइटोकोन्ड्रियालाई मूल रूपमा आत्मसात् गरिसकेका थिए र उनीहरूको कम्तीमा २० प्रतिशत डीएनए अहिले बाँचिरहेका मानिसमा पनि पाइन्छ।

सम्भवतः आदिम रुमेनीयाका ती जोडी अहिले यो लेख पढिरहेका कुनै व्यक्तिमा बाँचिरहेका हुन सक्छन्। बीबीसीबाट

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
कनकाई–३ झापा, प्रदेश १, नेपाल
+९७७-९८५११४४५०४
+९७७-९८०१०४४५०४
[email protected]
[email protected]

फरकसन्देश प्रा‍‌. लि.
अध्यक्ष/प्रधान सम्पादक - सराेज रिजाल

सुचना बिभाग दर्ता नं. ११२३ / ०७५–७६

 कनकाई–३, झापा, प्रदेश १

pharaksandesh.com

+977-9851144504

[email protected]