संसद् विघटनको विरोधमा प्रधानमन्त्रीको गृहनगरमै बयलगाडा कुदाइयो - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 11 January 2021

संसद् विघटनको विरोधमा प्रधानमन्त्रीको गृहनगरमै बयलगाडा कुदाइयो


काठमाडाैँ, २७ पुस :
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा बयलगाडा कुदाएर विरोध प्रदर्शन भएको छ । कांग्रेसले आयोजना गरेको विरोधसभामा ओलीको विरोध गर्दै बयलगाडा कुदाइएको हो । प्रधानमन्त्रीले संसद् विघटन गरेर असंवैधानिक कदम चालेको भन्दै कांग्रेसले बयलगाडासहित विरोध प्रदर्शन गरेको हो ।

बयलगाडा दमकको मुख्य बजार क्षेत्र घुमाइएको कांग्रेसले जनाएको छ । गणतन्त्र स्थापनामा ओलीको कुनै योगदान नरहेको भन्दै प्रदर्शन गरिएको ओलीसँग कांग्रेसबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका खगेन्द्रपाण्डव अधिकारीले बताउनुभयाे । ‘केपी ओलीले गणतन्त्र स्थापना गर्नु भनेको बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो भन्थे,’ उहाँले भन्नुभयाे, ‘उनकै क्षेत्रमा सांकेतिक रूपमा बयलगाडा कुदाएका हौँ । उनी यो उपलब्धिको कारक होइनन् भन्नलाई यो गरेका हौँ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको संसद् विघटनको विरोधमा आइतबार देशका विभिन्न भागमा बयलगाडासहित विरोध प्रदर्शन भएका छन् । ०६२/६३ को जनआन्दोलन चलिरहँदा ओलीले आन्दोलनको बलमा गणतन्त्र ल्याउनु र बयलगाडा चढेर बारिङटन पुग्नु एकै भएको भनी अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिपछि कतिपयले उनलाई गणतन्त्रविरोधीका रूपमा चित्रित गर्ने गरेका छन् ।

आन्दोलनको बलमा गणतन्त्र स्थापनापछि बनेको संविधान मासेर ओलीले प्रतिगमन चाहेको भन्दै विरोधमा आइतबार विपक्षी दलका कार्यकर्ताले बयलगाडासहित प्रदर्शन गरेका हुन् । यसक्रममा आइतबार बयलगाडाको र्‍याली निकालिएका छन् ।

विराटनगर बजारमा पनि बयलगाडाको जुलुस 
विराटनगरमा पनि प्रचण्ड–माधव समूहको अनेरास्ववियुले प्रतिगमनविरुद्ध बयलगाडा जुलुस निकालेको छ । उनीहरूले प्रतिनिधिसभा पुनस्र्थापनाको माग गरे । 

‘बयलगाडा चढेर जाऔँ है अमेरिका’ लेखिएको ब्यानरसहित विद्यार्थीले जुलुस निकालेर विराटनगर बजार परिक्रमा गरेका थिए । जुलुसपछिको कोणसभामा नेताहरूले प्रतिनिधिसभा पुनस्र्थापना गरी प्रतिगमन सच्याउन माग गरे । प्रधानमन्त्रीले सात दशक लामो संघर्षबाट प्राप्त गरेका उपलब्धि मास्न नियोजित रूपमा प्रतिनिधिसभा भंग गरेको आरोप लगाए । संसद् पुनस्र्थापना नभएसम्म आन्दोलन चर्काउने भन्दै उनीहरूले सडकबाट प्रतिनिधिसभा पुनस्र्थापना गर्नुअघि नै सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई गलत साबित गरिदिने विश्वास व्यक्त गरे ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.