३७ जनाको हत्या गर्ने सिरियल किलरको रहस्यमय सन्देश ५१ वर्षपछि अहिले डिकोड भयो - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 11 January 2021

३७ जनाको हत्या गर्ने सिरियल किलरको रहस्यमय सन्देश ५१ वर्षपछि अहिले डिकोड भयो


सुरुङ्गा, २६ पुस :
अमेरिकामा १९६० र १९७० को दशकमा आतंक फैलाउने एक सिरियल किलरको राशी र नक्षत्रका संकेतमा लेखिएको रहस्यमय सन्देश अहिले आएर डिकोड भएको छ । विशेषज्ञहरुले ५१ वर्षपछि त्यो रहस्यमय सन्देशमा के लेखिएको थियो भन्ने खुलासा गरेका छन् । ७० को दशकमा यी हत्यारा अमेरिकाको सन फ्रान्सिस्को क्षेत्रमा आतंकको अर्को नाम बनेका थिए । तर, पुलिसले यी हत्यारालाई कहिल्यै समात्न सकेन । उनले ३७ जनाको हत्या गरेका थिए ।

यी हत्याराले त्यतिबेला पुलिस र मिडियालाई पठाएका रहस्यमय सांकेतिक सन्देशलाई विशेषज्ञहरुले अहिले बल्ल डिकोड गर्न सफल भएको सीएनएनले जनाएको छ । यी हत्याराले ज्योतिष प्रतीकहरु र सन्दर्भहरुको प्रयोग गरेर पुलिस र मिडियालाई चुनौती दिन्थे ताकि आम मानिसहरुमा उनको आतंक कायमै रहोस् । यसरी आतंक फैलाएर देशकै चर्चित व्यक्ति बन्ने उनको चाहना थियो ।

आधा शताब्दी बितिसकेपछि अहिले ती हत्याराको पजललाई अमेरिकाका क्रिप्टोग्राफर डेभिड आरांचक, बेल्जियमका सफ्टवेयर इन्जिनियर जार्ल भान र अस्ट्रेलियाली सफ्टवेयर इन्जिनियर साम ब्लेकले सुल्झाएका छन् । अहिले पजल हल गरेपछि बल्ल ती हत्याराले त्यतिबेला पुलिस र मिडियालाई के भनेका थिए भन्ने थाहा भएको छ । उनले भनेका थिए ‘तिमीहरु मलाई पक्रिने कोसिसमा धेरै मजा लिइरहेका छौ । टिभी शोमा जुन हत्याराको बारेमा बताइँदैछ म त्यो होइन । म ग्यास च्याम्बरसँग डराउँदिन किनकि यसले मलाई तुरुन्त स्वर्ग पुर्याउनेछ ।’

एकपछि अर्को हत्या गरिरहेका यी व्यक्तिलाई पक्रन लाख कोसिस गरेपछि पुलिसले उनलाई कहिल्यै पक्रिन सकेन । यी हत्यारालाई समात्ने प्रयासमा पुलिसले कैयौं संदिग्धहरुलाई इन्काउन्टरमा मारेको पनि थियो । तर, वास्तविक हत्यारा सधैं पुलिसको पकडबाट टाढै रहे । यी सिरियल किलरको सन्देश डिकोड भएको अमेरिकाको संघीय जाँच ब्यूरो (एफबीआइ)को सन फ्रान्सिस्को कार्यालयले पनि पुष्टि गरेको छ । एफबीआइ सन फ्रान्सिस्कोका प्रवक्ता क्यामरन पोलनले केही निजी विशेषज्ञले यो पजल सुल्झाएको बताए । उनले यी क्रुर अपराधका पीडितको लागि न्याय दिलाउन एजेन्सीले यी केसहरु हेरिरहेको बताए ।

त्यतिबेला पुलिस हत्यारासम्म पुग्न नसकेपछि पुलिसले हत्यारा एक जना नभइ दुई जना भएको हुन सक्ने आशंका गरेको थियो । हत्यापछि जाँच एजेन्सीलाई अल्मल्याउनका लागि ती हत्याराले ज्योतिष भाषाको प्रयोग गरेर पुलिसलाई सन्देश पठाउँथे र सधैं पुलिसको खिल्ली उडाउँथे । पुलिसले कैयौं सन्दिग्धहरुलाई पक्राउ पनि गरेको थियो तर कुनै पनि सन्दिग्ध नै सिरियल किलर हो भन्ने प्रमाणित हुन सकेन । वास्तविक हत्याराले एक सन्देशमा पुलिस आफूलाई पक्राउ गर्न निकै नजिक पुगिसकेको तर लापरवाहीका कारण आफू जोगिएको दावी गरेका थिए ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.