अदालतले जे भन्यो त्यो मान्नुपर्छ : सभापति देउवा - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 9 January 2021

अदालतले जे भन्यो त्यो मान्नुपर्छ : सभापति देउवा


काठमाडाैँ, २५ पुस :
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जुलुसको आधारमा अदालतले निर्णय गर्नु नहुने बताउनुभएकाे छ । 

‘अदालतले जे निर्णय गर्छ, त्यो मान्नुपर्छ । अदालतलाई प्रभावित गर्नुहुँदैन । जुलुसको भरमा अदालतले निर्णय गर्नुहुँदैन । अदालतले विवेक पुर्‍याउने हो,’ देउवाले भन्नुभयाे, ‘संवैधानिक मूल्य र मान्यतालाई पालना गर्ने हो । यही गर, ऊ गर भन्न मिल्दैन । संसद् पुनर्स्थापना भएन भने चुनाव हुने अवस्था आउँछ । चुनाव गराउन दबाब दिनुपर्छ । चुनाव लड्नका लागि तयार हुनुपर्छ ।’ 

काठमाडौं क्षेत्र नं. ५ (ख) ले गरेको विरोधसभामा बोल्दै सभापति देउवाले सर्वाेच्च अदालतभन्दा पनि ठूलो अदालत जनता भएको भन्दै जनतामाझ जाने मौका पाए कांग्रेस जनतामा जान तयार हुनुपर्ने बताउनुभयाे । 

‘संविधानमा के लेखिएको छ, के भन्छ ? भन्ने कुरा अदालतले भन्ने कुरा हो । तर, हामीले ओलीको प्रतिनिधिसभा विघटनको कदम प्रजातन्त्रविरुद्धको कदम हो, संविधानविरुद्धको कदम हो भनेका छौँ,’ देउवाले भन्नुभयाे । उहाँले अदालतमा विचाराधीन मुद्दाकाे विषयमा बोल्न नहुने दोहोर्‍याउनुभयाे । 

सभापति देउवाले आफूलाई ओलीले चुनाव गराउँछन् भन्ने विश्वास रहेको बताउनुभयाे । 

‘मलाई विश्वास छ, ओलीले चुनाव गराउँछन्, गराएनन् भने सबै जनता मिलेर जनताले ओलीलाई नेपालमै बस्न नदिने अवस्था आउन सक्छ,’ उहाँले भन्नुभयाे । 

सभापति देउवाले कार्यकर्तालाई जनतामाझ जान निर्देशन दिनुभयाे । 

‘प्रधानमन्त्रीको पार्टी चुनावको प्रचारमा जाने, हामी बसिरहने कुरा हुँदैन,’ देउवाले भन्नुभयाे, ‘त्यसैले जनतामा जानुस् अहिले नभए कुनै न कुनै वेला चुनाव त हुन्छ नै । ५–६ महिनामा चुनाव हुन्छ, नभए पनि दुई वर्षपछाडि त चुनाव हुन्छ । कांग्रेस चुनावमा जाने पार्टी हो । त्यसकारण चुनाव त सधैँ हुन्छ भनेर तयार हुनुपर्छ ।’ 

देउवाले कांग्रेस अदालतको निर्णय मान्छ भनेर बोल्दै गर्दा नजिकैबाट कार्यकर्ताले प्रतिकार गरेका थिए । 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.