आयल निगमको खुद नाफा रु १२ अर्ब ९१ करोड ४८ लाख - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 13 January 2021

आयल निगमको खुद नाफा रु १२ अर्ब ९१ करोड ४८ लाख


काठमाडौं, २९ पुस :
नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७६/०७७ मा खुद नाफा रु १२ अर्ब ९१ करोड ४८ लाख गरेको जनाएको छ ।

निगम सञ्चालक समितिको ३९ औं वार्षिक साधारणसभामा निगम सञ्चालक समितिका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले उक्त प्रतिवेदन प्रस्तुत गर्नुभएको निगमले जनाएको छ ।

निगमले नाफा रकमबाट निगमका शेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत बराबरको नगद लाभांश रु दुई अर्ब २० करोड वितरण गर्न साधारणसभाले स्वीकृति प्रदान गरेको थियो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार आव २०७६-७७ को लेखापरीक्षणसमेतका वित्तीय विवरण पहिलो पटक नेपाल वित्त रिपोर्टिङ मापदण्ड (एनएफआरएस) अनुसार तयार पारिएको हो ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले साधारणसभामा निगमले गरिरहेका सुधारका विविध पक्षबारे जानकारी गराउँदै निगमलाई पूर्ण कप्युटरकृत स्वचालित विधिमा रुपान्तरण गरी देशकै नमूनायोग्य संस्थामा रुपान्तरण गर्न प्राप्त सहयोग र हौसलाप्रति सबैमा आभार व्यक्त गर्नुभएको थियो ।

निगम व्यवस्थापनले निगमको साधारणसभा सम्पन्न गर्न सहयोग पुर्‍याउने उद्योगमन्त्री लेखराज भट्ट र राज्यमन्त्री विमला विक, सचिव डा अर्याल, शेयरधनी प्रतिनिधि, सञ्चालक समितिका पदाधिकारी, लेखापरीक्षक, निगमका कर्मचारी एवं व्यवसायीलाई धन्यवादसमेत दिएको प्रवक्ता उपाध्यायले जानकारी दिनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.