तर्क वितर्क नगरौँ, चुनावमा जाऔँ : प्रधानमन्त्री ओली - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 10 January 2021

तर्क वितर्क नगरौँ, चुनावमा जाऔँ : प्रधानमन्त्री ओली


काठमाडौं, २६ पुस :
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र निर्वाचनका विषयमा अनेक तर्क वितर्कमा लाग्नुभन्दा चुनावको तयारीमा जुट्न सम्पूर्ण राजनीतिक दललाई आह्वान गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरुले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै उहाँले प्रतिनिधिसभा विघटनको सिफारिस गरिरहँदासम्म आफूमा बहुमत प्राप्त दलको संसदीय दलमा सर्वसम्मत नेताका हैसियत रहेकाले सो कदमप्रति अलमल र भ्रममा नपर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एउटै पार्टीको बहुमतको सरकार भएकाले संविधानको धारा ७६ को उपधारा १ अनुरुप नै मेरो नेतृत्वमा सरकार गठन भएको हो, त्यसमा कसैलाई अलमल नहोस् ।’’

सरकारको सिफारिसमा कार्यसम्पादन गर्ने गरी सक्रिय नभई आलङ्कारिक राष्ट्रपतिको संवैधानिक व्यवस्था रहेको स्मरण गराउँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘‘राष्ट्रपतिको गरिमाप्रति पुरातन सोच भएका र मुलुकलाई पछाडि फर्काउन चाहने तत्वले सङ्कीर्ण दलीय स्वार्थबाट प्रेरित भई हिलो छयाप्न खोजेका छन् ।’’

प्रधानमन्त्री ओलीसँग सदस्यहरु जीतेन्द्रनारायण देव, प्रमिला कुमारी, रमेशजङ्ग रायमाझी, प्रकाश पन्थ र अनिता देवकोटाले राष्ट्रियसभाको आजदेखि गरिन लागेको अधिवेशन अन्त्य, प्रतिनिधिसभा विघटन र निर्वाचनमा जाने कदमप्रति असहमति जनाउँदै के कति कारणबाट यस्ता निर्णय गरियो भनी प्रश्न राख्नुभएको थियो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.