संसद् विघटन गर्नु संविधानकाे चीरहरण : कांग्रेस - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 20 December 2020

संसद् विघटन गर्नु संविधानकाे चीरहरण : कांग्रेस


काठमाडाैँ, ५ पुस :
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानको चीरहरण गरेको निष्कर्ष निकालेको छ ।

आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक कदम चालेर संसद् विघटन गरेको भन्दै भर्त्सना गरेको हो । बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन गरेर देशलाई अस्थिरतातिर लैजाने र लोकतन्त्रमाथि सङ्कट निम्त्याउने काम भएकोले सडकबाट सामना गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले देशको संविधानको चीरहरण गर्दै अहिले संसद् विघटन गर्नुभयो, यो कुनै पनि हालतमा वैधानिक छैन । नेपालको संविधानलाई चीरहरण गरिएको छ । आलोकतान्त्रिक कदम प्रधानमन्त्रीले चाल्नुभएको छ र यसको नेपाली कांग्रेसले घोर भर्त्सना गर्दछ । यसले राष्ट्रलाई अस्थिरतातिर लैजाने लोकतन्त्रलाई सङ्कटतिर लैजाने छ । यो अत्यन्त निन्दनीय काम भयो, हामी यसको समाना गर्छाैँ ।’

यस्तै नेता रमेश लेखकले संसद् विघटन गरिएकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । बैठकले सरकारको अधिनायकवादी, सर्वसत्तावादी र निरङ्कुश चरित्रबाट उत्पन्न निन्दनीय कार्य भएको ठहर गरेको पनि नेता लेखकले बताउनुभयो ।

उहाँले भनुभयो, ‘हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भयो । हामीले यो कदम लोकतान्त्रिक मूल्य र मान्यताका प्रतिकूल, संवैधानिक व्यवस्थाका खिलाप नेपाल कम्युनिस्ट पार्टीको सरकारको अधिनायकवादी, सर्वसत्तावादी र निरङ्कुश चरित्रबाट उत्पन्न निन्दनीय कार्य हो भन्ने हाम्रो बैठकले ठहर गरेको छ ।’ 

आउँदा दिनमा पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा संसदमा रहेका अन्य राजनीतिक दलसँग सल्लाह गरी अगाडि बढ्ने निर्णय गरेको पनि नेता लेखकले बताउनुभयो ।


No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.