भिजिट भिसाका नाममा महिला तस्करी - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 2 December 2020

भिजिट भिसाका नाममा महिला तस्करी


काठमाडौं, १७ मङ्सिर :
नेपालबाट ठुलो संख्यामा भिजिट भिसा नेपालीहरु युएई गइरहेको पाइएको छ । कोरोना महामारीबीच विभिन्न व्यक्ति तथा म्यानपावर कम्पनीहरुले रोजगारीको प्रलोभन देखाएर युएई भिजिट भिसामा नेपाली पठाइरहेका छन् । 

नेपालबाट करिब दैनिक २ सय जनालाई युएई भिजिट भिसा विभिन्न व्यक्ति र म्यानपावरका एजेन्टले पठाउने गरेको पाइएको छ । जसमा १ सय ५० जना महिलाहरु नै भिजिट भिसामा युएई गइरहेका छन् । 

मानव तस्करले भिजिट भिसामा अधिकांश महिलाहरुलाई नै पठाइरहेका छन् । उनीहरुलाई नेपालबाट भिजिट भिसामा पठाएर युएईमा घरेलु काममा लगाइने गरेको पाइएको छ । 

सरकारले भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाएपनि मानव तस्करले सेटिङ मिलाएर नेपाली कामदार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहुँजसो पठाइरहेका छन् ।

तस्करले अध्यागमन विभागका कर्मचारी, प्रहरी र एयरलाइन्सका कर्मचारीलाई आर्थिक प्रलोभन (सेटिङ)मा पारी भिजिट भिसा भएकालाई उतै काम गर्ने गरी खाडी मुलुक पठाउने गरेका हुन् । अध्यागमन विभागले भिजिट भिसाका लागि सेटिङ मिलाउन सहयोग गरेको आशंकामा १५ जना कर्मचारी समेत सरुवा गरेको थियो । 

भिजिट भिसाको सवै प्रक्रिया पुराएका आएका व्यक्तिलाई रोक्न नमिल्ने अध्यागमन विभागका सूचना अधिकारी रामचन्द्र अधिकारीले जानकारी दिनुभएकाे छ। 

अध्यागमन विभागले शंका लागेका व्यक्तिलाई सोधीखोजी गरेर अनुसन्धानका लागि फकाउने गरेको छ । सबै प्रमाण पुर्‍याएर आएका व्यक्तिलाई रोक्न समस्या हुने उहाँको भनाइ छ ।

भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी नियन्त्रण गर्ने सम्बन्धीत मन्त्रालयले चासो देखाएको पाईदैन् । यो विषयमा सम्बन्धीत निकाय जानकार भएपनि भिजिट भिसाका नाममा मानव तस्करीमा संलग्न व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन सकेको छैन । जसका कारण रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा नेपाली विभिन्न देश पुर्‍याउने क्रम बढ्दो छ ।

तस्करले सेटिङ गरी भिजिट भिसामा दुबई, मलेसिया, कतार, साउदी अरेबिया, कुवेतलगायत मुलुकमा कामदार पठाइरहेका छन् । यसरी खाडी मुलुक र मलेसिया पुग्ने नेपाली युवायुवती उतै बस्ने गरेका छन् । भिजिट भिसामा गएका कतिपय अलपत्र र समस्यामा पर्ने गरेका छन् । 

प्राय एयर अरेयिबाको उडानमार्फत 
एयर अरेबिया र अध्यागमनका कर्मचारीले भ्रमणको उद्देश्य नखुले पनि भिजिट भिसा भएकाहरूलाई बोर्डिङ पास र प्रस्थान अनुमति (डिपार्चर) दिदै आएको छ । यसरी भिजिट भिसामा जाने कामदारलाई सेटिङमा राती २ बजेको एयर अरेबियाको उडानमार्फत पठाउने गरेका छन् । 

भिजिट भिसामा युएई जाने व्यक्तिसँग टिकटसहित सेटिङका लागि प्रतिव्यक्ति २ लाख रुपैयाँ दलालले लिने गरेको भिजिट भिसामा जाने महिलाहरुले बताउँदै आएका छन् । नेपालमा भिजिट भिसामा जाने प्राय सबै राति २ बजेको एयर अरेबियाको उडानमार्फत जाने गरेको अध्यागमनका एक कर्मचारीले जानकारी दिएका छन् । राती जाँदा प्राय चेकिङ कम हुन्छ । त्यही भएर भिजिट भिसा जाने व्यक्तिहरुलाई यहि समय उपयुक्त हुने गरेको उनको भनाइ छ । 

युएई हुँदै अन्य देश 
अघिल्लो साता युएई भिजिट भिसामा पुगेका ५ जना महिला हाल त्यहाँको अजनमी प्रान्तमा बसेका छन् । उनीहरु नेपालबाट रोजगारीका लागि भिजिट भिसामा युएई पुगेको जानकारी दिए । 

नेपालबाट एजेन्टले रोजगारीका लागि भनेर भिजिट भिसा युएई ल्याएको त्यहाँबाट विराटनगरकी सरिता राई (नाम परिवर्तन)ले बताइन । 

‘भिजिट भिसामा आएको करिब २ हजार महिला अजमनी प्रान्तमा छन् । भिजिट भिसामा आएका महिलाहरुलाई घरेलु काम लगाइदै छ । हामी अहिले ४० जना जति एउटा घरमा बसेका छौ ।’ उनले भनिन, ‘भिजिट भिसामा आएका महिलाहरुलाई युएई हुदै अन्य देश पनि लगिदै छ । यहाँ आएपछि कुन देश जाने हो भनेर एजेन्टले सोध्दा रहेछन् । हामी चाँही युएईमै बसेर काम गर्ने भनेका छौ ।’ भिजिट भिसामा आउने प्राय सबैले एजेन्टलाई २ लाख २० हजार बुझाइको उनको भनाइ छ । 

प्रलोभन परी भिजिट भिसा नजान्न विभागको आग्रह
कोरोना भाइरसका कारण बन्द भएको अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनमा आएपछि म्यानपावरका एजेन्ट र व्यक्तिले युएई भिजिट भिसामा कामदार पठाइरहेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । 

यूएई लगायतका विभिन्न देशमा राम्रो काम र सेवासुविधाको प्रलोभनमा भिजिट भिसामा पठाएका श्रमिकहरु ठगीमा पर्ने क्रम सुरु भएको भन्दै प्रलोभनमा परी भिजिट भिसामा वैदेशिक रोजगारीमा नजान विभागका सूचना जानकारी गराएको विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिनुभयाे । 

भिजिट भिसामा विदेश काम गर्दा कुनै मानसिक र शारीरिक हिंसा भएमा वा कुनै कानूनी अप्ठेरो परेमा व्यक्ति स्वयम नै जिम्मेवार हुनपर्छ । विभागले पटक पटक रोजगारीका लागि भिजिट भिसामा कुनै पनि व्यक्तिको प्रलोभनमा परेर नजान आग्रह गरिरहेको उनको भनाइ छ ।

यूएई भिजिट भिसामा नजान विभागले सूचनामार्फत सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.