११ हजार रुपैयाँमा आफ्नै सन्तान बेच्न विवश छन् केन्याका केही आमा - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 26 December 2020

११ हजार रुपैयाँमा आफ्नै सन्तान बेच्न विवश छन् केन्याका केही आमा


बीबीसी अफ्रिका आईले केन्याको राजधानी नाइरोबीमा हुने बच्चा बेचबिखनको कालोबजारबारे हालै एउटा समाचार प्रकाशित गर्‍यो।

उक्त समाचार छापिएपछि बेचबिखनको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

तर यस्ता गैरकानुनी काममा संलग्न अर्को पक्षमा रहेका महिलाहरूको धारणा के छ? आफ्नो बच्चा ७० पाउन्डमा बेच्न एउटी आमालाई के कुराले बाध्य पार्‍यो?

आमाबुवा हुँदा आफ्नो जीवन सहज भएको अदामा बताउँछिन् । पैसा हुँदैनथ्यो, उनका लागि विकल्पहरू त्यतिबेला नै सीमित थिए।

उनी विद्यालय गइन् र रमाइलो मानिन्। उनका बुवा उनी १२ वर्ष हुँदा बिते र त्यसकै केही वर्षमा आमा पनि बितिन्।

"त्यसपछि जीवन निकै कठिन भयो," पश्चिम केन्याको ग्रामीण भेगमा रहेको उनको गाउँमा कुरा गर्दै उनले भनिन्। "म विद्यालयबाट बाहिरिनुपर्‍यो र आफ्ना लागि आफैँले केही गर्नुपर्ने भयो।"

बाइस वर्षकी हुँदा अदामाको एकजना पुरुषसँग भेट भयो। उनी गर्भवती भइन्। तर उनीहरूको छोरी जन्मिएको तीन दिनपछि ती व्यक्तिको मृत्यु भयो। उनको एक्लोपन अझ बढ्यो। बिरामी भइरहने शिशुलाई उनले जेनतेन १८ महिनाकी बनाइन्। त्यसपछि बाँच्नका लागि उनलाई तत्काल पैसा चाहिने भयो। उनले सानी छोरीलाई वृद्ध हजुरआमासँग छोडेर काम खोज्नका लागि नाइरोबी गइन्।

"तैँले तेरो बच्चाको लागि एउटा जीवन दिन गइरहेको कुरा नबिर्सेस्," उनकी हजुरआमाले भनिन्।

अदामा नाइरोबी आइपुगिन् र त्यहाँका गल्लीहरूमा खरबुजा बेच्न थालिन्। तर त्यसबाट त्यति कमाइ हुँदैनथ्यो र जति कमाइ भएको थियो त्यो पनि उनी घरमा नभएको बेला उनीसँगै एउटै घरमा बस्नेले चोरिदिइन्। सहरमा पनि जीवन सहज थिएन। केशभन्दा तल निधारको माथिपट्टि उनको एउटा खत छ। आफ्नो बचाउ गर्दा उनलाई त्यस्तो भएको हो।

"केही पुरुषहरू मसँग जिस्किरहेका थिए र एउटा यस्तो समय आयो मैले उनीहरूसँग लड्नैपर्‍यो," उनले भनिन्।

त्यसपछि उनी निर्माण कार्य भइरहेको ठाउँमा काम गर्न गइन्, जहाँ उनलाई पैसा दिइएन र त्यसपछि उनी नाइटक्लबमा काम गर्न गइन्। त्यहाँका हाकिमलाई उनले काम गरेबापतको पैसा गाउँमा रहेकी हजुरआमालाई सीधै पठाइदिन भनिन्।

त्यसको केही समयपछि डेरा गरेर बस्न सकियोस् भनेर उनले अलि धेरै तलब आउने नयाँ काम खोजिन्। निर्माणकार्य हुने त्यो ठाउँमा भने अलि राम्रो पैसा आउँथ्यो र त्यहाँ उनले एकजना मानिस भेटिन्। उनीहरू एकअर्कासँग भेट गर्न थाले र ती पुरुषले आफूलाई बच्चा चाहिएको बताए।

अदामाले पनि एउटा प्रस्ताव गरिन् - यदि उनकी छोरीलाई सँगै राख्ने भए बच्चा जन्माउन सकिन्छ। ती पुरुषले सहमति जनाए र गर्भवती भएको पाँच महिनासम्म डेराको भाडा र खानेकुराको पैसा तिरिदिए। अदामा भने आफ्नी छोरी सहरमा कहिले आइपुग्लिन् भनेर कुरिरहेकी थिइन्। तर एकदिन ती पुरुषले उनलाई छोडेर गए र कहिल्यै आएनन्।

आफैँलाई पाल्न पर्याप्त पैसा नभएका थुप्रै महिलाहरू गर्भवती भएर बच्चा जन्मिएपछि आफू एक्लैले दुई जना हेर्नुपर्ने अवस्थाले कति तनाव हुन्छ भन्नेबारे जानकार छन्।

कुनै अपरिचितलाई आफ्नो बच्चा बेच्नेबारे धेरैले सोच्न पनि सक्दैनन्। तर केन्यामा गरिबीमा रहेका केही त्यस्ता आमाहरू छन् जसका लागि बाँच्ने सीमित विकल्पमध्येको अन्तिम भनेको आफ्नो बच्चा तस्करलाई बेच्नु हो।

तस्करहरूले अचम्म लाग्नेगरी निकै कम पैसा दिन्छन्। आफ्नो दोस्रो सन्तान पेटमा आउँदा सारा जम्मा १७ वर्षकी थिइन् र उनका अनुसार बच्चालाई हुर्काउनका लागि उनीसँग कुनै स्रोत थिएन।

उनले आफ्नो सन्तान एकजना महिलालाई बेचिन् जसले उनलाई करिब २० पाउन्ड दिने प्रस्ताव राखिन्।

"त्यो बेला म सानै थिएँ, मैले जे गरेँ त्यो गलत हो भनेर मलाई कहिल्यै लागेन," उनले भनिन्। "पाँच वर्षपछि भने मलाई त्यो कुराले दुःख लाग्यो र मैले त्यो पैसा फिर्ता गर्न चाहेँ।"

उनले त्यति नै पैसामा अरू महिलाले पनि बालबालिका बेचेको आफूलाई थाहा भएको बताइन्।

"चुनौतीका कारण थुप्रै किशोरीहरूले बच्चा बेच्छन्। विद्यालयमै भएको बेला किशोरीहरू गर्भवती हुन्छन् र सायद घरमा गर्भवती भएको कुरालाई लिएर आमाहरूले कचकच गरिरहन्छन्। अनि १५/१६ वर्षका किशोरीका लागि त्यो ठूलो समस्या हो।"

अफ्रिकी देशमध्ये किशोरावस्थामै गर्भवती हुने देशमा केन्या पनि एक हो। स्वास्थ्यविज्ञहरूका अनुसार कोरोनाभाइरसको महामारीका बेला यो समस्या झन् बढेको छ र केही महिलाहरू यौन क्रियाकलापमै धकेलिएका छन् र केही विद्यालयले छोडेका छन्।

"यस्तो अवस्थामा रहेका थुप्रै महिला र किशोरीहरूका कथा मैले सुनेकी छु। भर्खरका युवतीहरू जागिरको खोजीमा सहर आउँछन् सम्बन्धमा रहन्छन् र गर्भवती हुन्छन्। अनि उनीहरूलाई पुरुषले छोडेर भाग्छ," केन्याकी मानवअधिकारको क्षेत्रमा कार्यरत वकिल प्रुडेन्स मुटिसोले भनिन्।

"बुवाले नहेर्ने भएपछि यी महिला र युवतीहरूले पैसा कमाउने बाटो खोज्छन्। र, यही अवस्थाले उनीहरूलाई बच्चा बेचबिखन गर्ने तस्करहरूसम्म पुर्‍याउँछ। मानिसहरूले यसबारे खुलेर भन्दैनन् तर यही नै भइरहेको छ।"

अदामाले निर्माण क्षेत्रमा काम गर्दा आफूले सिमेन्टका गह्रुङ्गो भारी बोक्न सक्दासम्म गर्भवती भएको कुरा लुकाइन्। तर पछि उनले भाडा तिर्नै सकिनन्। तीन महिनासम्म त घरपतिले केही भनेनन् तर त्यसपछि चाहिँ निकालिदिए।

"भाग्यले कहिले खानेकुरा पाउँथेँ," उनले भनिन्, "कहिलेकाहीँ पानी मात्रै पिउँथेँ, प्रार्थना गर्थेँ र सुत्थेँ।"

अदामाको जस्तै अवस्थामा जब महिलाहरू पुग्छन् तब थुप्रै कारणले उनीहरूलाई तस्करहरूसम्म पुर्‍याउँछ।

आमा र बच्चाको स्वास्थ्यमा खतरा नहुँदासम्म गर्भपतन गर्नु गैरकानुनी हो। खासगरी ग्रामीण भेगमा यौन र प्रजनन स्वास्थ्यबारे किशोरीहरूलाई जानकारी नै छैन र बच्चा लिने कानुनी प्रक्रियाबारे पनि जनचेतनाको अभाव छ।

"अनिच्छित गर्भधारण हुने महिला र किशोरीलाई सरकारका तर्फबाट कुनै सहायता छैन," केन्याको परोपकारी संस्था हेल्थ पोभर्टी एक्शनका आयोजक इब्राहिम अलीले भने।

बच्चा पाल्नका लागि ग्रहण गर्ने कानुनी प्रक्रिया हुन्छ र उनले सुरक्षित रूपमा कसैलाई आफ्नो बच्चा दिने विकल्प हुन्छ भन्नेबारे अदामालाई थाहा थिएन। "मलाई यसबारे थाहा नै थिएन," उनले भनिन्। "मैले कहिल्यै सुनेकै थिइनँ।"

उनले कतै गल्लीमा गर्भपतन गर्नेबारे पनि सोचेको तर आफ्नो विश्वाससँग मेल नखाएपछि बरु आफ्नै ज्यान लिन्छु भन्ने सोचेको बताइन्।

"म एकदमै तनावमा थिएँ। अरू मानिसले मलाई बिर्सिउन् भनेर आत्महत्या गर्नेबारे सोच्न थालेकी थिएँ।"

तर बच्चा जन्मिनु केही साताअघि अदामालाई कसैले एकजना राम्रो पहिरनमा रहेकी म्यारी अवुमा नाम गरेकी महिलासँग चिनाइदियो। ती महिलाले उनलाई गर्भपतन गर्ने वा आत्महत्या गर्ने विषयमा सोच्दै नसोच्न भनिन्।

म्यारी अउमाले नैरोबीको झुपडीबस्ती कयोलीमा गैरकानुनी एउटा क्लिनिक चलाउँछिन्। उनले अदामालाई केन्याको मुद्रा १०० दिइन् र अर्को दिन आफ्नो क्लिनिकमा आउन भनिन्।

म्यारी अउमाको अस्थायी क्लिनिक खासमा क्लिनिक होइन। दुईकोठे उक्त ठाउँमा बाहिरपट्टि खाली तखताहरू छन् जहाँ केही पुराना औषधि छरिएका छन्। त्यहाँ भित्रका कोठामा चाहिँ बच्चा जन्माउने गरिन्छ।

आफ्ना सहयोगीका साथमा अउमा त्यहीँ बस्छिन् र कसले केका लागि बच्चा किनिरहेको छ भन्ने झन्झटतिर नलागीकन आफ्नो फाइदाका लागि बच्चा किन्ने र बेच्ने गरिरहेकी छन्।

उनले अदामालाई सन्तान नभएको एउटा जोडीले उनको बच्चा किनेको बताएकी थिइन्। तर यथार्थमा चाहिँ राम्रो पैसा दिने जो कसैलाई म्यारी अउमाले बच्चा बेचिदिन्छिन्। बच्चा जन्माउने बेला भएका आमाहरूलाई अउमा आफू पहिला नर्स भएको पनि बताउँछिन्। तर उनीसँग बच्चा जन्माउँदा चाहिने स्वास्थ्य सामग्री, दक्षता र सफा सुग्घरका केही पनि सामान छैन।

अदामा क्लिनिकमा पुगेपछि म्यारी अउमाले उनलाई बेथा लाग्ने दुईवटा चक्की खान दिइन्। त्यतिबेला अउमाको क्लिनिकमा बच्चा किन्ने मानिसहरू पालो कुरिरहेका थिए र उनी बेच्न आतुर थिइन्। तर जब अदामाले छोरा जन्माइन् उसमा छातीको समस्या देखियो र तत्कालै उपचार गर्नुपर्ने भयो। अउमाले अदामालाई नवजात शिशुलाई अस्पताल लैजान भनिन्।

एक साता अस्पतालमा राखेपछि बच्चालाई निको भयो। पहिला घरबाट निकाल्ने घरपतिले उनलाई फेरि बस्न दिने भए र उनले बच्चाको हेरचाह गरिन्। त्यसकै केही समयपछि उनले फेरि मेरी अउमालाई बजारमा भेटिन् र तिनले अर्को १०० शिलिङ दिइन् र अर्को दिन क्लिनिकमा आउन भनिन्।

"नयाँ बच्चा जन्मिएको छ," अउमाले आफ्ना ग्राहकलाई सन्देश पठाइन्। "४५,०००।"

म्यारी अउमाले ४५ हजार शिलिङ अर्थात् झन्डै ३०० पाउन्डकोक कुरा गरेकी थिइन्। तर अदामाले केवल १०,००० शिलिङ (करिब ७० पाउन्ड) पाइन्।

तर म्यारी अउमालाई बच्चा किन्न लाइनमा रहेको मानिस एक वर्षदेखि बच्चाको बेचबिखनबारे खोज पत्रकारिता गरिरहेको बीबीसीको गुप्त पत्रकार हो भन्ने थाहा थिएन।

अर्को दिन उक्त अस्थायी क्लिनिकमा अदामा आफ्नो छोरालाई काखमा खेलाइरहेकी थिइन्। उनको छोरा किन्ने भनिएका व्यक्तिले खासखुस गरेर अदामालाई उनीसँग अर्को विकल्प पनि भएको बताए। अदामाले आफ्नो मन परिवर्तन गरिन्।

छोरा लिएर उनी क्लिनिकबाट बाहिरिइन् र सरकारद्वारा सञ्चालित बालगृहमा गइन्। कसैले उनको छोरालाई कानुनी रूपमा पाल्ने व्यवस्था नहुँदासम्म बच्चा उक्त बालगृहकै रेखदेखमा रहनेछ।

यो समाचारमा लगाइएको आरोपबारे प्रतिक्रिया जनाउन म्यारी अउमालाई बीबीसीले आग्रह गरे पनि उनले अस्वीकार गरिन्।

अदामा २९ वर्षकी भइन् र अहिले आफू हुर्केकै गाउँमा बसिरहेकी छन्। उनी अझै पनि कहिलेकाहीँ भोको पेट नै सुत्छिन्। जीवन कष्टपूर्ण छ। नजिकैको एउटा सानो होटलमा कहिलेकाहीँ काम गर्छिन् तर त्यसले पुग्दैन।

नाइरोबीबाट जुत्ता ल्याएर गाउँमा जुत्ता पसल खोल्ने उनको सपना छ तर यो उनको एउटा सुदूर सपना हो। उनको छोरासँग कुनै सम्पर्क छैन तर उनलाई कुनै पछुतो पनि छैन।

"मेरो बच्चा बेच्न लाग्दा म खुसी थिइनँ, मलाई त्यो पैसा समात्न पनि मन थिएन," उनले भनिन्। "पैसाको कारोबार नहुने भएपछि उसलाई दिँदा म ठिकै थिएँ।"

उनलाई आफूले छोरा छोडेको बालगृह वरपरको क्षेत्र थाहा छ। त्यो त्यही ठाउँनजिक हो जहाँ उसलाई जन्म दिन उनी लगभग तयार थिइन्। "मलाई थाहा छ त्यो ठाउँ सुरक्षित छ," उनले भनिन्, "र उसको हेरचाह गर्ने मानिस पनि राम्रा छन्।" (बीबीसीबाट)

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.