संसद पुनःस्थापनाको कुरै नगरौं–देउवा - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 25 December 2020

संसद पुनःस्थापनाको कुरै नगरौं–देउवा


काठमाडौं, १० पुस :
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनःस्थापनाको एजेण्डा पार्टीले नबोक्ने स्पष्ट पार्नुभएकाे छ । नेपाली कांग्रेसकाे केन्द्रीय समितिको शुक्रबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेपछि आन्दोलनको एजेण्डा संसद पुनःस्थापना हुनुपर्ने बताउनुभएकाे थियाे  ।

पौडेललाई जवाफ दिने क्रममा देउवाले संसद पुनःस्थापना एजेण्डा बन्न नसक्ने बताउनुभएकाे हाे । ‘संसदको विषय अदालतमा छ । अहिले त्यसबारेमा कुरै हुँदैन’, देउवाले भन्नुभयाे ।

कांग्रेसले पुस १३ गते सरकारको कदमको विरुद्धमा देशव्यापी प्रदर्शन गर्दैछ । प्रदर्शनको तयारी र मेलमिलाप दिवस मनाउन कांग्रेसले पुस १९ गतेसम्म केन्द्रीय समितिको बैठक स्थगित समेत गरेको छ ।

बैठक सकिनुअघि केही बोल्नुछ भन्दै पौडेलले समय माग्नुभएकाे थियाे । सभापतिले समय उपलब्ध गराएपछि पौडेलले आन्दोलनको एजेण्डाबारे पार्टी प्रष्ट हुनुपर्ने बताउनुभयाे ।
‘आन्दोलनमा जाँदा पार्टीको बटमलाइन पनि त भन्नुपर्‍यो । संसद विघटन अवैधानिक हो भने पुनःस्थापना गर् भन्नु त पर्‍यो । झारा टार्ने गरी आन्दोलन तुहाउन खोजियो’, पौडेलले भन्नुभयाे । पौडेलको भनाइलाई कटाक्ष गर्ने क्रममा देउवाले अदालतमा विचाराधीन विषयमा सडकमा जान नसकिने बताउनुभयाे  ।

बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्य रमेश लेखकले संसद पुनःस्थापनाको विषय अदालतमा विचाराधीन रहेकोले त्यसबारे धेरै छलफल र आन्दोलन गर्न नहुने बताउनुभएकाे थियाे । लेखकले त्यसो भन्नासाथ वरिष्ठ नेता पौडेलले ‘नियमापत्ति’ गर्नुभयाे । पौडेलले संविधान मिचिएको र लोकतन्त्र मासिएको विषयमा बोल्न मिल्दैन भन्नु गलत भएको बताउनुभयाे । 

यसैबीच कांग्रेस केन्द्रीय समितिको बैठकले सञ्चारमाध्यममा आएजस्तो पार्टीभित्रको छलफल अमर्यादित नभएको स्पष्टीकरण दिएको छ । बिहीबारको बैठकमा सभापति देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंह तथा बुधबारको बैठकमा शंकर भण्डारी र गुरुराज घिमिरेबीच चर्काचर्की परेको थियो । तर सञ्चारमाध्यममा आएजस्तो ‘समस्या’ पार्टीभित्र नभएको दाबी गरिएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.