सरकारको असंवैधानिक कदमका विरुद्ध कांग्रेसले देशभर राजनीतिक रूपमै प्रतिकार गर्छ : नेता सिंह - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 24 December 2020

सरकारको असंवैधानिक कदमका विरुद्ध कांग्रेसले देशभर राजनीतिक रूपमै प्रतिकार गर्छ : नेता सिंह


काठमाडाैँ, ९ पुस :
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमलाई अदालतले खारेज गर्ने विश्वास व्यक्त गर्नुभएकाे छ ।बिहीबार आफ्नै निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता सिंहले सरकारको असंवैधानिक कदमका विरुद्ध विरोध र संघर्षका कार्यक्रम थाल्ने बताउनुभयाे । 

‘प्रधानमन्त्रीले आफ्नो पद जोगाउन विधि, पद्धति मिच्ने, संविधानविपरीत कार्य गर्ने कुरा राम्रो हाेइन, पार्टीको कुरा पार्टीभित्रै मिलाउने हो । ओजीजीले पार्टीको रिसलाई लिएर संविधान र व्यवस्थामाथि प्रश्नचिह्न खडा हुने कदम चाल्नुभएको छ,’ नेता सिंहले भन्नुभयाे, ‘यसको विरुद्ध कांग्रेसले देशभर राजनीतिक रूपमै प्रतिकार गर्छ, गर्नुपर्छ ।’ 

 प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी रहेको उहाँको ठहर छ । 

उहाँले भन्नुभयाे,‘म आफैँ संविधान सभाको सदस्य हुँ, हामीले विगतमा देखिएको अस्थिरताको अन्त्यकै लागि संविधानमै प्रस्ट रूपमा कस्तो अवस्थामा मात्रै संसद् विघटन गर्न पाउने भन्ने प्रस्ट व्यवस्था गरेका छौँ, लोकतन्त्रमा संविधानको भावना र मर्मविपरीत कोही पनि अघि बढ्द सक्दैन।’ 

‘संविधानको व्याख्या स्वतन्त्र न्यायालयले नै गर्ने हो, अब अदालतले नै त्यसको उपयुक्त व्याख्या गर्छ, अदालतले नै ‘दूध को दूध, पानीको पानी’ पनि छुट्याउनुपर्छ,’ नेता सिंहले भन्नुभयाे, ‘हामी लोकतन्त्र र संविधानमाथि विश्वास गर्छौँ, त्यसैले अदालतसँग विश्वास छ, अदालतले ओलीको अवैधानिक कदमलाई खारेज गर्छ भन्ने मलाई लाग्छ ।’

जारी केन्द्रीय समितिको बैठकमा विरोध कार्यक्रम गर्ने कि नगर्ने भन्ने विवाद भइरहेका वेला नेता सिंहले कांग्रेसले संविधान, लोकतन्त्र र जनताको अधिकार रक्षाका लागि सडक संघर्ष गर्नुपर्ने मत राख्नुभएकाे छ । 

‘प्रधानमन्त्रीको यो कदम अवैधानिक हो भन्ने कुरा दुनियाँले देखेको छ, कांग्रेस कसरी चुप लाग्न मिल्छ ? नेकपा सरकारको अक्षमता र गैरसंवैधानिक कदमलाई जनतासम्म पुऱ्याउनुपर्छ, त्यो कदम सच्याउनका लागि आन्दोलन गर्नुपर्छ,’ उहाँले भन्नुभयाे। 

नेता सिंहले अहिलेको संघीय गणतन्त्रात्मक लोकतान्त्रिक राज्य व्यवस्थामा व्यवस्थापिका संसद् सबैभन्दा माथि हुने बताउनुभयाे ।

‘जनताको प्रतिनिधित्व हुने सर्वोच्च निकाय संसद् हो, त्यसलाई मास्ने अधिकार कसैलाई छैन, ओलीजी उहाँको पार्टीको झन्डै दुईतिहाइ मतसहितको प्रधानमन्त्री हो, तर संसद् नै मास्ने अधिकार त उहाँलाई छैन,’ नेता सिंहले भन्नुभयाे । 

नेता सिंहले संसद् ब्युँतिएको अवस्थामा कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाएर देशलाई अघि बढाउन तयार हुनुपर्ने धारणा राख्नुभयाे ।

‘जनताले हामीलाई पाँच वर्षसम्म प्रतिपक्षीको भूमिका दिएका हुन्, तर सत्ताको जिम्मेवारी पाएको नेकपाले जनताको म्यान्डेट गुमाएको अवस्था छ, यस्तो वेला प्रतिपक्षी टुलुटुलु हेरेर बस्न पनि मिल्दैन,’ उहाँले भन्नुभयाे, ‘त्यसवेला कांग्रेसले आफ्ना एजेन्डाअनुसार देशलाई संकटबाट जोगाउन तयार हुनुपर्छ ।’ 

पार्टीभित्र ओली वा प्रचण्ड कोसँग गठबन्धन गर्ने भन्ने विषयमा बहस भएकोप्रति नेता सिंहको विमति छ । 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.