काठमाडाैँ, ६ पुस : प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल प्रचण्डले आफूलाई कारबाही गर्ने विषय आफैँमा हाँस्यास्पद विषय भएको बताउनुभएकाे छ ।
विघटित संसद्का आफूनिकटका सांसदहरूको बालुवाटारमा आयोजित भेलामा उहाँले पार्टी एकताअघि हैसियत नै नभएका र आफैँले बढी हैसियत दिएर ल्याएका नेता प्रचण्डले आफूलाई कारबाही गर्ने विषय हास्यास्पद भएको बताउनुभएकाे हाे ।
भेलामा सहभागी नेकपाका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले भेलामा ओलीले भनेका विषय उद्धृत गर्दै भन्नुभयाे, ‘पार्टी एकता प्रक्रिया चित्त बुझाउन प्रचण्डलाई अध्यक्ष दिइयो नत्र उहाँको हैसियत जनमतका हिसाबले उपाध्यक्ष नै हो । त्यसैले उपाध्यक्षले आयोजना गरेको बैठकको कुनै वैधानिक हैसियत हुँदैन । सभामुखले डाकेको संसदीय दलको बैठक पनि हैसियत हुँदैन । संसद् विघटित भइसकेपछि संसदीय दलको बैठक राख्न पाइँदैन । डाके पनि संसदीय दलको नेताले बैठक राख्ने हो ।’
प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै नेता बस्नेतले थप भन्नुभयाे, ‘आज नेपालको कम्युनिस्ट आन्दोलनमा प्रचण्डले केपी ओलीलाई कारबाही गर्ने विषय विश्वराजनीतिको रंगमञ्चमा गजबको प्रहर्शन भएको छ । नेपालको राजनीतिमा चासो राख्ने विश्वका मान्छेहरू यसलाई हेरेर हाँसेर बसेका छन् ।’
प्रधानमन्त्री ओलीले आफूले छिट्टै पार्टी कमिटीको बैठक राखेर आवश्यक कदम चाल्ने बताएको नेता बस्नेतले जानकारी दिनुभयाे ।
प्रधानमन्त्रीले भेलामा भनेको उद्धृत गर्दै नेता बस्नेतले भन्नुभयाे, ‘अब म पार्टी कमिटीको आधिकारिक बैठक राखेर उचित निर्णय लिन्छु, तपाईंहरूलाई तुरुन्त खबर आउँछ तयारी अवस्थामा बस्नुहोला ।’
No comments:
Post a comment