काठमाडाैँ, ६ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्नु आफ्नो रहर नभइ बाध्यता भएको बताउनुभएको छ । आफू निकटका सांसदहरूसँग बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले देशको उन्नतिका लागि गरेका हरेक काममा अवरोधका कारण पार्टीको भविष्य जोगाउने अरू कुनै विकल्प नभएपछि भारी मनका साथ आफूले ताजा जनादेश लिने निर्णय गरेको जिकिर गर्नुभएको हो ।
पार्टीका एकथरि नेताले पार्टीलाई नागरिकले सुम्पेको जनादेश बिर्सेर सधैँ सरकारका काममा अवरोध मात्रै गरेकोले आफूले यस्तो कदम चाल्न बाध्य भएको उहाँको दाबी छ । प्रचण्ड र माधव नेपालले पार्टी एकतामा भावनात्मक सम्मानका लागि गरिएको व्यवस्थालाई दुरुपयोग गरेर पछाडि फर्कनै नसक्ने गरी समीकरणका आधारमा पार्टीलाई चिरा पार्ने काममा अग्रसर भएकाले पार्टीको आन्दोलन र भविष्य जोगाउन अरू कुनै विकल्प नभएपछि जनादेशका लागि नागरिकमा जाने निर्णय गरेको उहाँको भनाइ छ ।
नागरिकले दिएको विश्वास पूरा गर्न अवरोध गरेपछि त्यस अवरोधलाई पनि जनता समक्ष नै प्रस्तुत गर्न ताजा जनादेशको निर्णयमा पुग्नु परेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नागरिककाे मतबाट निर्णय लिने कदमलाई निरङ्कुश भनेर दुष्प्रचार गर्ने काम भएको बताउनुभयो ।
उहाँले सरकार गठन भएको केही समयदेखि नै देशलाई समृद्ध बनाउने र नागरिकलाई सुखी बनाउने हरेक कदममा व्यक्तिगत स्वार्थ तेर्स्याएर पाइला छेक्ने प्रयास भएको बताउनुभयो ।
‘एकतापछि पार्टीको सचिवालयका ७५ वटा सचिवालय बैठक भए, कुनै बैठकमा पनि देश, नागरिकसँग सम्बन्धित विषयमा छलफल गर्न उहाँहरू कहिल्यै राजी हुनुभएन, मेरा मान्छेलाई खोई, मलाई खोई, उधारो होइन हाताहाती चाहिन्छ भन्ने उहाँहरूको स्वार्थपूर्तिले घेरिनु पर्याे’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जस्तोसुकै दुष्प्रचारको सहारा लिए पनि नागरिकले यो कुरा बुझेका छन् ।’
प्रधानमन्त्री ओलीले लामो समयदेखि लथालिङ्ग रहेको देशको अवस्था सुधार्न गरिएका कामलाई ओझेलमा पार्न तिनै बेथितिका झिल्काहरू टिपेर देश बर्बाद भएको भन्दै दुष्प्रचार भइरहेको बताउनुभयो ।
‘साढे दुई वर्षमा यति धेरै अवरोधका बीच पनि विकास र समृद्धिका सुस्पष्ट योजनासाथ अघि बढ्यौँ र यसमा सफलता पनि पाएका छौँ । वर्षाैँदेखि पछौटे रहेको देश एकै पटक बनिसकेको हुँदैन, त्यही क्रममा बेथितिका झिल्का देखाएर केही नगरेको भन्ने प्रचारबाजी भए’, प्रधानमन्त्रीले भन्नुभयो, ‘सरकारले के गरिरहेको छ र त्यसलाई बदनाम गर्न के प्रचार भइरहेको छ नागरिकले बुझेका छन् ।’
प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधि सभाका सदस्यहरूलाई निर्वाचन क्षेत्रमा केन्द्रित रहेर चुनावी तयारी गर्न निर्देशन दिनुभयो । ‘तपाईँहरु अब निर्वाचन क्षेत्र जानुहोस्, हामीले गरेका अभूतपूर्व कामलाई रोक्न भएका षड्यन्त्रबारे नागरिकलाई बुझाउनुहोस्’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कसले काम गर्याे, कसले काम गर्न अवरोध गरेर षड्यन्त्र तिकडम मात्र गर्याे, नागरिकलाई बुझाउनुपर्छ ।’
No comments:
Post a comment