काठमाडौँ, ७ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको बैठकले कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाललगायतलाई कारबाहीको निर्णय गर्ने नेताहरुले बताएका छन् । उनीहरुलाई कारबाही गरी नयाँ केन्द्रीय सदस्य थप्ने ओली पक्षको तयारी छ ।
बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूको बाक्लो उपस्थिति रहेको प्रधानमन्त्रीका संचारविज्ञ रामशरण बजगाईँले बताउनुभयो । बिहान नौ बजे बोलाइएको बैठक केन्द्रीय सदस्यहरुको सूची तयार पार्नु पर्ने भन्दै ढिला सुरु गरिएको छ । बैठकमा पार्टीको पछिल्लो अवस्थाका बारेमा छलफल हुने बताइएको छ ।
बैठकमा पूर्वमाओवादीतर्फका नेकपाका तीन स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्टलगायतका नेताहरूकोसमेत सहभागिता रहेको छ ।
यसअघि नै स्थायी कमिटीको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरिसकेको छ । त्यसलाई औपचारिकता दिन आजै प्रचण्ड–माधव नेपाल पक्षको केन्द्रीय समितिको बैठक पनि बस्दै छ । प्रचण्ड–नेपाल पक्षको बैठक दिउँसो १ बजे कार्की ब्यांक्वेट बबरमहलमा बोलाइएको छ ।
No comments:
Post a comment