अहिलेको अवस्थामा संसद् विघटन गरेर नयाँ जनादेश लिने कुरा संविधानमा छैन : पूर्वप्रधानन्यायाधीश सुशीला कार्की - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 21 December 2020

अहिलेको अवस्थामा संसद् विघटन गरेर नयाँ जनादेश लिने कुरा संविधानमा छैन : पूर्वप्रधानन्यायाधीश सुशीला कार्की


काठमाडाैँ, ६ पुस : 
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्री केपी शर्मा अाेलीले ले आफूसँग हुँदै नभएको अधिकारको प्रयोग गरेर स‌ंसद् विघटन गर्नुभएकाे बताउनु भयाे । उहाँले अहिलेकाे कारण अनुसार संविधानमा संसद् विघटन हुने प्रावधान नभएकाे बताउनुभयाे ।

पूर्वप्रधानन्यायाधीश कार्कीले भन्नुभयाे, " संविधानको धारा ८५(१) जुन छ, त्यसमा त खालि संसद्को आयुको कुरा मात्र छ । धारा ७६ (७)को प्रयोग गरी संसद् विघटन गरिएको छ । त्यसमा प्रस्टसँग के भनिएको छ भने निर्वाचन भएपछि एउटै पार्टीको बहुमत आयो भने जो संसदीय दलको नेता हुन्छ, उही प्रधानमन्त्री हुन्छ, २५ जनासम्म मन्त्री हुन्छन् । त्यो भएन भने दुईवटा दल मिलेर बहुमतको सरकार बनाउने हो । र, त्यो पनि भएन भने राष्ट्रपतिले संसद्मा भएको सबैभन्दा ठूलो दललाई दिने हो, त्यस्तो प्रधानमन्त्रीले ३० दिनभित्र आफूसँग संसद्मा बहुमत छ भनेर देखाउनुपर्छ । त्यो तीनै अवस्था भएन र सरकार गठन हुन सकेन भने प्रधानमन्त्रीले राष्ट्रपतिलाई ‘सरकार गठन हुने अवस्था छैन, नयाँ निर्वाचनतर्फ जानुपर्छ’ भनेर लेख्ने हो । ७६(७)को मर्म यही हो । त्योबाहेक पूरै संविधानमा संसद् विघटनबारे कहीँ केही छैन । "

उहाँले संविधानकाे मर्म विपरित  निर्णय भएकाे भन्दै प्रधानमन्त्रीलाई संसद् विघटन गरेर मध्यावधि निर्वाचनमा जाने अधिकार नै नभएकाे बताउनुभयाे । "अहिले असाध्यै हल्का रूपमा संसद् विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय भयो, जुन मिल्दै मिल्दैन । संविधान एकातिर छ, निर्णय अर्कोतिर छ । प्रधानमन्त्रीले आफूसँग हुँदै नभएको अधिकारको प्रयोग गर्नुभयो ।"उहाँले भन्नुभयाे,"अहिलेको अवस्था भनेको बहुमतको सरकार भएको हो । एउटा दलभित्र झगडा हुँदा के गर्ने भन्ने प्रावधान संविधानमा छैन । ०४७ सालको संविधानमा चाहिँ प्रधानमन्त्रीलाई आफूले राम्रोसँग काम गर्न पाइनँ भन्ने लाग्यो भनेर सजिलै संसद् विघटन गर्न सक्ने व्यवस्था थियो । तर, ०७२ सालको संविधानमा त्यो अधिकार हटाइएको छ । संविधान निर्माणको क्रममा संविधानसभामा एउटा छलफल भएको थियो– ०५२ सालमा गिरिजाप्रसाद कोइरालाले, पछि मनमोहन अधिकारीले र त्यसपछि शेरबहादुर देउवाले संसद् विघटन गरे, विगतमा यसरी पटक–पटक संसद् विघटन हुँदा अस्थिरता भयो भन्ने सबैले महसुस गरे । त्यही भएर अहिलेको संविधानमा त्यो प्रावधान नराखिएको हो । "

उहाँले अहिलेको अवस्थामा त संसद् विघटन गरेर नयाँ जनादेश लिने कुरा संविधानमा उल्लेख नभएकाे बताउनुभयाे । उहाँले थप्नुभयाे, "बरु, अहिलेको परिस्थितिमा के हुन सक्थ्यो भने वर्तमान प्रधानमन्त्रीको पार्टी फुटेर दुईवटा समूह भयो र उनले बहुमत पाएनन् भने विश्वासको मत लिँदा पुगेन भने अर्को निर्वाचनतिर जान सक्थे । सरकार नै गठन हुन नसक्ने अवस्थामा यसरी निर्वाचनमा जाने भन्ने अहिलेको संविधानको मर्म हो । तर, अहिलेको अवस्थामा त संसद् विघटन गरेर नयाँ जनादेश लिने कुरा संविधानमा छैन ।"

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.