पहिलो पाँचतारे होटेल अन्नपूर्ण स्थायी रूपमा बन्द - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 23 December 2020

पहिलो पाँचतारे होटेल अन्नपूर्ण स्थायी रूपमा बन्द


काठमाडाैँ, ८ पुस :
काठमाडाैँकाे दरबारमार्गस्थित नेपालको पहिलो पाँचतारे होटेल ‘डेल अन्नपूर्ण होटेल’ एक वर्ष पूर्ण रूपमा बन्द हुने भएको छ । ५५ वर्ष पुरानो पाँचतारे होटेल कोभिड–१९ का कारणले विदेशी पर्यटक नआएका कारण खर्च धान्न मुस्किल भएको भन्दै बन्द गर्न लागिएको हो । व्यवस्थापनले बन्द गर्ने निर्णय गरेसँगै होटेलका ३ सय ६० भन्दा बढी कर्मचारीलाई बिदा गर्न सुरु गरिएको छ । अन्नपूर्ण होटेल सन् १९६५ स्थापना भएको हो ।

होटेल संघ नेपाल (हान)की अध्यक्ष तथा होटेलकी सञ्चालक सिर्जना राणाले सन् २०२१ भरि पर्यटक नआउने देखिएपछि होटेल बन्द गर्ने निर्णयमा पुगेको बताउनुभयाे । ‘आम्दानी प्रायः शून्य छ, खर्च धान्न नसक्ने भएपछि बन्द गर्ने निर्णयमा पुगियो,’ राणाले भन्नुभयाे ‘२०२० को अन्त्यसम्म केही सुरुवात हुने आशा गरेका थियाँै, तर युरोपभर समस्या पुनः सुरु भएको छ, भ्याक्सिनको पनि टुंगो देखिएन । त्यसैले होटेल बन्द गर्नुपर्ने बाध्यात्मक अवस्थामा पुग्यौँ ।’ 

होटेल बन्द भएसँगै बैंकबाट ऋण लिएर कर्मचारी व्यवस्थापन गर्न लागिएको समेत राणाले बताउनुभयाे । अहिलेसम्म भएको तलब, कर्मचारी सञ्चय कोषलगायत सुविधा तथा अन्य कानुनअनुसार पाउने सबै सुविधा दिएर होटेल बन्द गर्न लागिएको उहाँले जानकारी दिनुभयाे। दरबारमार्गको ४३.८६ रोपनी क्षेत्रफलमा फैलिएको होटेलमा नेपाल ट्रस्टको समेत ५ प्रतिशत लगानी छ । 

अन्नपूर्णको नयाँ संरचना निर्माणको तयारी 
पाँचतारे होटेल अन्नपूर्णको भवन पुरानो रहेको भन्दै लामो समययता नयाँ संरचना निर्माणको तयारी गरिएको थियो । तर, पर्यटक व्यवस्थापन गर्न समस्या हुने देखिएपछि सञ्चालकहरू नयाँ संरचना बनाउन हच्किएका थिए । अन्नपूर्ण व्यवस्थापनले नयाँ संरचना बनाउने निर्णय नभएको बताए पनि नयाँ भवन निर्माणको तयारी भने थालिएको छ । ‘भवन पुरानो छ, विगतमा निर्माणमा समस्या भएको, तर अहिले नै बनाउने भन्ने निर्णय भएको छैन,’ राणाले भन्नुभयाे । व्यवस्थापनले अध्ययन गरिरहेको र पाँचवर्षे योजना बनाएर लगानी गर्ने भएकाले अहिले अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयाे ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.