कोशीटप्पु वन्यजन्तु आरक्षमा आउन थाले पाहुना चरा - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 11 November 2020

कोशीटप्पु वन्यजन्तु आरक्षमा आउन थाले पाहुना चरा


इनरुवा, २६ कात्तिक :
यसपालि दशैँ सकिए लगतै जाडो सुरु भएकाले यसपटक कोशीटप्पु वन्यजन्तु आरक्षमा पाहुना चरा आउन थालेको छ । विगतको तुलनामा यसपाली समयमै पाहुना चारा देखिन थालेका छन् । आगन्तुक चरासँगै कोशीटप्पुमा आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ ।

कोभीड १९ का करणले विदेशी पर्यटक नआए पनि विदेशी चरा भने आउन थालेको आरक्षले जनाएको छ । आरक्षका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले यसपटक छिट्टै मौसम खुलेकाले केही केही चरा देखिन थालेको बताउनुभयो । 

कोशीटप्पुको मूख्य आकर्षणको रुपमा रहेको चरा भएकाले आन्तरिक पर्यटक आवागमन बढेको चौधरी बताउनुभयो । आरक्षमा ५ सय २८ प्रजातिका चरा पाइन्छन् । चौधरीका अनुसार ‘चराको राजधानी’ र ‘चराको स्वर्ग’ जस्ता अनेक नामले चिनिएको कोशी नदी तथा यसको आसपासका इलाकामा यस पटक समयमै विदेशी पाहुना चराहरू देखिन थालेका हुन् ।

केही चरा आउन थालेकाले अव अत्यधिक चिसो भएपछि रुसको साइबेरियादेखि लामो दूरी पार गरी चराहरू कोशीटप्पुसम्म आइपुग्छन् । सामान्यतया चराले बादल लाग्दा, पानी पर्दा अनि ‘भिजिबिलिटी’ कम हुँदा लामो दूरीको यात्रा गर्दैनन् । तराईमा लाग्ने हुस्सु भन्दा छिटै कोशीटप्पुमा चराले आफ्नो वास बसेका थिए ।

कोशीटप्पुमा मात्र होइन सुनसरीकै बर्जु ताल, रास ताल लगायतका अन्य सिमसारमा समेत विदेशी चरा संख्या बढ्दै गएको चराप्रेमीहरुले बताएका छन । चरा प्रेमी विएल चौधरीले कोशीटप्पुमा गणना थालिएको ३० वर्षमा चराको संख्या भने वर्षेनी घटिरहेको गुनासो गर्नुभएको छ ।

कोशीमा आउने जलचरा मध्ये अधिकांश अन्न मात्रै खान आउने चरा नदीको आसपासका खेतमा अन्न खान पाइए मात्रै चरा आउँछन् । तर पछिल्लो समय खेतीयोग्य जमिनको प्लटिङले पनि चराको आहारा कम हुन थालेकाले संख्याको आधारमा कोशीटप्पुमा चराको संख्या कम हुँदै गएको चौधरीको भनाई छ ।

कोशीटप्पु वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र यादवले सगरमाथा माथिबाट बच्चा कोरल्न आउने चराहरुको आगवन भए पनि रैथाने जातको चरा लोपहुन लागेको बताउनुभयो ।

यादवले प्राय कोशीटप्पुमा लामो दूरी तय गरेर आउने चरा हाँस प्रजातिका भएको र हाल कोशीटप्पुमा ठूलो जलेवा (ग्रेटर कर्मोनेण्ट), चखेवा (रेडिसियल डक), खोया हाँस (बार हेडेड गुज) लगायतका चरा देखिन थालेको बताउनुभयो ।

उपयुक्त मौसमी पर्यावरणको कारण कोशीमा चरा जाडो छल्न मात्र होइन । सगरमाथाभन्दा माथिको उचाइबाट उड्दै बच्चा कोरल्न पनि कोशीटप्पु आउने गर्छन् ।

बारहेडेड गुज जसलाई नेपालीमा खोया हाँस पनि भनिन्छ । यी चरा सगरमाथाभन्दा माथिबाट उडेर आउँछन् । यो चरा १३ हजार मिटर माथिबाट आउने गर्छन् । हिउँदको चिसो बढेसँगै न्यानो वासस्थान, आहार र प्रजननका लागि पंक्षीहरू यस वर्ष उत्तरी गोलार्द्धबाट दक्षिणी गोलार्द्धमा बसाइँ सर्दै कोशीटप्पुसम्म आउने गर्दछन् ।

एकथरी चराले अन्तरदेशीय सीमाको लामो दूरी पार गर्दै साइबेरियादेखि कसी टप्पुसम्म आउने गर्दछन् भने केही चरा नेपालकै उच्च पहाडी भूभागबाट छोटो दूरीको बसाइँ सरी आउँछन् । नेपालबाटै पहिलो पटक चराको विषयमा विद्यावारिधि गरेका डा हेमसागर बरालका अनुसार हिउँदमा १५० प्रजातिका चरा नेपाल आउँछन् । जसको ठूलो संख्या कोशीटप्पुमा बस्छ ।

बरालका अनुसार सुडसुडिया प्रजातिको चरा १५/२० दिनसम्म निरन्तर आकाशमा उडेर हजारौँ माइलको दूरी पार गर्ने गर्छन् । बसाइँसराइँ अघि चराले धेरै खाना खाएर शरीरमा टन्न बोसोको मात्रा जम्मा गर्छन् । निरन्तर उड्दा बोसोबाट शक्ति आर्जन गर्छन् ।

आरक्ष आसपासका क्षेत्रहरूमा चरा लामो समयका लागि मात्र होइन, यात्राको क्रममा केही दिन बास बस्नका लागि मात्र पनि प्रयोग गर्ने गर्दछन् । आरक्ष आसपासको क्षेत्रमा बसाइँसराइँ गरी आउने चरामा चखेवा, खडखडे, मालत र सुडसुडिया हाँस प्रजाति देखिएका छन् । त्यसैगरी सिकारी चराहरू साहिबाज सेनबाजजस्ता प्रजाति पनि देखिएका थिए ।

कोशीटप्पुमा चरा हेर्नकै लागि आरक्षमा अघिल्लो वर्ष यो सिजनमा ३०/३५ विदेशी टोली आइरहेकोमा यसपालि कोभिड १९ का कारणले विदेशी पर्यटक नआए पनि आन्तरीक पर्यटक आउने क्रम बढेको छ । चरा मात्र होइन विश्वमै दुर्लभ बबुलिस जातको अर्नासमेत हेर्न आरक्षमा पर्यटक आउने गर्दछन् । चरासँगै अर्ना, हरिण, नीलगाई अवलोकन गर्न विदेशी र स्वदेशी पर्यटक कोशीटप्पु आउने गरेका छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.