काठमाडौँ मागी खानेहरुको सहर भनेर विश्वलाई नचिनाऔं : मेयर शाक्य - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 5 November 2020

काठमाडौँ मागी खानेहरुको सहर भनेर विश्वलाई नचिनाऔं : मेयर शाक्य


काठमाडौँ, २० कात्तिक :
काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्र भित्रका विभिन्न सार्वजनिक र भिडभाड हुने स्थलहरूमा हालै भइरहेको निःशुल्क खाना खुवाउने कार्यलाई व्यवस्थित गर्ने बताएको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो बताउनुभएको हो । ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने काठमाडौँ महानगरपालिकाको नीति नै हो । अरु सबैको आसय पनि कोही भोको नपरुन भन्ने नै हो,’ शाक्यले भन्नुभयो, ‘अहिले काठमाडौं महानगर क्षेत्र भित्रका विभिन्न सार्वजनिक र भिडभाड हुने स्थलहरूमा हालै भइरहेको निःशुल्क खाना खुवाउने कार्यलाई हामी छिटै व्यवस्थित गर्छौ ।’

उहाँले काठमाडौँ महानगरवासीको स्वस्थ्य जीवनप्रति काठमाडौँ महानगरपालिका सम्वेदनशील रहेको भन्दै उहाँले जिम्मेवार ढंगले त्यसका व्यवस्थापनमा लाग्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘ हामी सबैले समन्वय गरेर अघि बढ्ने हो भने समस्यामा परेका श्रमिक, गरिब र असहायलाई दुई छाक खाने र उनीहरुको चुल्हो ननिभ्ने व्यवस्था सजिलै गर्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘ समस्यामा परेका श्रमिक, गरिब र असहायको सेवामा निरन्तर खटिरहनु भएका विभिन्न संघ–संस्था र व्यक्तिलाई अहिलेसम्म गरेको मानवीय सेवाका लागि धन्यवाद दिदैँ काठमाडौँ महानगरपालिकासँग समन्वय गर्न विनयपूर्वक आग्रह गर्न चाहन्छ । त्यसका लागि तपाईँहरुले खुलामञ्च होइन पार्टी प्यालेसलगयतका ठाउँमा खाना खुवाउने व्यवस्था गर्नुहोला । काठमाडौँ महानगरपालिका पार्टी प्यालेसको भाडा व्यहोर्न तयार छ । सक्नेले श्रम गर्नुपर्छ । खुलामञ्चमै खाना खुवाउन पाउनुपर्छ भनेर कसैले पाखुरा सुर्किनु पर्ने आवश्यक छैन ।’ उहाँले आफुहरु जिम्मेवार नियकाय भएकाले राजनीतिक स्वार्थभाव राखेर मुठभेड गर्ने वा गैर जिम्मेवार बन्ने पक्षमा नरहेको पनि बताउनुभयो । ‘हामी जिम्मेवार पूर्वक ढंगले व्यवस्थापन गर्न तयार छौँ,’ उहाँले भन्नुभयो, ‘कोही पनि भोको नरहने गरी हामी सम्वन्धित नियकायसँग पनि समन्वय गरी रहेका छौँ ।’

उहाँले त्यसका लागि कार्यपालिकाको बैठकले जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ नै पारित गरि कार्यान्वयनमा रहेको भन्दै उक्त कार्यविधिमा उनीहरुलाई वडा कार्यालयबाट सार्वजनिक पूर्वाधार विकास, सार्वजनिक पूर्वाधार मर्मत सम्भार, ढल निकास तथा फुटपाथ व्यवस्थापन, सम्पदा संरक्षण र सौन्दर्यीकरण जस्ता काममा लगाउने उल्लेख रहेको बताउनुभयो ।

उहाँले हुनेखानेले मात्रै होइन दीनहीनले पनि स्वस्थ्यकर र पेटभरी खाना खान पाउनुपर्छ, काठमाडौँ महानगर यो मान्यतामा दृढ छ । श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्छ, अल्छी बनाउनुहुन्न भन्दै काठमाडौंलाई गरिखानेहरूको शहरका रुपमा चिनाउनुपर्छ भन्नुभयो । ‘कोरोना कहरका बेला सार्वजनिक स्थान र सडकमा स्वास्थ्य मापदण्डको सामान्य पनि ख्याल नगरी जथाभावी लाइन लगाएर खाना खुवाई स्वास्थ्यमाथि नै हेलचेक्य्राइँ गरी उनीहरुकै कथा–व्यथा बेचेर विश्वमै ऐतिहासिक र साँस्कृतिक सहरका रुपमा परिचित काठमाडौँ मागी खानेहरुको सहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् भन्ने पनि हाम्रो चाहना छ,’ उहाँले भन्नुभयो, ‘कोरोना महामारीका कारण रोजगारी गुमी केही समयका लागि हातमुख जोड्ने समस्याले पेट भर्नकै लागि ताँती लागेका नागरिकहरूको निर्दोष अनुहारलाई सामाजिक सञ्जाललगायतमा व्यापक बनाउँदा कसैलाई क्षणिक लाभ पुगे पनि सम्बन्धित नागरिकको आत्मसम्मानलाई भने यसले आघात पु¥याउने कुराप्रति हामी सबै सचेत हुनै पर्दछ ।’

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.