वाइडेनको विजय लगभग पक्का, जर्जिया र मिसिगनमा रिट खारेज - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 6 November 2020

वाइडेनको विजय लगभग पक्का, जर्जिया र मिसिगनमा रिट खारेज


अमेरिका, २१ कात्तिक :
विश्वभरका मानिसहरुको चासो र चर्चामा रहेको अमेरिकी राष्ट्रपति पदको निर्वाचनको परिणाम आउन ढिलाइ हुँदै गएकोमा चौतर्फी आलोचना भइरहेको छ ।अमेरिकी समय अनुसार, बिहीवार राती १२ बजेसम्ममा पनि अघिल्लो दिनको परिणाममा थोरै मात्र परिवर्तन भएको छ । 

डेमोक्रेटिक पार्टीका उम्मेदवार जो वाइडेन विजयको अत्यन्त नजिक पुगे पनि मतगणनामा ढिलाइ भएकोले परिणाम बाहिर आएको छैन । वाइडेनलाई अब जम्मा छ इलेक्टोरल मतको आवश्यकता छ । उहाँले राष्ट्रपति निर्वाचित हुन अ ावश्यक २७० इलेक्टोरल मतमध्ये २६४ प्राप्त गरिसक्नुभएको छ । 

राष्ट्रपति ट्रम्पले भने हालसम्म २१४ इलेक्टोरल मत प्राप्त गर्नुभएको छ । अधिकांश राज्यको मतगणनाको परिणाम आइसकेको र बाँकी चारवटा राज्यको मतपरिणाम आउन बाँकी छ । यी चारवटै राज्यमा दुवै उम्मेदवारबीच कडा टक्कर छ । नेभाडा, जर्जिया, एरिजोना र पेन्सिलभेनियामामा अहिले सबै अमेरिकनको ध्यान गएको छ । छ वटा इलेक्टोरल मत रहेको नेभाडामा अहिलेसम्म करिब ८९ प्रतिशत मतगणना सम्पन्न भइसकेको परिप्रेक्ष्यमा वाइडेनले ११ हजार ४३८ मतले अग्रता लिनुभएको छ भने ११ इलेक्टोरल मत रहेको एरिजोनामा ९० प्रतिशत मतगणना सकिँदा वाइडेनले ४६ हजार ६६७ मतले अग्रता लिनुभएको छ । उता जर्जिया र पेन्सिलभेनियामा भने राष्ट्रपति ट्रम्पले झिनो मतान्तरले अग्रता लिनुभएको छ । 

हिजोसम्म यी दुवै राज्यमा ट्रम्पले निकै ठूलो अग्रता लिनुभएको थियो । यी दुई राज्यमा क्रमशः ९९ र ९५ प्रतिशत मतगणना सम्पन्न भइसकेको छ । विश्लेषकहरूले यी दुई राज्यमा पनि वाइडेनले विजय हात पार्ने सम्भावना रहेको औँल्याएका छन् र यसलाई अन्यथा मान्न पनि सकिँदैन । उपर्युक्त चारवटै राज्यमध्ये एकमा मात्र विजय हात पारेको खण्डमा ट्रम्पको संभावना शून्य रहन्छ ।

उपर्युक्त चारवटै राज्यको परिणाम शुक्रवारसम्ममा आउने बताइएको छ ।

निर्वाचनमा धाँधली भयोः ट्रम्प
अमेरिकी समय बिहीवार साँझ पत्रकार सम्मेलन गर्दै राष्ट्रपति ट्रम्पले यो निर्वाचनमा धाँधली र हस्तक्षेप भएको बताउनुभएको छ । ठूला सञ्चारमाध्यम, ठूला प्रविधि र ठूलो पैसाको चलखेल भएको बताउँदै ट्रम्पले चुनाबमा मत चोरेर हामीबाट हाम्रो इच्छा विपरीत कार्य गरेको आरोप लगाउनुभयो । उहाँले निर्वाचनमा थुप्रै मरेका मानिसको नाममा मत खसालिएको कारण यसको कानुनी उपचार खोज्ने पनि जानकारी दिनुभयो ।

यसैगरी अर्का उम्मेदवार वाइडेनले पनि पत्रकार सम्मेलनमार्फत राष्ट्रपति छनोट गर्ने इच्छा जनताको हो र जनताले दिएको सबै मत गणना हुनुपर्छ भन्नुभयो ।

निर्वाचन परिणाम लिएर देशका केही भागमा पक्ष र विपक्षमा प्रदर्शन भएका छन् ।

यसैबीच, निर्वाचनमा धाँधली भएको विषयलाई लिएर जर्जिया र मिसिगनमा गरिएको रिट दायर खारेज भएको छ । दुवै राज्यका अदालतका न्यायाधीशले खारेज गरेका हुन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.