मैले राजीनामा दिनु भनेकाे देश बर्बादीतिर जानु हाे : प्रधानमन्त्री ओली - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 4 November 2020

मैले राजीनामा दिनु भनेकाे देश बर्बादीतिर जानु हाे : प्रधानमन्त्री ओली


काठमाडाैँ, १९ कात्तिक :
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पार्नुभएको छ । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने बताउनुभएको हो ।

पछिल्लो समय पार्टी भित्रैबाट राजीनामा दिन दबाब सिर्जना भएको अवस्थामा प्रधानमन्त्री ओलीले देशका लागि भए पनि राजीनामा नदिने स्पष्ट पार्नुभएको हो । उहाँले भन्नुभयो ‘तपाईँहरु विचार गर्नुस्, के अहिले मैले राजीनामा दिन हुन्छ ? राजीनामा दिन मिल्छ ? मेरो लागि होइन देशको लागि, मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन । त्यो मैले दोहोर्‍याएर भनेको छु फेरि केहीले खोइ त राजीनामा भनेर मागिराखेका छन् । बेकारको कुरा हो भन्ने सोच्छु ।’

प्रधानमन्त्री ओलीले आफ्नो रहरले भन्दा पनि नागरिककाे आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेको समेत बताउनुभयो । कुनै पनि जाल, झेल तथा तिकडमबाट नभइ व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिन्छ कि भन्ने द्विविधामा नपर्नसमेत आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म यस ठाउँमा आएको मेरा रहरले होइन, नागरिककाे आवश्यकता र समर्थनले हो । म जाल, झेल र तिकडमबाट यहाँ पुगेकाे होइन । यहाँ पुगेको व्यापक जनसमर्थनबाट हो । त्यसकारण तपाईँहरु ढुक्क भएर काममा लाग्नुस् । यो सरकार फेरिन्छ कि, बदलिन्छ कि भनेर धेरैले धेरैपल्ट धेरै प्रकारका कोसिस गरे । भित्र, बाहिर अनेक थरीका कोसिसहरु आए । जे मा पनि आलोचना गर्ने, जे मा पनि आलोचना गर्ने । त्यस प्रकारका प्रवृत्तिहरू छन्, त्यसबाट प्रभावित नहाेऔँ ।’

प्रधानमन्त्री ओलीले एक थरी व्यक्तिहरु देशमा अस्थिरता निम्त्याउन लागि रहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘एकथरी अस्थिरताको खेती गरिरहने, देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने प्रयासहरु गर्ने आदत छ केहीको । एडिक्ट भएका छन् कोही ।’

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.