जो बाइडन चुनावमा विजयी हुनु पछाडिका पाँच मुख्य कारण - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 9 November 2020

जो बाइडन चुनावमा विजयी हुनु पछाडिका पाँच मुख्य कारण


अमेरिका, २४ कात्तिक :
सार्वजनिक जीवनमा झन्डै ५० वर्ष व्यतीत गरेका अनि राष्ट्रपति हुने आजीवन आकाङ्क्षा राखेका जो बाइडनले यसपालि अन्ततः ह्वाइट हाउस जान पाउने भएका छन्।

यो कसैले कल्पना गरे जस्तो निर्वाचन अभियान थिएन। एक शताब्दीमा एक पटक आउने महामारी अनि अभूतपूर्व सामाजिक अशान्तिका माझ निर्वाचन अभियान चलेको थियो।

त्यसमाथि उनले एक अप्रत्याशित शैलीका अनि अचम्मका प्रतिद्वन्द्वीको सामना गर्नुपरेको थियो।

तर राष्ट्रपति हुने उनको तेस्रो प्रयासका बेला बाइडन तथा उनको टोलीले राजनीतिक अवरोधहरू छिचोल्दै विजयको मार्ग पहिल्याए। अन्तिम मतगणनामा उनले देशभरिबाट ट्रम्पभन्दा दशौँ लाख बढी भोट पनि बटुले।

डेलावेअर राज्यका एक कार विक्रेताका छोरा बाइडनले राष्ट्रपति पद जित्नुका पछाडि यी प्रमुख पाँच कारण रहेका छन्।

१. कोभिड, कोभिड, कोभिड
बाइडनले जित्नुको मुख्य कारण सम्भवतः उनको नियन्त्रणभन्दा पूर्णत: बाहिर रहेको विषय थियो।

कोरोनाभाइरस महामारीले २,३०,००० अमेरिकीहरूको ज्यान लिनुका साथै अमेरिकी जीवनशैली र राजनीति पनि बदलिदियो। निर्वाचन अभियानको अन्त्यतिर राष्ट्रपति डोनल्ड ट्रम्प स्वयंले पनि यो कुरा स्वीकारेको देखिन्थ्यो।

"मिथ्या समाचार दिनेहरूका निम्ति केवल कोभिड, कोभिड, कोभिड छ," गत साता विस्कन्सिन राज्यमा भएको र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले भनेका थिए। सो राज्यमा केही दिनयता सङ्क्रमण निकै फैलिएको छ।

सञ्चारमाध्यमले कोभिडबारे चर्चा गर्नु कृत्रिम कुरा नभई वास्तवमा जनचासोको अभिव्यक्ति थियो। यो विषयले राष्ट्रपतिले सङ्कट राम्ररी व्यवस्थापन गर्न नसकेको देखायो।

गत महिना पीउ रिसर्च संस्थाले गरेको मतसर्वेक्षणमा कोभिड महामारी व्यवस्थापनको सवालमा कसलाई विश्वास गर्नुहुन्छ भनेर सोद्धा मानिसहरूले बाइडनलाई ट्रम्पभन्दा १७ प्रतिशत धेरै अङ्क दिएका थिए।

महामारी र त्यसले उब्जाएको आर्थिक समस्याले ट्रम्पले रुचाउँदै आएको वृद्धि र समृद्धिको नारा ओझेलमा पर्‍यो। साथै उनले बेलाबखत ध्यान केन्द्रित गर्न नसकेको, वैज्ञानिक तथ्यलाई प्रश्न गरेको, नीतिहरूको जथाभावी कार्यान्वयन गरेको तथा दलगत स्वार्थलाई प्रमुखता दिएको जस्ता कुरामा अमेरिकी जनता चिन्तित भएको पाइयो।

ट्रम्पको लोकप्रियतामा महामारीले नै धेरै असर पार्‍यो। गर्मीयामका बेला एक पटक त त्यो झरेर ३८ प्रतिशतमा ओर्लिएको ग्यालप पोलले उल्लेख गरेको थियो। यो अवस्थाको बाइडन समूहले यथाशक्य उपयोग गर्‍यो।

२. हल्लाबिनाको प्रचारप्रसार
उनको लामो राजनीतिक जीवनयात्रामा बाइडन पटकपटक बोलीका कारण विवादमा परेका छन्।

जिब्रो चिप्लिने समस्याका कारण नै उनको सन् १९८७ को राष्ट्रपतीय निर्वाचन अभियान त्यत्तिकै सकियो। अनि सन् २००७ मा पनि उनको त्यस्तै अर्को प्रयास खेर गयो।

ओभल अफिसको निम्ति आफ्नो तेस्रो प्रयासका बेला पनि बाइडनले बोलीका कारण केही समस्या त भोग्नुपर्‍यो, तर ती थोरै र अल्पकालिक मुद्दा मात्र बने।

एक त पदासीन राष्ट्रपतिले नै नयाँ समाचारको खडेरी पर्नै दिएनन्। दोस्रो, कोरोनाभाइरस महामारी, जोर्ज फ्लोइडको हत्यापश्चात् भएका विरोध प्रदर्शन तथा आर्थिक बेथितिजस्ता विषयले राष्ट्रको ध्यान तानिरह्यो।

बाइडनको टोलीले त्यस्तो जिब्रो चिप्लिने सम्भावना नै कम गराउने रणनीति पनि लियो किनकि महामारीका कारण मानिसको जमघट गराएर प्रचारप्रसार गरिएन। त्यसैले त्यो सम्भावना कम भयो।

बाइडनको टोली चुपचाप नै बस्यो र ट्रम्पलाई नै बोलिरहन दिइयो। अन्त्यमा यही रणनीति सफल बन्यो।

३. ट्रम्पबाहेक जोसुकै
निर्वाचनको दिनभन्दा अघिल्लो साता बाइडनको टोलीले उनीहरूको अन्तिम टेलिभिजन विज्ञापनहरू सार्वजनिक गरे जसको सन्देश गत वर्षको जस्तै थियो, अगस्टमा बाइडनले उम्मेदवारी स्वीकार्दाको जस्तै थियो।

यो निर्वाचनलाई उनीहरूले 'अमेरिकाको आत्माको निम्ति लडाइँ'को रूपमा प्रस्तुत गरे। बाइडनले यसलाई गएको चार वर्षको विभाजन तथा अस्तव्यस्तताको अन्तको रूपमा आफ्नो उम्मेदवारी अगाडि सारे।

त्यो नाराको पछाडि बाइडनको टोलीको सामान्य हिसाबकिताब थियो। ट्रम्प अति नै विभाजनकारी भएको र अमेरिकी जनताले शान्त र स्थिर नेतृत्व खोजेको उनीहरूको निर्क्योल रह्यो।

डेमोक्र्याटहरूले यो निर्वाचनलाई दुई उम्मेदवारबीचको प्रतिस्पर्धाभन्दा पनि ट्रम्पमाथिको जनमतसङ्ग्रहको रूपमा परिणत गरिदिए।

बाइडनको विजयी सन्देश आफू 'ट्रम्प नभएको' भन्ने थियो। डेमोक्र्याटहरूले बाइडनले जितेमा अमेरिकीहरू हप्तौँसम्म राजनीतिबारे नसोचीकन ढुक्कले बस्न सक्छन् भन्ने सन्देश पनि बारम्बार दिए। ठट्टाको रूपमा त्यसो भनिएपनि त्यसमा सत्यको अंश थियो।

४. मध्यमार्ग
डेमोक्र्याटिक पार्टीको उम्मेदवार को हुने भन्ने निर्वाचन अभियानताका बाइडनलाई दलभित्रकै अलि वामपन्थी खेमाबाट चुनौती दिइएको थियो। बर्नी स्यान्डर्स तथा इलिजाबेथ वारेनहरूको पर्याप्त कोषसहितको सङ्गठित अभियान समूह थियो जसले निकै भिड पनि बटुल्थ्यो।

त्यस्तै उदारवादी खेमाको दबाव पनि उत्तिकै थियो। तर बाइडन आफ्नो मध्यपन्थी अडानबाट टसको मस भएनन्। उनले सबैको निम्ति सरकारी स्वास्थ्य उपचार सेवा, निःशुल्क कलेज शिक्षा तथा सम्पत्ति करको पक्षमा आफूलाई अघि सारेनन्।

यसले गर्दा उनले धेरैभन्दा धेरै मध्यपन्थी तथा वर्तमान राष्ट्रपतिसँग असन्तुष्ट रिपब्लिकन मतदातालाई तान्न सके।

उनले कमला ह्यारिसलाई आफ्नो उपराष्ट्रपतिको रूपमा छानेर पनि दलभित्रको वामपन्थीको प्रभाव नरहेको सन्देश दिन खोजेका थिए।

तर वातावरण तथा जलवायु परिवर्तनका मामिलामा भने बाइडनको मत स्यान्डर्स तथा वारेनको मतसँग धेरै मिल्थ्यो।

सम्भवतः युवा मतदाताहरूलाई यो मुद्दाले आकर्षित गर्न सके त्यसले ऊर्जामा निर्भर राज्यहरूका उद्योगमा आश्रित मतदातालाई धेरै ध्यान नदिए पनि हुने सोचाइ बाइडन टोलीको रह्यो।

५. धेरै पैसा, थोरै समस्या
यो वर्षको आरम्भमा बाइडनको निर्वाचन अभियान टोलीको कोष लगभग रित्तो थियो। जबकि राष्ट्रपति ट्रम्पले विगत चार वर्षको अवधिमा आफ्नो निर्वाचन अभियान कोषमा झन्डै एक अर्ब डलर बटुलेका थिए।

तर एप्रिलयता भने बाइडनको टोलीले मज्जाले चन्दा बटुल्न सक्यो। ट्रम्प समूहले एकदमै धेरै खर्च गरेको हुँदा अक्टोबरको सुरुमा आइपुग्दा बाइडनको टोलीसँग ट्रम्पको टोलीभन्दा १४ करोड ४० लाख डलर धेरै रकम जम्मा भएको थियो।

यो नगदले उनीहरूलाई अन्तिमतिर निर्णायक हुने ठानिएका राज्यहरूमा टन्न टेलिभिजन विज्ञापन गर्न सघाउ पुग्यो।

पैसा मात्र सबथोक होइन। चार वर्षअगाडि हिलरी क्लिन्टनको टोलीसँग ट्रम्पको भन्दा धेरै पैसा थियो। तर सन् २०२० मा कोरोनाभाइरसका कारण धेरै अमेरिकीहरूले बढ्ता समय घरभित्रै सञ्चारमाध्यमहरू नियालेर विताइरहेको सन्दर्भमा बाइडनको टोलीसँग रहेको अतिरिक्त नगदले उनको सन्देश धेरैमा पुर्‍याउन सकियो।

विगतमा जित्न कठिन मानिएका टेक्सस, जोर्जिआ, ओहायो तथा आयोवाजस्ता राज्यमा बाइडन टोलीले प्रचार व्यापक पार्न सक्यो। त्यस्ता धेरै प्रयास सफल त भएनन् तर त्यसले ट्रम्पलाई रक्षात्मक अवस्थामा पुर्‍याइदियो। एरिजोनामा जित नै हासिल भयो भने जोर्जिआमा अत्यन्तै कडा प्रतिस्पर्धा भयो।

पैसाले निर्वाचन अभियानलाई विकल्प तथा अग्रसरता दिलाउँछ - र बाइडनले तिनलाई फाइदाजनक रूपमा उपयोग गर्न सके। (बीबीसी)

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.