डोनल्ड ट्रम्पलाई हराउँदै जो बाइडन विजयी - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 8 November 2020

डोनल्ड ट्रम्पलाई हराउँदै जो बाइडन विजयी


पेन्सिल्भेनिया, २३ कात्तिक :
जो बाइडन अमेरिकी राष्ट्रपति निर्वाचित भएका छन्।

पेन्सिल्भेनिया राज्यमा विजयी भएसँगै डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन्, तर उनका सामु कानुनी चुनौतीहरू भने बाँकी छन्।

बीबीसीले गरेको प्रक्षेपण अनुसार उनले यो महत्त्वपूर्ण राज्यमा जित हासिल गरेपछी उनीसँग २७३ इलेक्टरल कलेज मत हुनेछ जुन जितका लागि आवश्यक २७० मत भन्दा बढी हो।

उनी प्रतिस्पर्धात्मक निर्वाचनमा डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपति हुने भएका छन्।

ट्रम्प पक्षले हार स्वीकार नगर्ने सङ्केत दिएको छ।


हार स्वीकार नगर्ने सङ्केत
यो नतिजाले ट्रम्पलाई सन् १९९० यता पहिलो एक कार्यकालमात्रै शासन गर्ने अमेरिकी राष्ट्रपति बनाएको छ।

बीबीसीको प्रक्षेपण मतगणना सम्पन्न भएको पेन्सिल्भेनियाको अनौपचारिक नतिजाका साथसाथै विस्कन्सिनजस्ता राज्यमा उनले जित्ने सम्भावनामा आधारित छ।

इतिहासकै सर्वाधिक मत
सन् १९०० यता सबैभन्दा बढी मतदान भएको निर्वाचनमा बाइडनले सात करोड ३० लाखभन्दा बढी मत प्राप्त गरेका छन् जुन कुनैपनि अमेरिकी राष्ट्रपतिले हालसम्म प्राप्त गरेको मतभन्दा बढी हो।

ट्रम्पको लगभग सात करोड छ जुन इतिहासमै राष्ट्रपतीय उम्मेदवारले पाएको दोस्रो ठूलो मतसङ्ख्या हो।

मतगणना जारी रहँदा ट्रम्पले आफूले जितेको गलत दाबी गरेका थिए। त्यसपछि उनले दैनिक धाँधली भएको दाबी गरिरहेका छन् तर उनले कुनै प्रमाण दिएका छैनन्।

उनको पक्षबाट केही राज्यहरूमा मुद्दा दायर गरिएको छ र शुक्रवार बाइडनले जित्ने सम्भावना देखिएपछि 'यो निर्वाचन अन्त्य नभएको' विज्ञप्ति निकालिएको छ।

कोरोनाभाइरसको जोखिमबीच निर्वाचन
अमेरिकाभरि कोरोनाभाइरसको सङ्क्रमण र मृत्यु बढिरहेको बेला लडिएको यो निर्वाचनमा ट्रम्पले बाइडनले जिते लकडाउन हुने र आर्थिक मन्दी हुने बताउँदै आएका छन्।

बाइडनले भने राष्ट्रपति ट्रम्पलाई कोरोनाभाइरस नियन्त्रण गर्न यथेष्ट कार्य गर्न असफल रहेको आरोप लगाउने गरेका छन्।

बाराक ओबामाको आठ बर्षे कार्यकालमा उपराष्ट्रपति रहेका ७८ वर्षीय बाइडन अमेरिकाका सबैभन्दा बढी उमेरका राष्ट्रपति हुनेछन्।

याे पनि पढ्नुहाेस् :

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.