‘क्रुद्ध र निराश’ ट्रम्पको धेरै समय टेलिभिजन हेर्नमा बितिरहेको छ - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 7 November 2020

‘क्रुद्ध र निराश’ ट्रम्पको धेरै समय टेलिभिजन हेर्नमा बितिरहेको छ



अमेरिका, २२ कात्तिक :
राष्ट्रपति डोनल्ड ट्रम्प आफ्नो पक्षमा थोरै मात्र सहयोगीहरू टेलिभिजनमा वा सडकमा सामुन्ने आएकोप्रति क्रुद्ध र निराश बनेको उनी निकटका सूत्रहरूले सीबीएस न्यूजलाई बताएका छन्।

उनीहरूका अनुसार ट्रम्प निकै धेरै समय टेलिभिजन हेरिरहेका छन् र फोन गरिरहेका छन्। शुक्रवार उनको समय ओभल अफिस तथा निवासमा नै बित्यो।

ट्रम्पको निर्वाचन अभियानले कानुनी लडाइँबारे कुरा गरिरहेको छ तर त्यसको प्रस्ट रणनीति देखापरेको छैन।

केही सहयोगीहरूले यस्तो विषय महिनौँ अगाडि नै सोचिनुपर्थ्यो भनेका छन्। तर यसबारे कसैले राष्ट्रपतिसँग कुराकानी गर्न चाहेका थिएनन्।

मुद्दाको सन्दर्भमा यदि पेनसिल्भेनियामा मतान्तर थोरै हुन्छ भने सर्वोच्च अदालतमा हुने सफल चुनौतीले ट्रम्पलाई सघाउ पुग्न सक्छ।

तर बाइडनको पक्षमा मतान्तर धेरै छ भने यसको धेरै माने हुने छैन।

के भन्छन् वरिष्ठ रिपब्लिकनहरू?
ट्रम्प समूहले चारवटा राज्यहरूमा कानुनी चुनौती पेश गरेको छ।

तर व्यापक धाँधली भएको भन्ने आधारहीन आरोपहरूको पक्षमा वरिष्ठ रिपब्लिकन नेताहरू देखिएका छैनन्।

कैयन् रिपब्लिकन नेताहरू चुपचापनै बसेका छन् भने अन्यले राष्ट्रपतिको भनाइहरूबाट आफूहरूलाई अलग्गै राखिरहेका छन्।

पेनसिल्भेनियाका सिनेटर प्याट टुमेले धाँधलीको प्रमाण नभएको बताएका छन्।

पूर्व राष्ट्रपति उम्मेदवार मिट रोम्नीले ट्रम्पले गरेका दाबीहरूले अमेरिकामा तथा विश्वभरिनै स्वतन्त्रताको विषयमा धक्का पुग्ने बताए।

राष्ट्रपतिका छोरा डोनल्ड ट्रम्प जुनियरले रिपब्लिकन नेताहरूमाथि मिडियासँग डराएको आरोप लगाएका छन्।

ट्रम्प समूहले कानुनी कारबाही अघि बढाउन आवश्यक दशौँ लाख डलरको चन्दा सङ्कलनका निम्ति आह्वान गरेको छ।

रिपब्लिकनहरूको अनुरोधपश्चात् सर्वोच्च अदालतले पेन्सिल्भेनिया राज्यका अधिकारीहरूलाई हुलाकमार्फत् निर्वाचनको दिनभन्दा पछि प्राप्त भएका मतपत्रहरूलाई छुट्ट्याउन आदेश दिएको छ। अधिकारीहरूले त्यस्ता मतपत्रको सङ्ख्या थोरै भएको र तिनले मतपरिणाममा खासै असर पार्ने सम्भावना कम रहेको बताएका छन्। (बीबीसी)

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.