बैतडी दुर्घटनामा मृत्यु भएका ४ जनाको सनाखत - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 13 November 2020

बैतडी दुर्घटनामा मृत्यु भएका ४ जनाको सनाखत


बैतडी, २८ कात्तिक:
  दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा गएराती दुर्घटनामा परि मृत्यु भएका ९ मध्ये ४ जनाको सनाखत भएको छ ।

बैतडीको दोगडाकेदार ६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार ६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी र कञ्चनपुरको भिमदत्त नगरपालिका ८ तिलाचौरका १५ वर्षीया कीर्तिका कार्कीको सनाखत भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

मृतक चन्द,जोशी र ऐरको घटनास्थलमै मृत्यु भएको हो भने कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ऐरको शव बसले च्यापिएकोले निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ । अन्य ५ जना मृतकको पहिचान हुन सकेको छैन् । उनीहरुको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

सो दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते ८ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २६ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती साढे १० बजेतिर दुर्घटनामा परेको हो ।

सानो घुम्तीबाट बस ६ सयमिटर जति तल खसको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् । साहु समेत रहेका चालक बैतडीको दोगडाकेदार ७ खोचलेकका वीरेन्द्र कार्की समेत घाइते रहेका छन् । क्षमताभन्दा बढी यात्रु बोकेको र बसका चालक निदाएकोले दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.