'रअ' प्रमुखले सिधै प्रधानमन्त्रीलाई भेट्नुले भारतसामु नेपालकाे कुटनीति कुन तहमा गिरेकाे छ भन्ने स्पष्ट हुन्छ : साझा पार्टी - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 23 October 2020

'रअ' प्रमुखले सिधै प्रधानमन्त्रीलाई भेट्नुले भारतसामु नेपालकाे कुटनीति कुन तहमा गिरेकाे छ भन्ने स्पष्ट हुन्छ : साझा पार्टी


काठमाडाैँ, ७ कात्तिक :
भारतीय गुप्तचर संस्था (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर फर्किएको विषयप्रति साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ ।

रअ प्रमुख गोयललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ‘विशेष दूत’ का रूपमा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाएका हुन्? यदि हुन् भने प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पार्नुपर्ने साझा पार्टीले माग गरेकाे छ । 

भारतले गुप्तचर एजेन्सी प्रमुखलाई विशेष विमानबाट नेपाल पठाएर प्रधानमन्त्रीसँग भेटाउनुबाट भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो गुप्तचर एजेन्सीको प्रमुखको तहमा झारेको सङ्केत गरेकाे साझा पार्टीले बताएकाे छ । 

त्यो प्रधानमन्त्रीकै तहबाट नेपालको कुटनीतिक सम्मान र राष्ट्रिय स्वाभिमानमाथिकाे ठाडो आक्रमण भएकाे पार्टीकाे निष्कर्ष छ । 

'रअका प्रमुख उनको नेपाली समकक्षी नेपालको गुप्तचर निकायका प्रमुखको निमन्त्रणामा आएका हुन् ? के त्यसरी आउँदा उनले प्रधानमन्त्रीसँग ‘शिष्टाचार भेट’ गरेका हुन् ? यदि हुन् भने त्यो पनि प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस् । होइन भने, देशको प्रधानमन्त्रीको मर्यादाको ख्याल भयो कि भएन ?', विज्ञप्तिमा भनिएकाे छ ।

एकातिर परराष्ट्र मन्त्रालयले औपचारिक वार्ताका लागि गरेको पत्राचारको जवाफ दिल्लीले नदिनु र अर्कोतिर गुप्तचर एजेन्सीका प्रमुख आएर सिधै प्रधानमन्त्रीलाई भेट्नुले नेपाली कुटनीति भारतसँगको सम्बन्धमा कुन तहमा गिरेको छ भन्ने स्पष्ट भएकाे साझा पार्टीले जनाएकाे छ । साथै यसले अन्य देशहरूसँगको नेपालकाे कुटनीतिक सम्बन्धलाई पनि अत्यन्तै हलुका र सस्तो बनाइदिने पार्टीकाे धारणा छ।

यो दशकौँदेखि नेपालका शीर्ष भनिएका नेताहरूले देखाइरहेको आचरणकै निरन्तरता भएकाे यस्तो आचरणलाई रोक्न र परराष्ट्र मन्त्रालयको कुटनीतिक आचारसंहिता पालना गर्न साझा पार्टीले सबै नेताहरूलाई आग्रह गरेकाे छ ।  

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.