परदेशी सन्तानलाई नेपाल आमाको चिठ्ठी - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 23 October 2020

परदेशी सन्तानलाई नेपाल आमाको चिठ्ठी

कमला गाैतम

प्रिय मेरा प्यारा सन्तान,

 म आमाको मिठो सम्झनाले दुइ शब्द कोर्दैछु, खोलेर पढ्ने प्रयास गर्नु है। मेरो प्राणको हृदयमा टेकेर हुर्केका तिमीहरु कुन चाहानाले परदेशीयौ । खै मलाई थाहा छैन । होला धन र सुख सुविधाले तानेर लग्यो जस्तो लाग्छ मलाई। तर जहाँ छौ, जस्तो छौ, राम्रोसँगै रहनु मेरो सदा कामना यहि हो। यो समयको हिडाई र बृहत संसारमा यो सामाजिक संजालले केहि त राम्रो गरेको छ । बुझेर गरेमा तर कतै बिग्रने बिगार्ने खेल पनि यसैमा छ। यो उस्को दोष होईन । चिन्न नसक्नु दोषी हामी हुनपर्छ प्रिय संन्तान। बुझेर हिँड्नु, हाउ भाउमा नलाग्न मेरो आग्रह छ। पल्लाघरे बिदेश गयो भने वल्लाघरे पनि जाने चलन यो देखासिकिले तिमीहरु आफ्नोपन धर्म संस्कृति सबै बिर्सेर परदेशिएकाेमा म दुःखी छु । म त भन्छु, मेरो सन्तान काखमा होस्  । यहीँको माटोलाई हराभरा बनाउन सकोस्  मेरो कामना थियो। तिमी हुर्कदाको खुशी बालपनको त्यो माया मेरै छाती माथी थियो सम्झ त । बाबाको खुर्पेटोँ आमाको पटुकि जस्ले तिमीलाई शक्तिशाली हुन केहि जान्ने बुझ्ने गराउन गरेको त्यो दुःखको ऋण पैसाले त तिरौला तर जुन माया हो जहाँ मान्छे रमाउँछ त्यो चिज नै आमा बाबाको अगाडि बसि दिन सकेनौ । यस्मा मलाई धेरै दुःख लाग्छ । हेर त पहिलाको सम्झ सानो घर, ठुलो परिवार, रमाइलो कति, पैसा त्यति थिएन सबै बराबरी जस्तै एकै किसिमका घर मिलिजुली बसाई, पानी पँधेरी, उकाली ओराली रमाइलै थियो त। सबैका घर अगाडि यो दशैँमा तोरी फुलेको, धान झुलेको आहा! लाग्ने मनोरम यी हरिया  वनपाखा बिर्सि सजिलै कोठा भित्रको कोठे जिन्दगीमा कसरी रमाउन सक्छौ ।

ठाऊँ आफ्नै माटो
समय शरदको थोरै खुशी 
प्रिय मेरा प्यारा सन्तान म आमाको 

ती अन्न राख्ने धन्सारहरुमा माकुराको जालो लागेको छ, पाँखा बारीको मकै, तोरी, जौ, गहुँ कति फलाए, खुवाए तिम्रो बाउबाजेहरुले तर आज बिरानो छ रोएको छ माटो। बाँझो पाँखोले तिमीलाई खोजिरहेको छ । सक्छौ आफ्नै गर आऊ, खाऊ म त्यसमा खुशी हुने थिए मेरा प्रिय सन्तान!!

घर गोठ बिर्सेयो होला, भैँसी गाईको मिठो दुध तिम्रो ज्यानमा संचित छ । तिमीलाई पाल्न खुवाउन बाबाआमाले गरेको त्यो मिहेनेत त सम्झना होला ।  बाबाले महि पार्दाको घयारघुर्रको आवाज र नजिक बसेर घ्यु मागेर लुकि खाएको पनि सम्झ!!

अहिले ठेकि मदानी रोएको छ । सायद यी कुरा गर्दा बेइज्जत सम्झे त छैनाै, सम्झ्यौ भने तिमी धेरै गलत छौ। विगतको कल्पना अतीतको क्षण भुल्नु हुँदैन । अरुको देश बनाउन तिमी त्यहाँ बसेर केहि गरेको छौ । सुख त त्यहाँ पनि छैन!! कति हजारौँ बाकसमा आएको देख्दा म धेरै रोएकिछु । त्यस्तो देख्न सुन्न नपरोस् भनि भगवानसँग कामना गरेकी छु ।

मेरा प्यारा सन्तान यहि आऊँ आफ्नो गाँउ ठाऊँमा रमाउ, बिन्ती मेरो कामना छ। यहाँ सुन फलाउन सके फल्छ! हो मिहेनेत तिमी त्यहाँ जति गरेको छौ, त्यो यहीँ गरे जे पनि, जति पनि हुन्छ जस्तो लाग्छ मलाई!! हो यो देशको राजनीतिक हस्तक्षेप र दल पाल्नको लगानी जनता हुदाँ केहि गर्न खोजे कमिसन रे? कसरी हुन्छ? यो तिमीहरु लखेटिने कारण बनेको छ । यो कसरी साम्य होला धेरै सोचमा छु। 

देशमा बेथिती त छदै छ, यो गर्छु, उ गर्छु भने गराई छैन, यो दुःखको कुरा हो। हो, तिमी आउन लगानी गर्न नि खोजेको देखेँ तर सरकारको लापरवाहीले तिमी फेल भएका घटना म प्रत्यक्ष देखिको र भोगेका मान्छेको पिंडा पनि सुनेँ! विडम्बना भन्नुपर्छ, यो सतिले सरापेको देशमा निकाशको बाटो भेटिदैन! विद्वानहरु र पढे लेखेका जस्को हातले देशको नक्शा सजाउन सक्छ, उ नै लखेटियो । यो देख्दा म नेपाल आमा रोएकि छु । तिम्रो पीडा देखेर विद्वान बाहिर हुनु भनेको मेरा लागि पनि पीडा र तापको विषय भएको छ। प्रजातन्त्र भन्छन, लोकतन्त्र भन्छन, खै के हो? बुझिन म नि। यदि प्रजातन्त्र हो भने जनताको धुरीमा धुवा हेर्न सक्नुपर्छ। बराबर चराचरको व्यवहार हुनु पर्ने हो । छैन, एउटा कुर्सीमा बस्छ वरिपरि चम्चैहरु । तीनै चम्चेले देश खाए, केके बनाए, काटे चाटे अचम्मको बियोग छ त तिम्रो देशमा! चुनाबको के काम उनै उठछन्, उनै हार्छन्, उनै हुन्छन केहि उपाय छैन । तिमी जसरी पनि आँऊ तिमीले धेरै देखेका छौ । तिमी चुनाबमा उठ्नु पर्छ नया ढगंको सरकारमा आउनुपर्छ । यो म नेपाल आमाको माग हो। 

जहाँ छौ सुन ! मेरा सन्तान खाडीमा पचपन्न डिग्रीको तापक्रममा काम गरेर त्यहाँको विकास, यहाँ उजाड भएको म देख्न चाहान्न ! हातमा शासन लेउ आऊ लोकप्रिय काम गर । हितको काम गर। मेरो चाहना बुझ। अहिलेको यो कोरोना माहामारीले सबैलाई त्रास गराएको छ । यो पनि धमिरो बनेर आयो देशमा के गरुँ । यसबाट मेरा सन्तान जहाँ छौ यसबाट मुक्ति पाएको देख्न चाहान्छु। हेर त यो दशैँ मनमा न रमझन छ, चयन अचम्म खायो, यस्ले सबैको मन डसेको देख्दा म मर्माहित छु। हो धेरै भएपछि समस्या हुन्छन सावधान झै सुरक्षित बाटो अप्नाउनु! प्रकृतिले पनि थोरै साथ छोड्दै छ  । यो हाम्रै कारण हो जता हेर्छु, राम्रो देख्या छैन । म आमा सधैँ दुखी छु। जति लेखे पनि मनको बह सकिदैन कमल रोक्छु जसरी पनि तिमी आउनु सत्ता तिम्रो हातमा हुनपर्छ परदेशी मेरा प्यारा सन्तान तिम्रो मुख र देशको अनुहारमा खुशी देखुँ ।

तिम्रो शुभचिन्तक,
नेपाल आमा!!! 


No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.