जलविद्युतमा लगानी गर्ने अष्ट्रेलियन कम्पनीको प्रस्ताव - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 3 October 2020

जलविद्युतमा लगानी गर्ने अष्ट्रेलियन कम्पनीको प्रस्ताव


काठमाडौं, १७ असाेज :
अष्ट्रेलियाको एक कम्पनीले नेपालमा ५०० मेगावाटभन्दा ठूलो जलविद्युत् आयोजना निर्माण गर्ने इच्छा देखाएको छ । त्यहाँको फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले कम्तीमा ५०० मेगावाट क्षमताको विद्युत् उत्पादन गरी खपतसमेत आफैं गर्ने प्रस्ताव ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय समक्ष पेस गरेको हो । सो सम्बन्धमा ऊर्जा मन्त्रालय र उक्त कम्पनीका प्रतिनिधिबीच श्रव्य दृश्य माध्यमबाट द्विपक्षीय छलफल समेत भइसकेको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसँग उहाँको कार्यकक्षमा विदाई भेटका लागि पुग्नु भएका नेपालका लागि अष्ट्रलियाका राजदूत पिटर बडलाई नेपाल सरकारले सो प्रस्तावलाई सकारात्मक रुपमा लिएको बताउनुभएको थियो । अष्ट्रेलियन कम्पनीले नेपालमा ठूलो लगानी ल्याउन खोजेकामा स्वागत गर्दै मन्त्री पुनले त्यसका लागि सरकारका तर्फबाट सहजीकरण गरिने स्पष्ट पार्नुभयो ।

कम्पनीका अध्यक्ष एन्ड्रीउ फरेस्ट नेतृत्वको २३ सदस्यीय टोली यही असोज २६ गते नेपाल आउन लागेको जानकारी प्राप्त भएको भन्दै मन्त्री पुनले सो टोलीसँगको भेटमा आयोजना विकासका सम्बन्धमा नीतिगत, कानूनी र प्रक्रियागत तथा सम्भावित आयोजनाका विषयमा जानकारी दिने उल्लेख गर्नुभयो । फोर्टेस्क्यू मेटल ग्रुप अष्ट्रेलियाको १० ठूला कम्पनीमध्ये एक हो ।

अष्ट्रेलियाले नेपालमा पछिल्लो पटक एकीकृत नदी बेसिन व्यवस्थापन र फुकोट कर्णाली जलविद्युत् आयोजना विकासका लागि प्राविधिक सहायता उपलब्ध गराएकामा उहाँले प्रशंसा गर्नुभयो । मन्त्री पुनले राजदूत बडको कार्यकाल कुशलतापूर्वक सम्पन्न भएकामा बधाई दिँदै आगामी दिनमा सम्हाल्ने जिम्मेवारीको सफलताको कामना गर्नुभयो ।

यस्तै राजदूत बडले आफ्नो नेपाल बसाई सफल र स्मरणयोग्य रहेको भन्दै नेपालको सरकार, राजनीतिक नेतृत्व र जनताबाट राम्रो माया र सहयोग पाएकमा प्रसन्नता व्यक्त गर्नुभयो । उहाँले अष्ट्रेलिया सरकारले नेपालको विकासमा गर्दै आएको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने स्पष्ट गर्दै अष्ट्रेलियाको निजी क्षेत्रलाई जलविद्युत्सहित नेपालको विविध क्षेत्रमा लगानी गर्न आह्वान गर्ने बताउनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.