बालापनको दशैं : सविता बस्नेत दानी - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 25 October 2020

बालापनको दशैं : सविता बस्नेत दानी


असोज महिनाको तेस्रो हप्ता, बिहानीको हल्का चिसो सिरेटो सँगै, आमाहरू धान भिजाएर चिउरा कुटाउने मेलोमेसो सुरु गर्नुहुन्थ्यो। हामी बच्चाहरु भने नवरथा शुरु हुनु अघि देखि नै साथी-साथीको देवी सारेको हेर्न जाने सल्लाह हुन्थ्यो । कालीमातालाई एउटा घरबाट अर्को घरमा सारेको हेर्न जानको लागि भोलि बिहानै सबैभन्दा पहिला दरबारसम्म को पुग्ने, प्रर्तिस्पर्धा नै हुथ्यो।

घडिमा आलार्म लगाई-लगाई, झिसमिसेमै आँखा मिच्दै, कति ठाउँमा लड्दै पढ्दै, गोरखकाली दरबारका सिडीहरुमा को पहिला चढ्ने हान थाप गर्दथ्यौ। स्वा-स्वा गर्दै, उकालो चढ्दै गर्दा बाटोमा पर्ने विभिन्न ऐतिहासिक ठाउको बारेमा आफुले सुनेका किम्बदन्ती सुनाउदै हिड्थ्यौ। महेन्द्रज्योती स्कुलको अलि माथी ढुङ्गाको कापमा प्वाल थियो, त्यहाँ कान थापेर सुन्दा स्वाँ....... एकोहोरो सुसाएको आबाज आउथ्यो।

‘त्यो प्वालमा कान थापेर सुन्यो भने कान नसुन्नेले नि सुन्छ रे’ भन्ने किम्बदन्तीले गर्दा हामी हानथाप गरेर ढुङ्गा सुसाएको सुन्थ्यौं। हामीलाई जहिल्यै हतार हुन्थ्यो, ढुङ्गा सुसाएको सुन्न नपाई फेरि सुरु हुन्थ्यो उकालो उक्लने रेस। मन्दिर‌ै नजिक पुग्ने बेला भिरालो पाखामा कालो बडेमानको ढुङ्गा थियो, त्यो ढुङ्गा कालीदेवीले कान्छी औँलाको नङले फालेको भन्ने लोकोक्ती सुन्दा उदेक लागेर आउथ्यो, बास्तबमै अचम्म सँग अडेको थियो त्यो ढुङ्गा त्यो ठाडो भिरमा। 

हतार हतार गोरखकालीकाको दैलो टेकी गोरखानाथबाबाको मन्दिरमा मुख मात्रै देखाएर पृथ्वीनारायण शाहको गद्दी आखी झ्यालबाट चिहाउदा एकछिन भएपनि सास फेर्ने मौका पाउथ्यौं। हनुमानथानलाई दर्शन गरेर सितापाईलाबाटै भएभरका सबै देबि देवतालाई एकैपटक ढोग्दै तल झर्ने हातार गर्नुपर्थ्यो रेस जित्नको लागि। बजारदेखि नै एकनासले मिलाएर लगाएको ढुङ्गे सिँडीको खुड्किलो फट्किदै, हेलीप्याडलाई आफै हेलिकप्टर जस्तो गरि फनक्क घुमेर, बत्तिदै राम शाहको भारदारी सभा र न्याय दिनको लागि बनाएको चौतारोमा एकैछिन सुस्ताउथ्यौँ। चौतारीमा पलेटी कसेर बसेका रामशाहको काखमा बस्दा देखिने तल्लो बस्तिमा बिसे नगर्चीको घर खोज्दै फेरि सुरु हुन्थ्यो घर फर्कने हाम्रो तुफान एक्स्प्रेस।

मूलबाटोमा पुगेपछि भर्खरै उक्लदै गरेकालाई ‘बासी भात खाएर पो यस बेला भाको’ भन्दै व्यङ्ग्य हान्दै खुरुखुरु सिढी झर्दा कहिले काहीँ त हुत्तिएर झन्डै गुल्टुङ्ग गुल्टुङ्ग खेलिन्थ्यो । सबैदिन हामी नै पहिले पुग्थ्यौं भन्ने थिएन, कहिलेकाहीँ हामी उक्लदै गर्दा अरु फर्कदै हुन्थे। त्यो दिन, हामीलाई नि त्यहि बासीभातको झटारो आउथ्यो। हामी पनि के कम, रेडिमेड जवाफ हुन्थ्यो ‘बासीभात खाएर आ’को भए त तिमीहरु जस्तै फर्कदै हुन्थ्यौ नि, हामी त साजीभात पकाएर खाएर आ’को भएर पो ढिला भा’को त’। हामीलाई जसरी पनि जित्नु न थियो, सत्य जे सुकै होस्।

घर आईपुग्दा भात पाक्दै हुन्थ्यो, कप्लाकुप्लु भात खायो अनि साथी सबै जम्मा भएर दशैको लुगाबारेमा ठुलैछलफल शुरु हुन्थ्यो। आफुलाई के किन्ने मन छ, घरमा के किनिदिने हो त्यसैमा चासो हुन्थ्यो हामीलाई। 

घर घरबाट गरम मसला (दशैंमसला) खलमा ठोकेको ढङढङ आबाज आउथ्यो। त्यहि तालमा हामी पनि जस्को घरमा पिङ छ त्यहि जम्मा भएर मच्चिन्थ्यौ। 

फुलपातीको दिन हाम्रो लागि अझ बिशेष हुन्थ्यो, विहानमा चाडै उठ्ने हतार पनि कम हुन्थ्यो, त्यसदिन गोरखकाली मन्दिरमा फुलपाती बढाईँ दिउसो हुने भएकोले हामी पनि दिउसै जान्थ्यौं। जान नपाएको बर्ष भने घरको छतबाटै ठाडो घाँटी लगाएर माथी डाडामा हेरिरहन्थ्यौं। सतिपिपलबाट शुरु भएको कमिलाको ताँतीजस्तै लामबद्द मानिसहरुको लस्करले बोकेको फूलपाती रामशाहको चौतारी हुदै दरबार तिर उक्लदै गरेको हेर्नपाउदा हामीलाई अति नै रमाईलो लाग्थ्यो। 

पन्चेबाजा र नगराको मधुरो आबाज पनि राम शाहको चौतारीनिर पुगेपछि बन्द हुथ्यो। फूलपाती बढाँई कुनै पनि छोप्राकी सुन्नु हुदैन भनेर बाजा बजाउन हुदैन भन्ने प्रचलन थियो। कसैकसैले चाँहि सल्यानटारको भुतले देख्न भनेर बाजा नबजाएको भन्थे। अझ कतिपय त राम शाह स्वयम् फुलपाती हेर्न आउने हुदा गद्दी खाली हुने भएकोले शत्रुले हमला गर्छन कि भन्ने डरले नबजाएको भन्थे। 

फुलपाती हेर्न गएको बर्ष भने हामी प्राय रामशाहको चौतारीको डिलबाट हेर्ने गरिन्थ्यो। ठूलो झल्लरी छाता ओडाएर डोलेहरुले बोक्थे, चिटिक्क परेर सजिएका केही महिलाहरु पनि हुन्थे। उनीहरु कोहि चमर हम्किदै हुन्थे, कोहि कलश बोकेका, अति सुन्दर देखिन्थ्ये। यी मान्छेहरु काठमाडौबाट फुलपाती लिन आएका रे, हरेक बर्ष गोरखाबाट काठमाडौं फुलपाती लाने गरिदो रहेछ। मनमा जिज्ञासा आउथ्यो, कति दिन लाग्छ होला काठमाडौ पुग्न? तर अचम्म लाग्थ्यो साँझ टिभीको समाचारमा गोरखाबाट ल्याएको फुलपाती दशै घरमा भित्राइयो भनेर हेर्दा। कसरी होला है यति छिटो काठमाडौं पुगेको भन्ने मनमा आउथ्यो। 

महाअष्टमीको दिन गोरखकालीमा बिशेष पुजा हुन्थ्यो, कालरात्री मनाइन्थ्यो, पशुबलि दिइन्थ्यो। हामी स्काउटबाट स्वयमसेवक भएर जान्थ्यौ, बोका डोराएर बसेकालाइ लाइन मिलाउनु र पालो मिच्न नदिनु हाम्रो काम हुन्थ्यो। अरु काम त रमाइलो नै लाग्यो तर बोकाको प्या-प्या आबाज र कालीदेवीको मन्दिरबाट रगतको खोलो बग्दा मन नमिठो हुन्थ्यो । 

महानवमीको दिन घरमा बिशेष पुजा हुन्थ्यो, बुबाको लामो पाठ पछि बलि दिइन्थ्यो, अनि बिस्तारै घर घरबाट नवमीको दिन देखि खसी बोकाको प्या-प्याको आबाज घरको धुरिबाट बासनामा बदलिन्थे। 

बढादशैंको दशौ दिन, टिकाको दिन त भ्याइ-नभ्याइ हुन्थ्यो। टिकाको तयारी, टीका थाप्न आउनेहरुलाई खाजाको चटारो, मामाघर जाने हानथाप, अरु बेला वास्ता नलाग्ने इष्टमित्र आफन्त पनि प्रिय लाग्थे । टिकाको दिन देखि पुर्णिामाको दिनसम्म टीका थाप्न जाने र आउनेको चहलपहल रहिरहन्थ्यो । खुब रमाइलो हुन्थ्यो, दशैंमा नयाँ लुगा लगाउन, पिङ खेल्न। अझै रमाईलो त कस्को कति दक्षिणा भएको छ, हिसाब गर्दा हुन्थ्यो। अरुको भन्दा आफ्नो धेरै दक्षिणा रहेछ बने त आनन्द सीमै हुदैनथ्यो। 

आजकाल सोच्ने गर्छु समय र स्थान सँगै मेरो दशै बदलिएको छ। मेरो जन्मभुमिको दशै पनि कतै मेरो दशै जस्तै बदलिएको होला कि उस्तै होला? 

आजकालका भाइबहिनीहरु हामी जस्तै आँखा मिच्दै दरबार जान्छन् कि जादैनन् होला? सखारै कालिकादेवीलाई सारेको हेर्न जान्छन् कि जादैनन् होला? त्यो बासी भात र साजी भातको व्यङ्ग्य अझै चल्छ कि चल्दैन होला? 

त्यो ढुङ्गा अझै सुसाउछ कि सुसाउदैन होला? हामीले जस्तै तछाडमछाड गर्दै फुलपाती हेर्न कुद्छन् कि कुद्दैनन् होला? 

समय बलदिएको छ, तर स्थान त उहीँ हो ...... जान त जान्छन् होला नि आजकलका केटाकेटीहरु हातमा मोबाइल बोकेर सेल्फि हान्दै .... ठाडै सिडी कस्ले उक्लियोस भनेर सरररर बाइकमा जान्छन् होला... हामीले जस्तै छतमा बसेर फुलपाती हेर्ने समयमा मस्त च्याटमा भुल्छन् होला....

स्थान उही भए पनि, बालपन उस्तै भए, पनि दशैं समय र प्रबिधि सँगै बदलिदैछ। हिजोको दशैं हाम्रो थियो, रमाईलो थियो। आजकलको दशैं त हामीलाई दशैं नै लाग्दैन, भोलि झन कस्तो हुने हो .....

कठमाडौं २०७७, महानवमी

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.