चिन्न नसकेको माया : सविता बस्नेत दानी - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 18 October 2020

चिन्न नसकेको माया : सविता बस्नेत दानी

 कथा

चितवन तिर जाँदै थिँए काम बिशेषले एक्लै बसमा, गल्छि कटेपछि बस बिग्रियो, बनाउन टाइम लाग्ने भयो। बसमा बस्दा-बस्दा अल्छी लाग्यो। ह्या बरु अर्कै बसमा जान्छु भने सोचाई आयो, उसै पनि यो बस त्यति आरामदायी नि थिएन। बस बाट आफ्नो सानो ब्याग लिएर झरे अनि अर्को बस कुर्न थाले। ३/४ बटा बस गए, रोक्ने इशारा दिँए तर रोकिएन। त्यतिकैमा एउटा कार मेरो नजिक आएर रोकियो । म अलि सजक भँए, कालो सिसा बिस्तारै खुल्यो। 

“अरे तिमी!” मेरो मुखबाट एक्कासी निस्कियो। कारमा मेरो पुरानो मित्र थियो मनोज, मेरो साथि धेरै पुरानो साथी, धेरैपछि आज भेट भयो। 

“कता? कसरी यहाँ?” मलाई चिन्न त चिनेउ नि उसले एकै सासमा भन्यो। 

“चिने, चिने,” भने मैले । 

“हेर न, म चितवन जाँदै थिए एउटा टेनिङको लागि बस बिग्रियो बन्न टाइम लाग्ने भयो अनि अर्को बस खोज्दै छु।” 

“ए हो, म पनि त्यतै जाँदै छु जाउ न त सँगै।” 

मलाई त के चाहियो, बसको त्यो पट्यार लाग्दो एक्लो यात्रा भन्दा त, पुरानो साथीसँगको यात्रा रमाइलो होला भनेर बसे उसको कारमा । 

हामी बिस्तारै अघि बढ्दै गयौ, पुराना साथीहरूको बारेमा कुरा गर्दै, पुराना यादहरु ताजा गर्दै। करिब २२ बर्ष भन्दा बढि भएछ हामीले एक अर्कालाई प्रत्यक्ष रूपमा नभेटेको, नदेखेको । फेसबुकमा भने साथी छौ हामीहरु, त्यसैले लामो समय पछि पनि सजिलै चिन्न सक्यौ एक अर्कालाइ । उ पहिलेको भन्दा अलि मोटाएछ। कपाल पनि तिलचामल भएछ। हुन त म पनि पहिले जस्ती थिँए र पहिलेको ४० केजीको पातलो शरीर, अहिले ६० केजीको मोटो भएको थियो, त्यसमाथि कलेज पढ्न थालेका दुई सन्तानकी आमा । त्यो बेलाको अल्लारे उमेरका हामी, एउटै क्लासमा पढ्थ्यौ, कति रमाइला थिए ती दिन, न कुनै जिम्मेवारी, न कुनै चिन्ता। हुन त हामी आफुलाई ठूलो चिन्ता छ जस्तो लाग्थ्यो। घरबाट प्रसस्त पकेट खर्च नपाएको पिर, भनेको ठाउँमा जान घरबाट स्वीकृति नपाएको पिर, आफुलाई मन परेको मान्छेले आफुलाई नहेरेको पिर, सम्झदा नि हासो लाग्छ अहिले। त्यस्ता वकवास खाले पिर थिए हाम्रा । 

“अनि सुनाउ तिम्रो अरु के छ?” मनोजक‍ो प्रश्नले झस्किए। 

हामी केही छिन को भलाकुसारी पछि दुबै चुप लागेका थियौ। सन्चो बिसन्चो, केही कामका कुरा पछि बोल्ने बिषय नै पाएनौ, कहिले काहीँ फेसबुकमा पोष्टाएको फोटोहरुमा लाईक ठोक्ने भन्दा अरु बढि सम्पर्क थिएन हामीमा। 

"ठिकै छ" मैले जवाफ दिए। 

"अनि किन त अमेरीका छोडि छौ?" उसले अलि व्यङ्ग्यात्मक शैलिमा सोध्यो। 

"बस्न मन लागेन, तर पुरै छोडेकि छैन, दुबै छ‍ोरी र उहाँ उतै हुनुहुन्छ । म कहिले यता कहिले उता बस्छु । एउटा सामाजिक सस्थामा आबद्ध छु, उताबाट डोनेसन ल्याएर यता काम गर्दैछु। अब २/४ महिना पछि जान्छु, केहि समयको लागि।” मेरो स्प्रष्टिकरण थियो। 

"तिमीलाई अमेरिका बस्न मन नलागेको? अचम्मै भएछ त अमेरिका जान भनेसी त तिमी जे पनि गर्न तयार थियौ त।" उसको प्रश्न सुनेर म चुपचाप नै बसि रहे, हासीमात्र रँहे। 

"मलाई निम्ता नै नदिइ विहे गर्यौ है तिमीले?" 

"पठाएको थिए त कवितासँग, तिमी किन नआको? मलाई रिस उठेको थियो, कता गाउँ गाको रे होइन आफ्नो मिल्ने साथिको बिहेमा नि नआउने?" मेरो घुर्की थियो उ सँग। "तिमीले चाहिँ किन नबोलाको नि तिम्रो बिहेमा?" 

उ हाँसि मात्रै रह्यो। यस्तै यस्तै कुरा गर्दै यात्रा अगाडि बढ्दै थियो, बाटोमा लामो जाम भेटियो। 

"उफ् फेरि जाम! हैरान बनाउछ यो जामले पनि मलाई आज अलि छिट्टै पुग्नु थियो चितवन" उ एक्लै बर्बराउछ। 

घडि हेर्छु ३ बजेको रहेछ। म पनि छिट्टै पुग्छु, पुगेर भोलिको ट्रेनिङको तयारी गर्छु भनेरै समयमै निस्केको थिए घरबाट त, यति बेला पुगि सक्नु पर्ने थियो। बारम्बार फोन आइ राखेको छ ममिको । भ‍ोलि विहानै फ्लाइटमा जाउ भन्दा नमानेर म आजै बसमा हिडेको थिए। ४ घण्टामा पुगि हालिन्छ आजै गएर त्यहाँको वातावरण पनि बुझ्न पनि हुन्छ भनी म हिडेकी थिए। छिट्टै पुगिन्छ भनेर खानेकुरा पनि केहि बोकेको थिइन। भोक लागि रहेको थियो। मेरो मुखबाट निस्कि हाल्यो "भोक लाग्यो नि त!" उ हाँस्य‍ो। 

"किन हाँसेक‍ो?" म रिसाए। 

"तिम्रो नाक खुम्च्यएर भोक लाग्यो भन्ने बानी अहिले नि उस्तै रहेछ, अनि रिस, रिस पनि अझै नाककै टुप्पोमा"। यति भन्दै उसले पछाडि सिटबाट एउटा ब्याग तान्न भन्यो । म अलि आँखा तर्दै पछाडिको सिटबाट ब्याग ताने, र खोल्न भन्यो। खोले, म हाँसे, उसको ब्यागमा वाइवाइ चाउचाउ रहेछ। 

उ पनि हास्यो अनि भन्यो "खाउ तिमीलाई त खुव मन पर्छ नि" 

म अचम्मै परे "तिम्रो ब्यागमा वाइवाइ? तिमीलाई त पटक्कै मन पर्दैन त चाउचाउ कहिलेबाट खान थाल्यौ?" 

उ हास्यो मात्रै "खाउ न"। 

"भनन" उसलाई जोड दिए । 

"तिमी सँग छुटे देखी"। 

चाउचाउको प्याकेट खोलेर मसला मिसाएर मुखमा हाल्दै थिए म रोकिए। 

"ह्वाट?" उ हाँस्यो। 

"खाउ खाउ तिम्रो फेवरेट चाउचाउ ।" 

बिस्तारै जाम खुल्दै थियो । हामी पनि कछुवा घस्रिए जस्तै अघि बढ्दै थियौं। दुबै जना चाउचाउ खादै थियौ। उसले पनि मिठो गरि खादै थियो चाउचाउ। मलाई भने चाउचाउ मन पर्न छाडिसकेको थियो, यो २२ बर्षमा स्वाद चेन्ज भै सकेको थियो। भोक लागेर मात्रै हो नत्र चाउचाउ नखाको बर्षौ भैसकेको थियो। 

"याद छ तिमीलाई कलेजको चौरमा चाउचाउ साधेर खादा म पिरोले कति आत्तेको थिए। हैट...।" 

" हाहा! तिमी त तिमी भै हाल्यौ नि क्याप्सिकमले नि पिरो हुने मान्छे, आजकाल नि त्यस्तै छौ?” मेरो प्रश्न थियो उस्को लागि। 

"होइन नि आजकाल त खान सक्छु, मेरी बुढि पनि तिमी जस्तै पिरी परिछिन के गर्नु" भन्दै हास्दै थियो उ। 

केही अतितका कुरा केही बर्तमानका, कुरा गर्दै अगाडि बढ्दै थियौं । 

"तिमीले त जागर लगाएर खाइनौ त भोक लाग्यो भनेको होइन त्यसमाथि वाइवाइ?" 

"अँ... आजकाल त्यति मन पर्दैन, बर्षौ पछि खा’को आज, तिमीलाई पिरो मन पर्न थाले जस्तै मलाई वाइवाइ मन पर्न छाड्यो।" उसलाई जिस्काउने पाराले भने। 

उ हास्यो मात्रै। मलेखु पुगिसकेछौ, उसले एउटा ह‍ोटल अघि गाडि पार्क गर्दा पो याद गरे। 

"अरे! हामी त मलेखु आइ पुगिसकेछौ।” म झस्किए झै गरेँ। 

"हो त देख्यौ, मनले चाहेको साथ पाउदा, सहयात्री पाउँदा यात्रा कति सहज छोटो लाग्छ।" 

म हेरि रहे उसको अनुहारमा केही बोलिन। 

"ल खाजा खाउ, हिड तिमिले चाउचाउ नि खाइनौ भोक लाग्यो होला"। 

म उसको पछि पछि लागे आज्ञाकारी बच्चाले जस्तै । "के खान्छौ?" म झसङ्ग भए। 

कति खेर टेबलमा बसिसकेछु यादै भएन। केबल उसले अघि मनले चाहेको सहयात्री पाउदा यात्रा सहज हुन्छ भनेको कुरा मात्रै दिमाग घुमिरह्यो। साच्चै हो त मनले चाहेको सहयात्री पाउँदा यात्रा सहज हुन्छ नी। 

“ओइ, के भयो तिमीलाई किन नबोलेकी?" म फेरि झस्के "केहि होइन" 

“अनि भनन त के खान्छौ?" 

"जे भए नि हुन्छ, चिल्लो पिरो कम भएको" 

उ हास्यो "के रे चिल्लो पिरो कम रे तिमी त्यहि मनु हौ नी? कलेजको क्यान्टिनमा छुट्टै खुर्सानी थप्न लगाई-लगाई आलुचप खाने?" 

"अँ....." यति मात्रै भने। उसले खाजा अडर्र गर्यो। खायौ। 

"अब जाउ, एकछिन तल बगरमा जाम न" उसले अचम्म मानेर हेर्यो अनि हस भन्यो। होटल को नजिकै थियो बगर, गएर ढुङ्गामा बसे .. चुपचाप । 

"के भयो मनु, तिमिलाई?" 

"केही होइन" 

"भन न" 

मुन्टो मात्रै हल्लाईरँहे केही भाको छैन भनी। उ मेरो छेउमै आएर बस्यो मेरो हात समाउदै भन्यो, "मनु, तिमी खुसि त छौ नी, तिम्रो जिवनमा?, तिम्रो बैबाहिक जिवनमा?" 

अनायसै मेरा आखाबाट आसु बगेछन् थाहा नै पाइन । उ झन मेरो नजिक सर्दै "मनु, भन न के भयो म तिम्रो आखामा आँसु देख्न सक्दिन, कहिले पनि सक्दिन के भयो तिमिलाई?" 

"केही होइन अघि तिमीले भन्थ्यौ नि मनले चाहेको सहयात्री पाए यात्रा सहज हुन्छ भनेर।" मैले कुरा निकाल्न थाले। 

"अनि हो त, साचो हो त यो कुरा, के भयो मनु, के तिमी तिम्रो बैबाहिक जिवनमा खुसि छैनौ?” 

"सायद सहयात्री मनले चाहेको परेन, त्यति बेला मनको सुन्न सकिन, माया गर्ने मान्छे चिन्न सकिन, केवल समाज, बाबाआमाको इच्छा हेरे, अमेरिकी जिवनशैलिको म‍ोह थियो, सम्पत्ति नै सबै भन्दा ठुलो खुसि हो जस्तो लाग्यो। तर होइन रहेछ, बल्ल बझ्दैछु।" मैले यति भन्दै गर्दा उस पनि भावुक भएको देखिन्थ्यो। 

लरबरिएको आबाजमा भन्दै थियो, "तिमिले त्यो बेलाको मेरो मायालाई हावामा उडाइ दियौ, मेरो साच्चो माया चिन्न सकिनौ, म कति तड्पिए, पागल जस्तो भएको थिए । तिमिले मेरो भावना बुझ्न सकिनौ मनु, ..... आज सम्म पनि मेरो मुटुमा तिमी नै धड्कन्छौ, तिमी सङ्ग रुप रंग मिल्दो कोहि देख्दा फर्कि फर्कि हेर्छु तिमिलाइ सम्झन्छु गएर बोलौ बोलौ लाग्छ, अझ पनि तिम्रो त्यो हसिलो मुहार, मिठो हासो मुटुमै गडेको छ । तिमीलाई मन पर्ने सबै कुरा मलाई मन पर्छ। एक्लै यात्रामा हिड्दा वाइवाइको प्याकेट लिएर हिड्छु पिरो खादा तिमीलाई झलझलि सम्झन्छु। तर, तिमीलाई त बिहे गरेर अमेरिका जानू थियो। कति ठुला थिए तिम्रा सपना। तिम्रा ती सपनाको महल जति जति खडा हुँदै थियो त्यति नै मेरो सपना पनि भासिदै थियो। कति चोटि मैले तिमीलाई मेरो मनको कुरा भन्न खोजे तर तिमी..... हावा मै उडाइ दिन्थ्यौ। अखिर तिमीले एक दिन मेरो हातमा बिहेको निम्ता कार्ड थमाइ छाड्यौ है, त्यो पनि अरुकै हातबाट। म धेरै रोएँ, अझै याद छ त्यो दिन माघको १४ गते, तिम्रो बिहे एक हप्ता अघि थियो। त्यो दिन काट्न सार्है गार्‍हो भाको थियो, सार्है कष्टकरपूर्ण थियो। म गाउँ गाको थिइन, यहि थिए। घर गएर बाबाआमालाई त्यो पीडा देखाउन सक्दैन थिए। लुकाउन सक्ने अबस्थामा नि थिइन।” एकै स्वासमा उसले आफ्नो कथा सुनाएको थियो। 

लामो सास तान्दै भन्न थाल्यो, “बिहे गरेको १ महिनामा नै तिमी अमेरीका गयौ रे, बिस्तारै समालिए, काम खोजेर अलमलिन थाँले। जागिर र पढाइमा मन भुलाउन खोजे, तिमीलाई भुलाउने कोसिस गरे। केहि समयपछि बिहे पनि गरे तर पनि तिम्रो छवि, तिमी प्रतिको प्रेम यो मुटुबाट हटाउनै सकिन।" 

‌उसले आफ्नो विगत सुनाउदै गर्दा हाम्रो आखाबाट आशुको भेल बग्दै थियो। मैले आफुलाई समाल्नै सकिन। 

बर्षौ देखि मनमा रहेको पश्चातापले पोलेको मन उसको सामु पोखेर उ सँगै बेर्सरी रोए। बिहे गरेर अमेरिका पुगे देखि नै मैले जिवनमा के गुमाए भनेर महशुस भएको थियो। 

मनोजको प्रेम र आफ्नो श्रीमानको प्रेम विचमा धेरै अन्तर पाएको थिए। एकदम औपचारिक थियो उहाँको माया। न कुनै सम्मान न कदर। कहिले काहीँ मनोजलाई सम्झेर एक्लै डाको छोडेर रुन्थे, उसले कति कियर गर्थ्यो मेरो सानो सानो कुराको। मलाई के मन पर्छ के मन पर्दैन सब ख्याल गर्थ्यो, धेरै पटक उसले मलाई अप्रत्यक्ष रुपमा प्रेम प्रस्ताव राखेको थियो तर मैले उसलाई उडाइ दिन्थे। उ प्रति मेरो भावना के थियो, आफैलाई थाहा थिएन। अमेरिका गएपछि उसको खुव याद आउथ्यो। त्योबेला, अहिले जस्तो सम्पर्क गर्न पनि सहज थिएन। इन्टरनेट भर्खर भर्खर प्रचलनमा थियो, अहिले जस्तो सामाजिक संजालको प्रचलन पनि थिएन। त्यस माथि उसको मायालाई मैले बार बार लत्याएकी थिए। 

भाषा, सस्कृतिमा फरकपन, उहाँ को र मेरो रहन सहनमा भिन्नता, आदिले मलाई झनझन गार्‍हो भाको थियो। उहाँ र उहाँको परिवारलाई नेपाली केटी बैधानिक रुपमा श्रीमति चाहिएको थियो, जुन म थिए। 

एउटी श्रीमतीको नाताले पाउनु पर्ने अधिकार सबै पाएकि थिए। बर्षहरु बित्दै जादा हाम्रा २ सन्तान नि भए तर मैले खोजेको जस्तो, मेरो मनले चाहे जस्तो, आत्मिय प्रेम कहिले पाइन। सन्चो नहुदा घरमा डाक्टर त आइ पुग्थ्यो, औषधि आइपुग्थ्यो तर श्रीमानका मायालु हात मेरो शिर छाम्न कहिले आएन। गर्भ अबस्थामा स्वास्थ्य जाँच, पोषिलो खाना आरामका सबै साधन आए, तर ती हत्केलाले मेरो पेटमा कहिले सुमसुमाइएन। 

जीवनमा सब थोक हुदा हुँदै पनि एक किसिमको खालिपन रहिरह्यो, त्यसैले त अघि मनोजले यात्रा र सहयात्रीको कुरा गर्दा म भाबुक भए। मैले पनि मनोजलाई कहिले भुल्न सकिन मेरा हर पिडामा उसलाई सम्झिए, आज उ मसँग भएको भए..... यो कुरा सधै मनमा आउथ्यो। यसै गरि धेरै बर्षहरु बिते। २ बर्ष भयो नेपाल फर्किएको । बिचमा पनि आएको थिए २/३ पल्ट तर त्यति बेला मनोजलाई भेट्ने, खोज्नै मौका नै मिलेन। 

हामी दुबै एकछिन खुव रोयौ। बिस्तारै समालियौ, मैले मनोज सँग माफि मागे, उसले मेरो हात समातेर छातिमा राख्दै भन्यो "मनु, जे भयो भयो छोड, तिमीले म सँग माफि माग्नु पर्दैन, आज मेरो प्रेमको जित भएको छ। आज मलाई थाहा भयो प्राप्ति मात्रै प्रेम होइन रहेछ के थाहा हामी सँगै भाको भए कुनै समस्या पो आउथ्यो कि सम्बन्धमा, एक अर्कालाई फुटेको आखाँले देख्न नसक्ने पो भैइन्थ्यो कि, टाढै भएर पनि एक अर्कालाई प्रेम गरि राख्यौ उहीँ नै ठुलो कुरा हो। तिमीले मेरो प्रेमलाई चिनेयौ मेरो लागि यहि काफि छ, तिम्रो लागि मेरो प्रेम हिजो थियो आज छ, अनन्तकाल सम्म नि रहि रहने छ।” 

उसको आँखामा आज पनि मेरो लागि उस्तै प्रेम छल्किदै थियो, उसका नयनमा एक किसिमको चमक देख्दै थिए। कति निस्वार्थ प्रेम छल्कदै थियो उसको आँखामा.... 

म उसको आँखामा एकोहोरो हेरि रहेको थिए। फोनको घण्टीले झस्किए ममिको रहेछ "पुग्यौ?" 

‌ "छैन जाममा फसेको छु" 

‌"भन्दै थिए त फ्लाइटबाट जाउ भनेर, ‌आफू पनि दुख पाउने अरुलाई नि टेन्सन दिने" एकोहोरो भुत्भुताउदै हुनुहुन्थ्यो उहाँ। 

मैले फोनमा बोल्दै मनोजलाई जाम भन्दै इसारा गरे। हामी गाडिमा बसेर बिस्तारै चितवन तिर लाग्यौ । बाटोमा बोल्ने केही कुरा पाएनौ। एक किसिमको मौनता छाइरह्यो पुरै यात्रामा तर पनि यो सुन्यताले धेरै कुरा भन्दै थियो। मनको हल्का भएको थियो। बोल्ने कुनै शब्द थिएन र पनि हामी दुबैको आँखाले धेरै कुरा भन्दै थियो। बेला बेलामा एक अर्कालाई हेर्दै थियौ। बेलुकी अबेर पुगियो चितवन, त्यस पछि दुबै आ-आफ्नो गन्तव्य तिर लाग्यौं। 

रात भरि सुत्न सकिन ... मन बेचैन भइ रह्यो उ अझै पनि मलाई प्रेम गर्छ उसको मुटुमा अझै पनि धड्कन्छु यस कुराले खुसि हौ कि उसले जिवनमा मेरो कारणले भोगेका पीडा सम्झेर दुखि बनु ...दोधारमै कट्यो रात, सायद आज उ पनि सुत्न सकेन होला, उसलाई झन बढि पीडा भयो होला...। अहिले सम्म त उसले मलाई जति माया गरे पनि उसको प्रेम नबुझ्ने, नचिन्ने निष्ठुरी भनेर चित्त बुझाउथ्यो होला अब त मैले पनि उसलाई प्रेम गर्थे उसको अभाब मेरो जिवनमा खड्कन्थ्यो भन्ने थाहा पाएपछि त झन कति पीडा भयो होला ...। आफैलाई गाली गरे, किन मैले आफ्नो भावना लुकाउन सकिन, मैले उसलाई अझ पीडा माथि पीडा दिए...। 

मैले बिलासी जिवनको लोभमा आफ्नो प्रेम गुमाए, उसको प्रेम फुल्नै नपाई निमोठे। उसको मायालु मनलाई छिया छिया पारे... यसमा उसको के दोष थियो र? बिचरो जिवनमा समालिदै थियो फेरी मैले उसलाई पीडा दिए...... झन गहिरो पीडा सायद। अब झन उसलाई कठिन हुन सक्छ.... उफ्फ..... मैले किन यस्तो गरे? किन उसको खाटो बसेको घाउ कोट्याए..... किन..? , प्रश्नले मेरो माथिङ्गल रन्थनायो। मेरो जिन्दगीमा आएको यो एकदिन, अर्को चोट थपेर गयो, बिसेक भएको घाउ कोट्याएर गयो। 

म एकोहोरो टोलाइरहेको थिँए, फोनको घण्टी बज्न थाल्यो, कलिङ्ग मनोज ..... भनेर म एक टक फोनलाई हेरि रहे हेरिरहे.............. 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.