प्रधानमन्त्री ओली र कर्णाली प्रदेशका पदाधिकारीवीच छलफल - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 17 October 2020

प्रधानमन्त्री ओली र कर्णाली प्रदेशका पदाधिकारीवीच छलफल


काठमाडौं, १ कात्तिक :
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीसँग कर्णाली प्रदेशका पदाधिकारीहरुले छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका विषयमा विहान ११ देखि अध्यक्षसँग पदाधिकारीहरुको छलफल भएको हो ।

आजकाे छलफलमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने बैठकमा उपस्थित हुनुभएन । कर्णालीका पदाधिकारीहरुसँग संयुक्तरुपमा छलफल गर्न प्रधानमन्त्री तथा अध्यक्ष ओलीले अध्यक्ष प्रचण्डलाई बैठकका लागि खवर गर्नुभएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताउनुभयो । संयुक्त बैठकमा आफू सहभागी नहुने खवर अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई पठाउनुभएको उहाँले जानकारी दिनुभयो ।

यसअघि कर्णालीका पदाधिकारीहरुसँग छुट्टाछुट्टै छलफल अध्यक्ष प्रचण्डले गरिसक्नुभएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पार्टीकै सांसदहरुले दर्ता गर्नुभएपछि दुई पक्षबीच विवाद चर्केको थियो । सोही विवाद समाधान गर्न अध्यक्षद्वयले कर्णालीका पदाधिकारीहरुलाई छलफलका लागि काठमाडौं बोलाउनुभएको थियो । कर्णाली प्रदेशमा नेकपा सांसदहरु दुई खेमामा विभाजित छन् ।

सांसद यमलाल कँडेलले प्रधानमन्त्रीसँगको छलफल सकारात्मक भएको बताउनुभयो । प्रधानमन्त्रीसहित महासचिव विष्णुप्रसाद पौडेलसँग आज छलफल भएको उहाँले जानकारी दिनुभयो । पार्टीले गर्ने निर्णय सबैलाई मान्य हुने तर त्यो भन्दा अघि आफूहरुले धारणा राख्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । धारणा राख्नेक्रम नसकिएको पनि उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले पनि पार्टीले गर्ने निर्णय सबैले मान्नुपर्ने आग्रह गर्नुभएको बुझिएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.