मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक: कार्तिक ७ गतेबाट क्लिन फिड लागु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 22 October 2020

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक: कार्तिक ७ गतेबाट क्लिन फिड लागु


काठमाडौँ,  ६ कात्तिक :
नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले भोलि देखि विज्ञापन रहित सामग्री मात्रै प्रसारण गर्नुपर्ने भएको छ ।

मन्त्रिपरिषद्को यही कार्तिक ४ गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले भोलिदेखि सबै विदेशी टेलिभिजन च्यानलहरूले अनिवार्य विज्ञापन रहित प्रसारण (क्लिन फिड) लागु गर्नुपर्ने बताउनुभयो ।

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले विदेशी च्यानलहरूसँग डाउन लिङ्क सम्झौता गरिसकेका संस्थाहरूलाई तयारीका लागि दिएको एक वर्षको समय अवधि समेत भोलिबाट समाप्त हुने भएकाले अब सबै च्यानलले विज्ञापन रहित प्रसारण गर्नुपर्ने बताउनुभयो ।

मन्त्री गुरुङले नेपाली प्रसारण माध्यमहरूले अव देखि विदेशी विज्ञापनलाई डबिङ गरी प्रसारण गर्न समेत नपाउने बताउनुभयो ।

मन्त्री गुरुङले पत्रकार सम्मेलनमा दिनुभएको जानकारी अनुसार मन्त्रिपरिषद् बैठकले विश्व बैकबाट बजेटरी सहायताको रूपमा प्राप्त हुने दुई सय मिलियन अमेरिकी डलर अर्थात् करिब २४ अर्व रूपैया बरावरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

यसै गरी बैठकले नेपाली श्रमिक उपलब्ध नभएको अवस्थामा मात्रै उत्पादनशील उद्योगहरूलाई विदेशी कामदार राख्न अनुमति दिने, नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिको कार्यकाल एक वर्ष थप गर्ने तथा अन्तराष्ट्रिय श्रम सङ्गठनको विधान १९८६ अनुमोदनका लागि सङ्घीय संसदमा पेस गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले न्यूनतम समर्थन मूल्यमा धान खरिद तथा व्यवस्थापन गर्ने निर्देशिका २०७७ स्वीकृत गर्ने, विद्युत् नियमन आयोगको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने, परराष्ट्र नीति २०७७ स्वीकृति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.