आज विश्व हात धुने दिवस, राष्ट्रपति भन्नुहुन्छ– हातको स्वच्छता हुनुपर्छ भन्ने सन्देश नागरिकसम्म पुर्‍याउनु अपरिहार्य - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 15 October 2020

आज विश्व हात धुने दिवस, राष्ट्रपति भन्नुहुन्छ– हातको स्वच्छता हुनुपर्छ भन्ने सन्देश नागरिकसम्म पुर्‍याउनु अपरिहार्य


काठमाडौं, २९ असाेज :
राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ को विस्तार र सङ्क्रमण रोक्न हातको स्वच्छता हुनुपर्छ भन्ने सन्देश नागरिकसम्म पुर्‍याउनु अपरिहार्य भएको बताउनुभएको छ ।

‘विश्व हात धुने दिवस’ (अक्टोबर १५) का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुँदा श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, सार्स जस्ता जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य अध्ययनले देखाएको उल्लेख गर्दै कोरोना भाइरसलाई निष्क्रिय बनाई सङ्क्रमणमा कमी ल्याउने महत्वपूर्ण औजारमध्ये हातको स्वच्छता पनि एक भएको हो भन्नुभएको छ ।

उहाँले सरसफाइ गुरूयोजना, पूर्ण सरसफाइ मार्गदर्शन, स्वास्थ्य र शिक्षासम्बन्धी नीतिगत व्यवस्था, खानेपानी र सरसफाइसम्बन्धी संवैधानिक व्यवस्था आदिले सफाइ र स्वच्छतालाई नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको जनाउनुभएको छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आएको छ । यस वर्ष ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैँ साथसाथ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

सन्देशमा भनिएको छ, “कोभिड–१९ बाट आफू बच्न र अरुलाई पनि बचाउन हातको स्वच्छतासम्बन्धी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक मार्गचित्र बनाई तीनै तहका सरकारले समन्वयात्मक कार्य गर्नुपर्ने आवश्यकता छ ।”

उहाँले घर, विद्यालय, स्वास्थ्य केन्द्र, कार्यालय, उद्योग, सार्वजनिकस्थल आदिमा साबुनपानीले हात धुने सुविधा, सोसम्बन्धी नौला र सिर्जनशील उपाय एवं प्रविधिको विकास र विस्तारमार्फत हातको स्वच्छतासम्बन्धी नियमित व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन पनि आह्वान गर्नुभएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.