बिबादको वीउ बन्दै बालुवा - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 7 September 2020

बिबादको वीउ बन्दै बालुवा

सिन्धुपाल्चोक, २२ भदौ : सिन्धुपाल्चोकका इन्द्रावती, सुनकोशी र ब्रम्हायणी नदी किनारा, हरेक बर्ष स्थानीय, बालुवा व्यापारी र सरकारी निकायबीचको बिबादको जड बन्ने गरेको छ ।

समुदायको स्वामित्व नहुने, ठूला ब्यापारीले सानालाई खोलामा पस्नै नदिन खोज्ने र सरकारी निकाय र सन्चार माध्यमहरुले क्रसर तथा स्थानीयले लुकिछिपि नदिजन्य पदार्थको उत्खनन तथा व्यापारमा तस्करी गरेको भन्ने कुरालाई बर्षै पिच्छे प्रचार प्रसार गरिरहने हुँदा बालुवा बिबादको बिउ बन्ने गरेको हो ।

“हामीले अनुमति माग्दा नदिने र क्रसरबाट किनेर ल्याएको बालुवा हामीले चालेर ग्राहकलाई बेच्दा पनि हामीलाइ नदी दोहन र बालुवा तस्करी गरेको आरोप लगाइन्छ” चेहेरेका स्थानीय चन्द्र माझीले गुनासो गर्नुभयो ।

आफ्नो जग्गाको सिमानामा निकालेको र क्रसरबाट बिल काटेर ल्याएको बालुवामा पनि सरकारी निकाय र सन्चार माध्यमहरुले अनावश्यक प्रचार प्रसार गरिदिने गर्दा आफुहरुलाई अन्याय भएको कोठेका सुनिल श्रेष्ठको भनाइ छ ।

ठूला व्यवसायीहरुले एक ठाउँमा दर्ता गरेको क्रसर अन्यत्र लगेर चलाएका छन , सडक अतिक्रमण तथा मापदण्ड बिपरित सञ्चालन गरेका छन, ठूलाका बिरुद्ध कोहि नबोल्ने तर आफुहरुलाई हरेक बर्ष दु:ख दिने गरेको साना व्यवसायीहरुको गुनासो छ ।

क्रसरबाट ल्याएको बालुवामा अबैध रुपमा उत्खनन गरेको बालुवा मिसाएर बेच्ने, रातिराति मेसिन प्रयोग गरी निषेधित अवधिमै पनि नदी दोहन गर्ने र राजस्व छल्ने गरेको पाइएकाले अनुगमन गर्नु परेको सरकारी निकायको भनाइ छ ।

यही शुक्रबार र शनिबार गरिएको अनुगमनमा मात्रै ३२ हजार ५ सय घन मिटर शंकास्पद बालुवा र ढुवानी गर्ने सवारी साधन जफत गरिएको जिल्ला समन्वय समितिको अनुमगन टोलिले जानकारी दिएको छ ।

यस बर्षको असारदेखि हालसम्मको अवधीमा १४ एक्साभेटर, २७ ट्रिपर, ४ मिनिट्रक २ ट्याक्टर तथा केही साना बोलेरो गाडीहरुलाई कार्वाही गरिएको र यसबाट करिव ४० लाख राजश्व संकलन भएको छ ।

यस बर्षको अनुगमन प्रतिबेदन आइनसकेको र प्रतिबेदनपछि आगामी नीति तय गरिने जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिनुभएको छ ।

सिन्धुुपाल्चोकमा निजी प्रयोजन र व्यापारिक उदेश्यका २६ क्रसर सञ्चालनमा छन । मध्य भोटेकोशी जलबिद्युतआयोजना र मध्य पहाडि लोकमार्गले भने आफ्नो प्रयोजनका लागि छुट्टै क्रसर राखेका छन ।

पछिल्ला दिनहरुमा क्रसर उद्योग दर्ता नभए पनि बालुवा धुने नाममा उद्योग दर्ता गर्ने र पछि क्रसरको रुपमा सञ्चालन गर्ने गरिएकोले कतिपय विवाद यसैबाट निस्कने गरेको छ ।

जिल्लाका मेलम्ची, इन्द्रावती, चौतारा , बलेफी , बाह्रबिसे र त्रिपुरा सुन्दरी लगायतका स्थानीय तहको महत्वपूर्ण आम्दानीको श्रोत नै नदीजन्य पदार्थ हुन ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.