लागुऔषधसहित धरानका डाक्टर पक्राउ - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 5 September 2020

लागुऔषधसहित धरानका डाक्टर पक्राउ

इटहरी, २० भदौ : भारतबाट लागूऔषध लिएर आउँदै गर्दा धरानका एक चिकित्सक पक्राउ परेका छन् । भारतबाट लागूऔषध लिएर आउँदै गर्दा धरान डेरा गरी बस्ने दन्त रोग विशेषज्ञ डा. सन्दीपकुमार साह विराटनगर महानगरपालिका–१७ स्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी)बाट पक्राउ परेका हुन् ।

धनुषाको जनकपुर उपमहानगरपालिका–११ घर भएका उनी आईसीपीको बाटो हुँदै भारतबाट को ९ प ८५३७ नम्बरको मोटरसाइकलमा आउँदै गर्दा विराटनगर भन्सारको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्दा लागुऔषध फेला परेको थियो ।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले मोटरसाइकलको लेगार्डमा झुन्ड्याइएको प्लाष्टिकको झोलामा लागुऔषध स्पास्मोप्रोक्सिभन २० ट्याब्लेट, नाइट्राजेपाम २० ट्याब्लेट र डाइलेक्स डीसी नौ बोतल फेला परेको बताउनुभयाे । साह नेपाल आउन प्रतिबन्ध लगाइएको आईसीपीको बाटो हुँदै जबरजस्ती छिर्ने प्रयास गरेपछि सशस्त्रको फन्दामा परेका हुन्।

लागुऔषधसहित पक्राउ परेका साहलाई बुझाइसकिएका कारण यस घटनाको अनवश्यक अनुसन्धान र कारबाही अघि बढाउने जिम्मा नेपाल प्रहरीको हुने सशस्त्रका एसपी पौडेलले बताउनुभयाे । उनीविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताउनुभयाे ।

सशस्त्र स्रोतका अनुसार डा. साहले आफूलाई धरानस्थित भारतीय राजदूतावासको ‘पेन्सन पेइङ अफिस’को कर्मचारीसमेत भएको बताएका छन् । म्याद सकिएको परिचयपत्र देखाउँदै उनले लागुऔषध बोकेर सहज रुपमा नेपाल–भारत ओहोरदोहोर गर्ने गरेको सशस्त्र प्रहरी स्रोतको दाबी छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.