सम्झनाको बलात्कारपछि हत्या : पोस्टमार्टम रिपोर्ट - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 27 September 2020

सम्झनाको बलात्कारपछि हत्या : पोस्टमार्टम रिपोर्ट


बझाङ, ११ असाेज : 
गत बुधबार मन्दिरभित्र मृत अवस्थामा भेटिएकी बालिका सम्झना कामीको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । जिल्ला अस्पताल बझाङले तयार गरेको पोस्टमार्टम प्रतिवेदनले बलात्कारपछि हत्या भएको पुष्टि गरेको हो ।

सम्झनाको मृत्यु भने कलेजो च्यातिएको कारणले भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । उनको कलेजोको दुई ठाउँमा ठुल्ठूला घाउ रहेको र त्यसैका कारण मृत्यु भएको रिपोर्टमा उल्लेख गरेको प्रहरी स्रोतले बतायो । कलेजोको चोट उनलाई हत्याराले हिर्काउँदा लागेको हुन सक्ने अनुमान गरिएको छ । जिल्ला अस्पताल बझाङले सम्झनाको पोस्टमार्टम रिपोर्ट शनिबार जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो ।

सम्झना हत्यासम्बन्धी थप प्रमाण जुटाउन भन्दै जिल्ला प्रहरी प्रमुख डीएसपी रूपक खड्का, प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्की र निमित्त जिल्ला न्यायाधिवक्ता सन्तोषकुमार कटुवालसहितको टोली पुनः घटनास्थल मस्टा गाउँपालिकाको खिकाला गएको छ । टोलीले शनिबार दिनभरि घटनास्थलको निरीक्षण र स्थानीयसँग सोधपुछ गरेको थियो । घटना भएको खबर आएलगत्तै बुधबारको राति नै खिकाला पुगेको प्रहरीको टोलीले बालिका घरबाट निस्कँदा बोकेको डोको, नाम्लो र हँसिया कसैले नछुनू भन्दै घटनास्थलमै छाडेर आएको थियो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी खड्काले आफ्ना सबै संयन्त्र परिचालन गरेर अनुसन्धानमा खटिएकाले अपराधीलाई कारबाही हुने कुरामा कुनै शंका नगर्न आग्रह गर्नुभयाे । प्रहरीका अनुसार गम्भीर ढंगले अनुसन्धान भइरहेकाे र अपराधीको निकै नजिक पुगिसकेकाले छिट्टै अपराधी सार्वजनिक हुनेछ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.