बागलुङ बाढी अपडेटः १७१ भौतिक संरचनामा क्षति - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 5 September 2020

बागलुङ बाढी अपडेटः १७१ भौतिक संरचनामा क्षति

बागलुङ, २० भदौ : बुधबार राति अविरल वर्षासँगै बागलुङको ढोरपाटन नगरपालिका भुजिखोलामा आएको बाढीका कारण मानवीय मात्रै होइन ठूलो मात्रमा भौतिक क्षति भएको छ । बाढीले घर, विद्यालय, जलविद्युत्, स्वास्थ्य संस्था, झोलुङ्गे पुललगायत १७१ वटा भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

बाढीका कारण हालसम्म १४ जनाको मृत्यु भइसकेको छ भने २४ अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । बाढीका कारण ढोरपाटन नगरपालिका–७, ८ र ९ नम्बर वडाका गाउँलाई उजाड बनाएको भुजीखोलाले सबैभन्दा बढी क्षति वडा नम्बर ९ मा पु¥याएको छ । मुख्यगरी भुजी खोला आसपासको फल्लेघर, सुपराङ, भुसुन्डे, सिदु, घट्टेबोट, सेरावाङ, दुनापढेरा, सुकुरर्दुङ, सप्राङ र लाखुरीबोटमा बढी क्षति भएको छ ।

ढोरपाटन नगरपालिका-९ देउरालीडाँडाबाट खसेको पहिरो खोलामा झर्दा बाढीमा परिणत भई बस्तीमा पसेको थियो । बाढीका कारण ढोरपाटन-९ मा जम्मा ७३ घर र ढोरपाटन-८ मा १० घरमा पूर्ण क्षति भएको छ भने ४८ घरमा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । पूर्ण तथा आंशिक रुपमा क्षति भएका घरबाट ५१८ जना विस्थापित भएका छन् ।

यस्तै १३१ घरसहित ११ लघु जलविद्युत्, एक स्वास्थ्य एकाइ, ११ झोलुङ्गे पुल, पाँच ढलान पुल, दुई विद्यालय र १० काठे पुल गरी १७१ भौतिक संरचनामा क्षति पुर्‍याएको ढोरपाटन नगरपालिकाले जनाएको छ । ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीका अनुसार अधिकांश संरचना पूर्णरुपमै ध्वस्त भएका छन् भने बुर्तिवाङ हुँदै ढोरपाटन जाने सडकको दुई दर्जन बढी स्थानको सडक बगाएको छ ।

क्षति हुनेमा ढोरपाटन नगरपालिका-९ सुप्राङस्थित जनचेतना प्राथमिक विद्यालयको तीन कोठा भएको भवन, सोही वडाको सुकुरदुङस्थित सरस्वती आधारभूत विद्यालयको तीन कोठे भवन पूर्ण क्षति भएको छ ।

यस्तै ९ नम्बर वडाकै लाकुरीबोटस्थित लाकुरीबोट स्वास्थ्य एकाइको दुई कोठे भवनमा क्षति पुर्‍याएको हो । यस्तै भुजीखोला लघु जलविद्युतका पाँच शाखासहित ११ लघु जलविद्युत्, विभिन्न स्थानका ११ झुोलुङ्गे पुल, पाँच ढलान पुल र १० काठेपुलमा क्षति पुर्‍याएको नगरप्रमुख नेपालीले जानकारी दिनुभयो । अन्य क्षतिग्रस्त संरचनाको लगत संकलन भइरहेको बताइएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.