प्रदेश नं २ मा मृतक ९४, रुपन्देहीमा ११ सुरक्षाकर्मी सङ्क्रमित - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 2 September 2020

प्रदेश नं २ मा मृतक ९४, रुपन्देहीमा ११ सुरक्षाकर्मी सङ्क्रमित

जनकपुर, १७ भदौ : मंगलबार कोरोना सङ्क्रमणबाट थप चार पुरुषको मृत्यु भएपछि प्रदेश नं २ मा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९४ पुगेको छ ।

सो अवधिमा मृत्यु हुनेमा पर्सा वीरगञ्ज–२० का ५३ वर्षीय, पर्साका ६० वर्षीय, सिरहाको मिर्चैया नगरपालिका–६का ६५ वर्षीय र बाराको कोल्हवी नगरपालिकाका एक गरी चार जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ निर्देशक विजयकुमार झाले जानकारी दिनुभयो । 

पछिल्लो २४ घण्टामा ८८ नयाँ सङ्क्रमित थपिएका छन् । सोअनुरुप सप्तरी र सिरहाबाट एकएक, धनुषाबाट २९, महोत्तरीबाट ११, सर्लाहीबाट १६, रौतहटबाट तीन, बाराबाट आठ, पर्साबाट १८ र अन्य एक जना गरी ८८ जना नयाँ सङ्क्रमित थपिएका हुन् । यससमेत प्रदेशमा सङ्क्रमितको सङ्ख्या १० हजार ३०६ पुगेको छ । तीमध्ये ५१ जना उपचार गराई मंगलबार निको भएर घर फर्केका छन् । यससमेत गरी अहिलेसम्म चार हजार ९८८ जना निको भएर घर फर्केका छन् ।

प्रदेशअन्तर्गत १९६ क्वारेन्टिनमा मंगलबारसम्म ७२१ जना बसेका छन् । होम क्वारेन्टिनमा एक हजार ५९८, आइसोलेसनमा एक हजार १२१ र होम आइसोलेशनमा चार हजार १०३ जना बसेका छन् । 

जनताको ज्यान रक्षाका लागि एक जुट 
मुख्यमन्त्री लालबाबु राउतले कोरोना महमारी नियन्त्रणका प्राप्त सुझाव यथाशीघ्र कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । धनुषा र महोत्तरीका सरोकार पक्षसँग महामारी नियन्त्रणका लागि चाल्नुपर्ने कदमबारे सुझाव लिन बर्दिबासमा मंगलबार आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री राउतले महामारी नियन्त्रणमा भइरहेको प्रयास र आगामी दिनमा अपनाउनुपर्ने नीतिको सम्बन्धमा आठै जिल्लाका सरोकार पक्षले दिएको सुझावमध्ये कतिपय कार्यान्वयन चरणमा रहेको र बाँकी यथाशीघ्र पूरा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । बर्दिबासमा सञ्चालित पिसिआर प्रयोगशालामा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने वचन उहाँले दिनुभयो ।

उक्त छलफलमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले कोरोनाबाट जोगिनका लागि निर्धारण गरिएका मापदण्ड पालना गराउनका लागि समाजमा जनचेतना जागृत गराउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारीले जिल्लाको अवस्थामा अगामी दिनमा चाल्नुपर्ने कदमबारे आआफ्ना प्रस्तुति दिनुभएको थियो । यसअघि प्रदेश सरकारले सरोकार पक्षसँग सुझाव लिन पर्सा, बारा, रौतहट, सर्लाही, सप्तरी र सिरहामा छलफल गरेको थियो । (रासस)

रुपन्देहीमा ११ सुरक्षाकर्मी सङ्क्रमित
रुपन्देही : जिल्लामा थप ११ सुरक्षाकर्मीमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा सङ्क्रमित प्रहरीको संख्या १५ पुगेको छ ।

चौबीस जनाको स्वाब सङ्कलन गरेर पिसिआर परीक्षणका लागि पठाइएकामा १८ जनाको रिपोर्ट आउँदा ११ जनामा पोजेटिभ देखिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिनुभयो । सङ्क्रमित प्रहरी सबै पुरुष रहेको र उनीहरु बुटवल उपमहानगरपालिकाको कोरिया नेपाल टेक्निकल इन्ष्टिच्युटको आइसोलेशनमा बसेको बताइएको छ । यसअघि चार प्रहरी र १५ थुनुवामा कोरोना भाइरस सङ्क्रमण देखिएको थियो । इलाका प्रहरी मातहतमा झण्डै डेढ सय प्रहरी कार्यरत छन् । तीमध्ये १५ महिला छन् ।

लकडाउन कार्यान्वयनका लागि फिल्डमा खटिएका केही प्रहरीलाई ज्वरो आउने समस्या देखिएकाले पिसिआर परीक्षण गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताउनुभयो । 

प्रहरीको सुरक्षाका लागि आर्युवेदिक औषधि, मास्क र सेनिटाइजर प्रदान गरी दूरी कायम गरेर काम गर्न आग्रह गरिएको छ । जिल्लामा करीब एक हजार दुई सय सुरक्षाकर्मी कार्यरत छन् । 

दाङ जिप्रका बन्द
कर्मचारीमा कोरोना सङक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय दाङले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ ।प्रशासनले मंगलबार विज्ञप्ति प्रकाशन गरी एक कर्मचारीमा सङ्क्रमण देखिएकाले अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको जनाएको हो । 

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी विज्ञप्तिमा शान्तिसुरक्षा र मुद्दालगायत अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द भएको जनाइएको छ । 

राप्ती प्रादेशिक अस्पतालको बहिरंग सेवा बुधबारदेखि
तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालले बुधबारदेखि बहिरङ्ग सेवा शुरु गर्ने भएको छ । अस्पताल विकास समितिको मंगलबार बसेको बैठकले सबै स्वाब परीक्षण गरिएकाले कोरोनाको जोखिम नभएको जनाई सेवा शुरु गर्ने निर्णय गरेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा पदमराज अधिकारीले बताउनुभयो । अस्पतालले सोमबारदेखि आकस्मिक र प्रसूति सेवा शुरु गरेको थियो । उहाँका अनुसार शनिबार दुई चिकित्सकसहित नौ जनाको रिपोर्ट पोजेटिभ आएपछि अस्पताल बन्द गरिएको थियो । अस्पतालका बाँकी कर्मचारी तथा बिरामीको स्वाब परीक्षण गर्दा आज एकएक स्टाफ नर्स र कार्यालय सहयोगीको कोरोना पोजेटिभ आएको थियो । उनीहरु सबैलाई आइसोलेशनमा राखिएको छ । 

सूपमा मृत्युदर स्थिर
सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशमा पछिल्लो हप्तामा कोभिड—१९को सङ्क्रमणका कारण हुने मृत्यु दर स्थिर देखिएको छ । कोरोना भाइरसको सङ्क्रमण भने बढ्दै गएको छ । 

हाल मृत्यु दर स्थिर देखिए पनि जोखिम यथावत् रहेको स्वास्थ्यकर्मीले बताएका छन् । सेती प्रादेशिक अस्पताल धनगढीका कोभिड—१९उपचार विभागका प्रमुख एवं वरिष्ठ फिजिशियन कन्सल्टेन्ट डा शेरबहादुर कमरले सङ्क्रमित हुनेमध्ये बढी सङ्ख्यामा रोगसँग लड्न सक्ने क्षमता भएका युवा तथा वयस्क उमेरका भएको र दीर्घरोग लागेका व्यक्ति सङ्क्रमित नहुनाले प्रदेशमा सङ्क्रमित बिरामीको अवस्थामा पछिल्ला दिनमा जटिलता नदेखिएको बताउनुभयो ।

‘‘बिरामीको अवस्था जटिल बन्न सक्ने जोखिम भने यथावत् रहेकाले निरन्तर निगरानीमा राखिरहेका छौंँ”, उहाँले भन्नुभयो । धनगढीस्थित सेती प्रादेशिक अस्पताललगायत अस्पतालमा पछिल्ला केही दिनयता सघन उपचार कक्ष अथवा भेन्टिलेटरमा राख्नुपर्ने खालका जटिलावस्थाका बिरामी नरहेको डा कमरले बताउनुभयो । 

प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाको तथ्याङ्कलाई विश्लेषण गर्ने हो भने भदौ १०गतेयता कोरोना भाइरसबाट कसैको मृत्यु भएको छैन । गत हप्तामा कोरोना सङ्क्रमित भने ४१५जना थपिएका छन् । 

भदौ १० गते कैलाली जिल्लाका कोरोना सङ्क्रमित दुई जनाको मृत्यु भएको थियो । अहिलेसम्म कैलालीका छ, बझाङ र बाजुराका दुईदुई र अछामका एक गरी ११ कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । 

प्रदेशमा पछिल्लो २४ घण्टामा थप सयभन्दा बढीमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढी, डडेलधुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा गरिएको स्वाबको नमूना परीक्षणका क्रममा थप १०१ जनामा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको हो । 

मंगलबार सङ्क्रमित फेला पर्नेमा कैलाली,कञ्चनपुर, अछाम, बैतडी, बझाङ, डडेलधुरा र डोटी जिल्लाका छन् । यससँगै सुदूरपश्चिम प्रदेशमा सङ्क्रमितको सङ्ख्या कूल पाँच हजार८८०पुगेको छ । 

यीमध्ये सक्रिय सङ्क्रमित भने ८८४ पुगेका छन् । केही हप्तायता पिसिआर पद्धतिबाट शङ्कास्पदको स्वाबको नमूना सङ्कलन र परीक्षणको दायरा वृद्धि भएको छ । दैनिक हाल बढीमा एक हजार७३०वटासम्म नमूना जाँच भइरहेको छ ।(रासस) 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.