न्वारनको भोज खाना गएका एक युवामा कोरोना सङ्क्रमण - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 1 September 2020

न्वारनको भोज खाना गएका एक युवामा कोरोना सङ्क्रमण

बागलुङ, १६ भदौ : बागलुङ नगरपालिका–१० गलुवामा न्वारनको भोज खाना गएका एक युवामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भदौ ११ गते सङ्क्रमण पुष्टि भएका २३ वर्षीय युवाको क्लोज कन्ट्याक्ट ट्रेसिङ गर्दा २५ वर्षीय युवामा सङ्क्रमण पहिचान भएको हो । नेपाली सेनाको लमजुङस्थित एक गणमा कार्यरत २३ वर्षीय युवा भदौ ९ गते छोरीको न्वारन गर्न बागलुङ आउनुभएको थियो ।

भोज आयोजना गर्ने युवामा नै सङ्क्रमण देखिएपछि भोजमा सहभागी ७० जनाको स्वाब सङ्कलन गरी परीक्षणको लागि क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा पठाइएको थियो ।

तीमध्ये एक जनाको कोरोना पोजिटिभ आएको र अन्यको रिपोर्ट प्राप्त नभएको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव डिल्ली आचार्यले जानकारी दिनुभयो । पहिलो डिभिजनमा परीक्षण भएकाहरूको रिपोर्ट प्राप्त भए पनि दोस्रो र तेस्रो चरणमा परीक्षणको लागि राखिएकाहरूको रिपोर्ट प्राप्त भएको छैन ।

तीन २३ वर्षीय युवाले भदौ ९ गते छोरीको न्वारनमा गाउँलेलाई समेत बोलाएर खसी काटर भोज खुवाउनुभएको थियो । भोजमा सहभागी पाहुना, आफन्तजन लगायतका ७० जनालाई क्लोज कन्ट्याक्टको रुपमा स्वाब सङ्कलन गरिएको थियो ।

सिनियर अहेव आचार्यका अनुसार सङक्रमितका परिवारमा कोरोनाको लक्षणसमेत देखिएको थियो । स्वाब दिने केहीमा ज्वरो आउने तथा श्वासप्रश्वासमा समस्या हुनुका साथै घाँटी दुख्ने समस्या देखिएको थियो ।

बागलुङ नगरपालिका क्षेत्रका १२१ जनाको स्वास्थ्य परीक्षण रिपोर्ट प्राप्त नहुँदा मङ्गलबार रातिदेखि लागु हुने गरी जिल्ला प्रशासन कार्यालय बागलुङले भदौ १७ गते राति १२ बजेसम्म कायम रहने गरी दुई दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.