काेराेना कहरमा सृजनशिल बन्दै त्रिवेणी रोल्पाका शिक्षक - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 7 September 2020

काेराेना कहरमा सृजनशिल बन्दै त्रिवेणी रोल्पाका शिक्षक

अमृता बुढाथाेकी
कोरोनाको कहर बिचमा औपचारिक रुपमा विद्यालयको पठनपाठन बन्द छन्। वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजिकरण निर्देशिका, २०७७ बमोजिम यस त्रिवेणी गाउँपालिका रोल्पामा पनि शिक्षकहरुलाई सिकाइ सहजकर्ता तथा मूल्याङ्कनकर्ताको रुपमा परिचालन गरी असार २१ देखि सिकाइ केन्द्रहरु निर्माण गरी सञ्चालनमा ल्याइएको थियो तर शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाको मिति २०७७/०४/२७ गतेको प्राप्त पत्र अनुसार चलिरहेका सिकाइ केन्द्रहरु बन्द भए। सिकाइ केन्द्र बन्द भएपछि पनि फुर्सदको समयमा विद्यालयमै व्यस्त देखिन्छन सिद्दरत्न मा.वि.का शिक्षकहरु । 

रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ५ मा पर्दछ श्री सिद्द रत्न माध्यमिक विद्यालय हान्जाबाङ । जम्मा १३ रोपनी क्षेत्रफलमा फैलिएको यस विद्यालयको स्थापना वि.सं. २०३२ सालमा भएको हो । समयको परिवर्तन र विकासको गतिसँगै यो विद्यालय वि.सं. २०३२ साल देखि २०५८ सालसम्म प्राथमिक तह सञ्चालन भएकोमा वि.सं.२०५८ साल देखि निम्न माध्यमिक तह क्रमशः ६,७ र ८ सञ्चालन भएता पनि नि.मा.वि.तह को २०६१ सालमा कक्षा ६, वि.सं. २०६२ कक्षा ७ हुँदै वि.सं.२०६३ सालमा कक्षा ८ को अस्थाइ अनुमति पाई सञ्चालनमा रह्यो । त्यसै गरी वि.सं. २०६८ सालमा कक्षा ९ र वि.सं. २०६९ सालमा कक्षा १० को अस्थाई अनुमति लिई मा.वि. तह सञ्चालनमा छ । प्रा.वि. तहमा मात्रै स्थायी दरबन्दी रहेको स्कुलमा राहत, करार र स्थानिय स्रोतका शिक्षकहरु रहेका छन् । 
अचेल पठनपाठन बन्द छ तर पनि विद्यालयको प्राङ्गनमै व्यस्त देखिन्छन् हान्जाबाङका शिक्षकहरु। सहकर्मी शिक्षकहरुसँगै बासको घेराबार बनाएर सुन्दर फुलबारी बनाउनमा व्यस्त छन् विद्यालयका प्रधानाध्यापक बेगम कुमार वली। प्रअ वलीको नेतृत्वमा धमाधम विद्यालयमा फुलबारी निर्माण भइरहेको छ । खेर गइरहेका खालि बोतलहरु र स-साना ढुङ्गाहरु संकलन गरेर रङ्गाएर चिटिक्क पारि फुलबारीमा सजाइएको छ । 
सुकेका बासहरु अभिवावकहरु सँग मागेर विद्यालयमा फुलबारीको लागी घेराबार बनाइएको हो। विद्यालयको नजिकै ४००, ५०० मिटरको दुरिमा ढुङ्गा खानी रहेको छ । शिक्षकहरुले पालैपालो ढुङ्गा खानीबाट आफै ढुङ्गा निकालेर बोकेर फुलबारी निर्माणमा लागिरहेका छन । विद्यालयको प्राङ्गणमा बगैचा निर्माणमा जुटिरहेका शिक्षकहरुले स्थानिय सामाग्रीहरु, स्थानिय फुलको जम्मा पारेर बगैचामा रोप्ने कार्य धमाधम सुरु गरेका छन् । बगैचा निर्माणको एउटा पार्ट निर्माण भइसकिएको छ भने अरु ४ बटा पार्ट बनाउने क्रम जारी छ । वि.स. २०७१ साल देखि विद्यालयमा प्र.अ. को जिम्मेवारी सम्हाल्नु भएका प्र.अ. बेगम कुमार वलीले विद्यालयलाई शैक्षिक रुपमा अगाडी बढाउन उल्लेखनिय भुमिका खेलेको स्थानिय अभिभावकहरु बताउछन् । प्र.अ. वली भन्नुहुन्छ, "हाम्रा सहकर्मीहरुमा आफैमा दायित्व बोध छ, उहाँहरु आफै अग्रसर हुनुन्छ । हामीले सुरुमा खाली बोतलहरु जम्मा गर्ने,बोतल र ढुङ्गाहरुमा रङरोगन गर्ने सुकेका बाँस अड्याउने फलामको खम्बाको प्रयोग गरि बगैचा निर्माणको कार्यलाई अगाढी बढाइरहेका छौ,रङ र बास अड्याउने फलामको खम्बाको लागी आर्थिक रकम विद्यालयको आन्तरिक कोष बाट व्यवस्थापन गरेका छौ ।" 
अन्य ठाउँमा प्र.अ.लाई सहयोग नगर्ने पनि देखिन्छ तर तपाइहरुले सहयोग गर्नुको कारण के हो? भन्ने हाम्रो प्रश्नमा विद्यालयमा नि.मा.वि. राहत दरबन्दिमा कार्यरत शिक्षक नन्दराम राना भन्नुहुन्छ, "पहिलो कुरा हामिमा आफै पनि गर्नुपर्छ भन्ने भावना छ, जागिर मात्रै नभएर यो पेशा सेवा पनि हो, मुख्य कुरा समयको सदुपयोग गर्दै समयलाई खेर जान नदिनको लागी हामी सबै शिक्षक तथा कर्मचारीहरुले यो काममा समय दिइरहेका छौ ।" 

विद्यालयमा फुलबारी निर्माण गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जित बहादुर खत्री आफु स्वयम नियमित रुपमा खटिरहेको पनि देख्न सकिन्छ । यहि आउदो मङ्गलबार सम्ममा फुलबारी निर्माणको कार्य सक्ने,त्यस पछी विद्यालयका सम्पुर्ण शिक्षक तथा कर्मचारी स्टाफ लाई कम्प्युटर सिकाउने योजना रहेको विद्यालयका प्र अ वली ले हामी सँग भन्नु भयो । फुर्सदको समयको सदुपयोग गर्दै विद्यालयमै व्यस्त रहेका शिक्षक तथा कर्मचारीहरुहरुले चाहेमा गर्न सक्छन् भन्ने यो एउटा गतिलो उदाहरण हो।

(नाेट : लेखक बुढाथाेकी  त्रिवेणी गाउँपालिका रोल्पामा कार्यरत  शिक्षा अधिकृत हुनुहुन्छ ।)

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.