मलाई माफ गरिदेउ छोरी : रुमु न्याैपाने - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 23 September 2020

मलाई माफ गरिदेउ छोरी : रुमु न्याैपाने

रुमु न्याैपाने
तिम्री आमा गर्भवती छिन् 
अनि मलाई थाहा छ छोरी
तिमी उनको गर्भमा छौ
हिजो भर्खर हामीले अस्पतालमा गएर
अल्ट्रासाउन्ड गर्दा
तिमी तिम्री आमाको पेटभित्रबाट
यस धर्तीमा आउन सकस गरिरहेकी थियौ
त्यो दृश्य देखेर 
मन पुलकित भएको थियो मेरो
घरमा लक्ष्मी भित्रिने खुशीले 
हाम्रो मन बसमा थिएन 
अस्पतालदेखि घरसम्मको यात्रामा 
हामीले तिम्रो नाम समेत 
सोचिसकेका थियौं 
तिम्रो भविष्य निर्माणको कल्पना 
गरेका थियौं
तर जब मैले त्यसै साँझ 
युवतीको हत्या , युवतीको बलात्कार र 
युवती माथि एसिड 
आक्रमणका समाचारहरु सुनें
त्यही क्षण मैले निर्णय गरें कि म छोरी चाहन्न 
ल्याउन चाहन्न म तिमीलाई 
नारीको ईज्जत नहुने समाजमा 
मलाई माफ गरिदेउ छोरी 
यो ठाउँ तिम्रो लागि हैन
जन्मेर हुर्काई बढ़ाई गरेर 
आफ्नो कलेजोको टुक्रा जस्ती छोरीलाई
जब म घरबाहिर पठाउँछु
घरको ढोकाभित्र नपसुन्जेल सम्म 
आतंकित भईरहनेछ मेरो मन
मलाई डर छ छोरी 
तिम्रो फक्रिदै जाने बैंसमा
बैरीहरुको कुदृष्टि पर्ने छ
दिनप्रतिदिन निखारिदैं जाने
मुहारमा दाग लगाउनेहरुको
भिड हुनेछ
तिमी दुख नमान छोरी 
यस समाजको कुरिती, विसंगतिहरुले
विचलित मेरो मनले भन्छ 
यहाँ तिमी कदापी सुरक्षित हुने छैनौ
तसर्थ 
तिम्री आमा र मैले तिमीलाई 
यस धर्तीमा ल्याउने चाह हुँदाहुँदैपनि
गर्भमै मार्नु परेको छ
मैले धेरै पटक सुनेको छु
आफ्नै गाउँको चेली 
घाँस दाउरा गर्न जाँदा बलात्कृत भएको
यही शहर जहाँ म पुरुष हुनुमा गर्व गर्छु
श्रीमान हुनुमा गर्व गर्छु 
तर अफसोच छोरीको बुवा हुनुमा
गर्व गर्न सक्दिन 
किनकी यहाँ छोरीहरु आत्मानिर्भर छन् 
तर सुरक्षित छैनन् 
तिमीलाई यो धर्तीमा ल्याउने चाहना
हुँदाहुँदै पनि ल्याउन सकिन 
मलाई माफ गरिदेउ छोरी



No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.