पत्ता लाग्यो पृथ्वी आकारको अर्को ग्रह - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 27 September 2020

पत्ता लाग्यो पृथ्वी आकारको अर्को ग्रह


काठमाडौं, ११ असाेज :
पृथ्वी आकारको ग्रह पत्ता लगाएको छ । के२–३१५–बी’ नाम राखिएको गृह पृथ्वीबाट १ सय ८५ प्रकाश वर्ष टाढा रहेको छ । के२–३१५ नामक ताराको वरिपरि घुम्ने भएकाले यसको नाम के२–३१५–बी राखिएको हो । यो ग्रह स्पेकुलोस टेलिस्कोपको मद्दतबाट पत्ता लागेको हो

खगोलशास्त्रका एक नेपाली अनुसन्धानकर्ता सम्मिलित समूहले उक्त गृह पत्ता लगाएको हो । अमेरिकाको मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा प्लानेटरी साइन्समा पीएचडी गर्दै गरेका २८ वर्षीय नेपाली अनुसन्धानकर्ता प्रज्वल निरौला सम्मिलित समूहले नयाँ ग्रह पत्ता लगाएको हो । ग्रह पत्ता ग्रह पत्ता लगाउने अनुसन्धानमा काठमाडौं मैतीदेवीका निरौंलाले समूहमा मुख्य भूमिका खेल्नुभएका थियो ।

यो ग्रहले आफ्नो तारालाई प्रत्येक ३ दशमलव १४ दिनमा परिक्रमा गर्ने गर्दछ । गणितमा पाईको मान ३।१४ हुने भएकाले यो ग्रहलाई पाई ग्रह पनि भनिएको छ । यसको गति ८१ किलोमिटर प्रतिसेकेन्ड रहेको छ ।

अनुसन्धानले यो ग्रहको सतही तापक्रम अत्यधिक रहेको जनाएको छ । ग्रहको सतही तापक्रम १८५ डिग्री सेल्सियस रहेकाले यसमा जीवनको सम्भावना भने नभएको बताइन्छ ।

सौर्यमण्डल बाहिरको ग्रहको अध्ययन गर्न निरौलासहित अमेरिका, बेलायत, बेल्जियम र स्विट्जरल्यान्ड लगायत मुलुकका २८ जना अनुसन्धानकर्ताहरूको टोली खटिएको थियो ।

सन् २०१७ मा नासाको के२ मिसनअन्तर्गत केप्लर टेलिस्कोपबाट लिइएको तथ्यांकलाई आधार मानेर यो ग्रहको खोजी गरिएको थियो । उक्त तथ्यांकलाई पुनः पुष्टि गर्न जमिनमा रहेका स्पेकुलस टेलिस्कोप नेटवर्कको प्रयोग गरिएको थियो । स्पेकुलस टेलिस्कोपको ६ वटा स्टेसन छन् । तीमध्ये ४ वटा स्टेसन चिलीमा र बाँकी स्पेन र मेक्सिकोमा छन् ।

उक्त ग्रहसम्बन्धी अनुसन्धानात्मक आलेख एस्ट्रोनोमिकल जर्नलमा सेप्टेम्बर २१ मा प्रकाशित भएको छ । पत्ता लागेको ग्रहलाई नासाले समेत मान्यता दिईसकेको छ ।

हरेक राति सौर्यमण्डलभन्दा बाहिरका ताराको वरिपरि घुम्ने ग्रहहरूको ग्रहण (छाया) को खोजी गरेर त्यसैलाई आधार मानी वैज्ञानिकहरू ग्रह पत्ता लगाउँछन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.