भदौ २५ गतेदेखि सम्पूर्ण व्यवसायीलाई नियमित रुपमा व्यवसाय सञ्चालन गर्न नाडाकाे आग्रह - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 8 September 2020

भदौ २५ गतेदेखि सम्पूर्ण व्यवसायीलाई नियमित रुपमा व्यवसाय सञ्चालन गर्न नाडाकाे आग्रह

काठमाडाैँ, २३ भदौ : नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले भदौ २५ गतेदेखि सम्पूर्ण व्यवसायीलाई नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । नाडाको सोमबार बसेको पदाधिकारी बैठकले भदौ २४ गतेसम्म निषेधाज्ञाको समय रहेकोले २५ गतेदेखि नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको हो । 

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले एक सय ८० दिनसम्म सरकारको आदेश मानेर बसेको अवस्थामा अब हुने लकडाउनको पालना नगर्ने गरी सबै व्यवसायीलाई आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको बताउनुभयो । उहाँले सरकारले देशको अर्थतन्त्रलाई बुझेर व्यवसाय गर्न पाउने गरी सहजीकरण गर्नुपर्ने बताउनुभयो । सरकारले त्यस्तो व्यवस्था नगरे पनि निषेधाज्ञालाई तोडेर अथवा विद्रोह गरेर भए पनि व्यवसाय सञ्चालन गर्ने बताउनुभयो । 

उहाँले सरकारी कर्मचारीहरुले काम नगरे पनि तलब भत्ता आइराख्ने भएकाले कोरोना सङ्क्रमण देखिएदेखि नै लकडाउन गर्नुपर्छ भनिरहेको भन्दै असन्तुष्टि व्यक्ति गर्नुभयो । व्यवसायी र उद्योगपतिहरु बाहेक कसैले पनि लकडाउनको विरोध नगरेको पनि दुलालले बताउनुभयो । घरमै बसीबसी तलब भत्ता आउने भएपछि किन लकडाउन खोल्ने भन्ने मानसिकता कर्मचारी र राजनीतिज्ञहरुमा रहेको दुलालको भनाइ छ ।

उहाँले कोरोना नियन्त्रणका लागि शोक मनाएर बस्दा बस्दै भोक लाग्ने बेला भइसकेको बताउनुभयो । पछिल्लो समय भारत, पाकिस्तानलगायत विश्वभर लकडाउन खुलिसकेको अवस्थामा नेपालमा पनि खोल्नुको विकल्प नभएको दुलालले बताउनुभयो । 

लकडाउन समस्याको समाधान नभएकाले सुरक्षित भएर काम गर्नु नै देशको आवश्यकता रहेको पनि उहाँले स्पस्ट पार्नुभयो । विश्वलाई हेरेर व्यवसाय सुरु गर्नुको विकल्प नरहेको उहाँको भनाइ छ । 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.