भारतको मेट्रो रेल सेवा आजदेखि सञ्चालनमा - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 7 September 2020

भारतको मेट्रो रेल सेवा आजदेखि सञ्चालनमा

काठमाडाैँ, २२ भदौ : झण्डै साढे पाँच महिनादेखि बन्द रहेको भारतको मेट्रो रेल सेवा सोमबारदेखि सञ्चालनमा आएको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्न गएको मार्च अन्त्यतिर लकडाउन गरिएसँगै मेट्रो रेलको सेवा पनि बन्द भएको थियो । 

कोरोना सङ्क्रमण बढिरहेका बेला प्रतिबन्धहरु हटाउँदै जनजीवन सामान्य बनाउने प्रयास गरिरहेको भारतले मेट्रो रेल सेवा पनि सुरु गरेको बीबीसीले जनाएको छ । यात्रुहरुले स्टेशनको प्रवेशद्वारमा स्यानिटाइजर लगाउने, ज्वरो नाप्ने, सम्भावित लक्षण हेर्ने जस्ता प्रक्रिया पूरा गरेर यात्रा सुरु गर्नुभन्दा १०/१५ मिनेट अघि रेलमा बसिसक्नुपर्ने खबरमा उल्लेख छ । 

व्यक्तिगत दुरी कायम गर्नुपर्ने, सतह छुन नपाइने, मास्क लगाउनुपर्ने, साथमा स्यानिटाइजर हुनुपर्ने जस्ता व्यवस्थालाई कडाइका साथ पालना गर्ने गरी मेट्रो रेल सुरु भएको बीबीसीले जनाएको छ । भारतका सबै प्रान्तीय सरकारले आइतबारदेखि सुरु गरेर क्रमिक रुपमा सबै ठाउँका मेट्रो रेल सुरु गर्ने केन्द्रीय सरकारले जनाएको छ । 

कोरोनाका सङ्क्रमितको सङ्ख्याको आधारमा अहिले दोस्रो स्थानमा रहेको भारतमा ४२ लाख आठ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमितमध्ये ३२ लाख ५० हजारभन्दा धेरै निको भएर घर फर्किएका छन् भने ७१ हजार सात सयभन्दा धेरैको ज्यान गएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.