चोरीका काठ बरामद, दुई पक्राउ - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 26 August 2020

चोरीका काठ बरामद, दुई पक्राउ

महोत्तरी, १० भदौ  : डिभिजन वन कार्यालय महोत्तरीले खोजी अभियानअन्तर्गत ५८ दशमलव १४ घन (क्यूविक) फिट चोरीका काठ बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरेको छ । 

बर्दिवास नगरपालिका–१ स्थित दर्ता नभएको एक फर्निचर उद्योग र बर्दिवास–३ गौरीडाँडास्थित ग्रिल उद्योगका नाउँमा सञ्चालन गरिएको कारखानाबाट सो परिमाणको साखुका चिरान काठ मङ्गलबार बरामद गरिएको डिभिजन प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिनुभयो । 

बर्दिवास–१ मा गोपाल फर्निचरको साइनबोर्ड राखिएको फर्निचर उद्योगमा खानतलासी गर्दा ४८ थान कडी, सातवटा झ्याल र पाँचवटा ढोकाका तयार चौखट (पल्ला)सहित २७ दशमलव १३ घनफिट साखुका चिरान गरिएका काठसहित दुई जनालाई पक्राउ गरिएको छ । फर्निचरका सञ्चालक सोमबहादुर बलम्पाकी र कामदार भीमबहादुर पूर्वछाने पक्राउ परेको डिभिजन प्रमुख साहले जानकारी दिनुभयो ।

त्यसैगरी बर्दिवास–३ गौरीडाँडामा बिपी राजमार्गको छेउमै ग्रिल उद्योगको बोर्ड राखेर सञ्चालित कारखानाबाट ३४ थान कडी, १४ थान झ्याल र चार थान ढोकाका चौखटसहित ३१ दशमलव एक घनफिट साखुकै चिरान काठ बरामद गरिएको छ । कारखाना सञ्चालक रामजी रम्तेल र मीनबहादुर भुजेल भाग्न सफल भएका हुँदा पक्राउ गर्न नसकिएको कार्यालयले जनाएको छ । दुवै ठाउँबाट काठ चिरान गर्न प्रयोग गरिने दुई थान आरा, बसिला र रन्दासहित साना–ठूला गरी ९४ थान चिरान काठ बरामद गरिएको डिभिजन प्रमुख साहले जानकारी दिनुभयो ।

बन्दाबन्दीको अवस्थामा वनक्षेत्रबाट चोरी कटान गरी साखुका काठको कारोवार भइरहेको सुराकीका आधारमा दुवै ठाउँमा कार्यालयले मङ्गलबार दिउँसो खानतलासी गरेको थियो । बरामद काठसहित पक्राउ परेकाविरुद्ध कानूनी कारवाही थालिने कार्यालयले जनाएको छ ।

नयाँ आर्थिक वर्ष २०७७÷७८ शुरु भएयता यसरी अवैधरूपमा सञ्चालन हुँदै आएका फर्निचर उद्योगबाट २०० घनफिट साखुका चिरान काठ कार्यालयले बरामद गरिसकेको छ । त्यसअघि गत चैतदेखि असारसम्मको लकडाउन अवधिभित्रै ३०० घनफिट चोरी कटान गरिएका काठ बरामद गरिएको थियो । कोभिड–१९ सङ्क्रमणको सन्त्रास छल्न जारी गरिएको विगतको लकडाउन र अहिलेको निषेधाज्ञाभित्र वन क्षेत्रमा हुने चोरी कटान रोक्न कार्यालयले सघन गस्ती बढाएको छ ।(रासस)

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.