पुनःसडकमा आउन थाले असङ्गठित मजदुर - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 30 August 2020

पुनःसडकमा आउन थाले असङ्गठित मजदुर

काठमाडौं, १४ भदौ : कोभिड-१९ को जोखिम रोक्न जारी गरिएको बन्दाबन्दी हटेपछि विस्तारै कामको खोजीमा लागेका असङ्गठित क्षेत्रका मजदुर निषेधाज्ञा शुरु भएसँगै पुनःसडकमा आउन थालेका छन् ।

बजार सबै बन्द भएर कामविहिन भएपछि बाध्यताबस भोक मेटाउन सडकमा आउनु परेको मजदुरको दुखेसो छ । काठमाडौँको रत्नपार्कस्थित बसपार्कमा साँझको समयमा झण्डै पाँचदेखि सात सय मजदुर खाना कै लागि भेला हुने गरेका छन् ।

ज्याला मजदुरी गर्ने सिन्धुपाल्चोक कान्छा स्याङतान पाँच महिनादेखि बेकामे हुनुहुन्छ । बीचमा बन्दाबन्दी खुले पनि राम्ररी काम पाउनु भएन । बन्दाबन्दी हट्दा ज्याला मजदुरीले जेनतेन खानसम्म पुगेको थियो ।

निषेधाज्ञा भएपछि भने फेरि पहिले झैँ भोकभोकै बस्नुपर्ने अबस्था आएपछि रत्नपार्कमा संस्थाले बाँडेको खानेकुरा खान थालेको स्याङ्तानले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “हामीलाई काम गर्न देउ, गरेर खान्छौँ ।”

उनीहरुलाई हन्ड्रेड ग्रुपलगायत संस्थाले नियमित खाना खुवाउँदै आएको छ । खान पाउने भएपछि उपत्यकाका तीनै जिल्लामा कामविहिन मजदुर दिउँसो तीन बजे नै यहाँ भेला हुन्छन् ।

उनीहरुलाई चार बजेको समयमा खाना खुवाउने गरेको उक्त ग्रुपका संस्थापक अङ्शु यादवले बताउनुभयो । उहाँका अनुसार रत्नपार्कमा झण्डै सात सयलाई खाना खुवाउने गरिएको छ ।

सडकमै भेटिनुभएका होटल मजदुर पूर्णप्रसाद पाण्डेलाई विगतमा खानाको दुःख थिएन । बागबजारको होटलमा खाना पकाउने (कुक) उहाँ होटल बन्द भएपछि कामविहिन हुनुभयो । उहाँ पनि संस्थाले दिएको खाना खान रत्नपार्कमा आउनुहुनछ ।

शनिबार खानाको लाइनमा बस्नुभएका पाण्डेले अन्य क्षेत्रमा पनि मजदुर भोकभोकै रहेको बताउनुभयो । थाहा पाएका निकै टाढाबाट खाना खान यहाँ आइपुग्छन् ।

त्यस्तै पीडा काठमाडौँमा १२ बर्षदेखि भारी बोक्दै आउनुभएका सिन्धुपाल्चोकका कुमार श्रेष्ठको पनि छ । कोरोनाले गर्दा काम पाउन नसकेको दुखेसो गर्ने श्रेष्ठ पनि अहिले सडकमा काम विहिन हुनुहुन्छ । कहिलेसम्म खानाको लागि सडकमा भौतारिनुपर्ने हो भनेर उहाँ पनि चिन्तित हुनुहुन्छ ।

विगतमा सरकारले चैत ११ बाट बन्दाबन्दी लागु गरेको थियो । त्यसको अर्को हप्तामा असङ्गठित क्षेत्रका मजदुरलाई सरकारले खाना खुवाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयमा विभिन्न संस्थाले समेत साथ दिए ।

ठाउँठाउँमा भोजन गराएर भोकाहरुको पेट भर्ने वातावरण मिलेको थियो । बीचमा बन्दाबन्दी खुकुलो हुँदै आएपछि उनीहरुलाई सरकारले काम दिने निर्णय गरेको थियो । उक्त निर्णय कतिपय स्थानीय तहले लागू गरे पनि प्रभावकारी हुन सकेको थिएन ।

गत साउन ६ गतेदेखि बन्दाबन्दी अन्त्य हुँदा मजदुर कामको खोजीमा हिँडेपछि धेरै मजदुर सडकमा देखिएका थिएनन् । यही भदौ चार गते उपत्यकामा अत्यावश्यक काम बाहेकका गतिविधिमा पूर्ण रोक लगाउने गरी निषेधको आदेश जारी भएपछि भने मजदुर पुनः सडकमा आउन थालेका हुन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.