पहिरामा बेपत्ता व्यक्तिको शव फेला - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 14 August 2020

पहिरामा बेपत्ता व्यक्तिको शव फेला

टिस्टुङ, ३० साउन : त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा पहिरो परी बेपत्ता भएका व्यक्तिको शव भेटिएको छ । पहिरोमा परी बेपत्ता भएका स्थानीय ५४ वर्षीय काले मोक्तानको शव अहिले बिहान भेटिएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिनुभयो ।

पहिरोसँगै खसेको ढुङ्गाले थिचिएर मोक्तानको मृत्यु भएको र उहाँ घोप्टो परेको अवस्थामा मृत भेटिएको प्रहरी निरीक्षक तामाङले बताउनुभयो । पहिरो खसेलगत्तै सम्पर्कविहीन भएका मोक्तानको खोजीकार्य बिहीबार बेलुका नै शुरु गरेको भए पनि माथिबाट पहिरो झरिरहेकाले सम्भव भएको थिएन । आज बिहानै घटनास्थल पुगेर प्रहरीले बेपत्ता व्यक्तिको खोजी शुरु गरेको थियो । 

मृतक ढुङ्गाखानीकै कर्मचारीको रुपमा रेखदेखको काम गर्दै आउनुभएको थियो । पहिरो खस्नु अघिसम्म उहाँ रेखदेखकै काममा खटिरहेको र पहिरो झर्न लागेको भन्दै अरुलाई सजग गराइरहेको प्रत्यक्ष दर्शीले बताएका छन् । पहिरोमा परेर एउटा स्काभेटर र तीनवटा टिप्पर पुरिएका छन् । पहिरोले सडक पुरिएपछि त्रिभुवन राजपथ अवरुद्ध छ । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ । (रासस) 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.