पथरीशनिश्चरेमा ‘फुड बैङ्क’ सुरु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 31 August 2020

पथरीशनिश्चरेमा ‘फुड बैङ्क’ सुरु

पथरीशनिश्चरे, १५ भदौ : विपन्न परिवारलाई राहत प्रदान गर्ने उद्देश्यले मोरङको पथरीशनिश्चरे र कानेपोखरी गाउँपालिकामा पनि ‘फुड बैङ्क’ स्थापना भएको छ । गरिमा अनलाइन टेलिभिजन, हाम्रो फाउण्डेसन, भूटानी शिविर व्यवस्थापन समिति, प्रतिभा समाज सुधार युवा क्लब र टिचर क्लब पथरीशनिश्चरेको व्यवस्थापनमा ‘फुड बैङ्क’ स्थापना गरिएको हो । 

लकडाउनका कारण समस्यामा परेका नगरभित्र वा नगरबाहिरका आर्थिक रूपले अति विपन्न, असहाय, असक्त परिवारलाई १० नम्बर वडा कार्यालयअगाडि बैङ्कका रूपमा खाद्यान्न सामग्रीको स्टल राखेर अति आवश्यक पर्नेहरूका लागि शुक्रबारबाट खाद्यान्न वितरण सुरु भएको छ ।

‘फुड बैङ्क’ले प्रतिपरिवार ५ किलोग्राम चामल, आधा केजी दाल, आधा लिटर खाने तेल र नुनसहितको प्याकेट उपलब्ध गराउन सुरु गरिएको छ । ‘हामी छौं त केवल एक अर्काका लागि छौं, सकिन्छ मुठ्ठी खोलौं, सकिँदैन लिएर जाऊँ’ भन्ने नाराका साथ अभियानमा युवाहरू जुटेका छन् । यस अभियानका लागि विभिन्न पक्षबाट सहयोग जुट्ने क्रम बढेको अभियानका संयोजक प्रदीपकुमार राईले बताउनुभयाे ।

भूटानी शरणार्थी शिविर व्यवस्थापन समिति पथरीशनिश्चरेले ५ सय केजी चामल, ५० केजी दाल र ५० लिटर खानेतेल उपलब्ध गराएको छ । १० नम्बरका वडाध्यक्ष सागर राई, ईश्वर फार्मेसीका ईश्वरी सापकोटा, समाजसेवी नाम्येहङ राई, नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य र वल्र्डलिङ्कका राजन तिम्सिनाले १–१ क्विण्टल चामल प्रदान गर्नुभएकाे छ ।

त्यसैगरी ७ नम्बर वडासदस्य काँशीराज राई, शिक्षक भुवन पिठाकोटे, जेसीजका प्रदीप फुयाल तथा सञ्जय राईबाट ५०–५० केजी चामल प्रदान भएको छ । क्यापरोज मण्टेश्वरीकी शर्मिला वाइबाले ५० केजी चामल र २० केजी दाल, पथरी जेसीजकी लक्ष्मी भट्टराईबाट ५० केजी चामल र ५० वटा साबुन प्राप्त भएको उल्लेख छ । लेटाङस्थित जाँतेकी सपना राईबाट ५० केजी चामल र १० लिटर तेल उपलब्ध भएको छ ।

त्यस्तै मोरङको कानेपोखरी गाउँपालिकाका ४ वटा सामाजिक संस्थाले पनि ‘फुड बैङ्क’ सुरु गरेका छन् । शुक्रबार बिहान कानेपोखरी–७ स्थित बरगाछी चोकमा लायन्स क्लब अफ कानेपोखरी, रमाइलो जेसिज, नेपाल रेडक्रस सोसाइटी बयरवन उपशाखा र व्यापार प्रबन्ध समितिलगायत संस्थाले ‘फुड बैङ्क’ सुरु गरेका हुन् । शुक्रबार बिहानसम्म १० जनाले चामल, नुन, तेल र दाल फुड बैङ्कमा जम्मा गरेका थिए । ‘फुड बैङ्क’ उद्घाटनको समयमा आर्थिक रूपले अति विपन्न वर्गका लगभग ३० जनाले राहत लगेका छन् ।

लकडाउनका कारण समस्यामा परेका गाउँपालिकाभित्रका आर्थिक रूपले अति विपन्न, असहाय, असक्त परिवारलाई प्रतिपरिवार चामल, दाल, खाने तेल र नुन राहत दिने उद्देश्यले फुड बैङ्क स्थापना गरेको लायन्स क्लब अफ कानेपोखरीका प्रेसिडेण्ट गणेश सुवेदीले बताउनुभयाे ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.