हत्या अभियोगमा १७ वर्षपछि एक अभियुक्त पक्राउ - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 8 August 2020

हत्या अभियोगमा १७ वर्षपछि एक अभियुक्त पक्राउ

सुरुङ्गा, २४ साउन : हत्या अभियोगमा एक अभियुक्तलाई झापा प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ। झापा जिल्लाको जलथलमा स्थानीय बिरिकलाल माझीको हत्याको घटनामा संलग्न भएको अभियोगमा झापा प्रहरीले दुर्गा बहादुर थापा मगरलाई घटना भएकाे १७ वर्षपछि पक्राउ गरेको हो।

लामो समय सम्म फरार रहेका प्रतिवादीहरु दुर्गा मगर समेतको नाममा जिल्ला अदालत झापाबाट २०७७/०१/३० गते पक्राउ अनुमति लिई प्रहरी निरीक्षक साकार राजपन्तको टोलीले २०७७/०४/२२ गते झापा मेचिनगर न.पा वडा नं. १२ स्थित शहरेडाँगी स्थित आफन्तको घरमा लुकिछिपि बसिरहेको अवथामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयाे। 

फरार मगर काठमाडौं, भारतको कोलकत्ता, दार्जिलिङका साथै मलेसिया, युएई गएर लुक्दै आएका थिए। उनी नेपालमा हुँदा पनि आफन्तहरुका घरमा लुकीछिपी बस्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

अब हत्यामा संलग्न अन्य पनि पक्राउ पर्ने विश्वास रहेको घटनास्थलका प्रत्यक्षदर्सी समेत रहेका जाहेरवाला मृतकका ससुरा बिष्णुलाल माझीले बताउनुभयाे।

अभियुक्तलाई पाँच दिन म्याद थप गरी हाल अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभयाे। 

घटना के हाे?
विं. सं. २०६०/०७/३० गते हालको झापा गाउँपालिका–४ का ४५ वर्षीय बिरिकलाल माझीले  भट्टी पसलमा चुरोट मागे । उनलाई चुराेट दिदाँ पसल सञ्चालककी छोरीको हातमा छोएको भन्ने विषयलाई लिएर विवाद सुरु भएको थियो।

सोही बेला होटलमा मदिरा सेवन गरिरहेका साविक जलथलगा.वि.स वडा नं. ८ का दुर्गा बहादुर थापा मगर र खेम फुयाँललगायतका व्यक्तिले बहिनीको हात किन समातिस् भन्दै निहुँ खोज्दै बिरिकलालमाथि सामान्य कुटपिट गरेका थिए।

त्यसकाे केही समयपछि दुर्गा बहादुर थापा मगर समेतका ३/४ जना पुन घरमै गई बिरिकलाल माझीलाई होटलमा भएको विवादकै विषयमा तँलाई मार्छौ भन्दै चिरपट, दाउरा र छालाको बुट जुत्ताले हानेर उनलाई सख्त घाइते बनाएका थिए। घाइते बिरिकलाललाई मेची अञ्चल अस्पतालमा ल्याई उपचार गर्दा पनि ठीक नभएपछि २०६०/०८/०४ गते बिहान कुटपिटको चोटकै कारण बिरिकलालको मृत्यु भएको थियो। 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.