पर्सामा थप ७० जनामा कोरोना सङ्क्रमण पुष्टि - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 11 August 2020

पर्सामा थप ७० जनामा कोरोना सङ्क्रमण पुष्टि

वीरगञ्ज, २७ साउन : पर्सामा थप ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गरी सोमबार राति अबेर र मङ्गलबार बिहान सार्वजनिक गरिएको परीक्षण रिपाेर्टअनुसार पर्सामा २१ जना महिलासहित थप ७० जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय, पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी  दिनुभयाे ।

स्वास्थ्य निरीक्षक ठाकुरका अनुसार सोमबार राति ५५ जना र मङ्गलबार बिहान १५ जना गरी थप ७० जनामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमितहरूमा पर्साका ६५ जना र बारा घर भई पर्सामा बसोबास गर्दैआएका पाँच जना रहेका छन् ।

कन्टयाक्ट ट्रेसिङ्गमा परेका चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारी, प्रहरी, थुनुवासहित सर्वसाधारण गरी ४९ जनामा सङ्क्रमण पुष्टि भएको र ज्वरो, रुघाखोकी, पखाला लागेर शङ्का लागी आफैँ पैसा तिरेर पीसीआर परीक्षण गराएकाहरूमध्येबाट २१ जनामा सङ्क्रमण पुष्टि भएको छ । आफैँ पैसा तिरेर पीसीआर परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएका २१ जनामा ३५ वर्षदेखि ६५ वर्ष उमेर समूहका रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक ठाकुरले दिनुभएको जानकारीअनुसार नेशनल मेडिकल कलेजमा कार्यरत दुई जना चिकित्सक, एक जना स्वास्थ्यकर्मी, भवानी अस्पताल वीरगञ्जका चार जना अस्पतालका कर्मचारी र पर्साको धोबिनी गाउँपालिकाका एक स्वास्थ्यकर्मीका सङ्क्रमण पुष्टि भएको छ । 

त्यस्तै वडा प्रहरी कार्यालय विर्ताका तीन जना थुनुवा र चार जना प्रहरीमा समेत सङ्क्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरका अनुसार हालसम्म पर्सा जिल्लामा ३२ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । क्वारेन्टिनमा खटिएका प्रहरीबाहेक भिडभाडमा खटेर ड्युटी गर्ने प्रहरीहरूमा समेत सङ्क्रमण देखिएको उहाँले बताउनुभयो ।

त्यस्तै अन्य थपिएका नयाँ सङ्क्रमितहरूमा वीरगञ्ज महानगरपालिका-४ विर्ताका नाै जना, वडा नं. १ र ६ का पाँच/पाँच जना, वडा नं. १० का चार जना, वडा नं. १२, १३, र १६ का दुई/दुई जना तथा वडा नं. ३, ७ र १५ का एक/एक जनामा पनि सङ्क्रमण पुष्टि भएको छ ।

सोमबार राति अबेर र मङ्गलबार बिहान गरी थप ७० जनामा सङ्क्रमण पुष्टि भएसँगै पर्सामा जिल्लामा सङ्क्रमितको सङ्ख्या एक हजार ११० पुगेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । यसअघि आइतबार राति पनि पर्सामै स्वास्थ्यकर्मी र प्रहरीसहित २२ जनामा सङ्क्रमण भेटिएको थियो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.