अध्यक्षद्वय ओली र प्रचण्डवीचकाे वार्ता सकियाे, नेकपा विवाद जहाँकाे त्यहीँ - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 2 August 2020

अध्यक्षद्वय ओली र प्रचण्डवीचकाे वार्ता सकियाे, नेकपा विवाद जहाँकाे त्यहीँ

काठमाडौँ, १८ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’वीच बालुवाटारमा भएको छलफल विना निश्कर्ष सकिएकाे छ । साउन १३ गते यता दुई अध्यक्षबीच पहिलाे पटक भएकाे वार्तामा नेता झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङ पनि सहभागी हुनुभएकाे थियाे ।

लामो समयपछि आज भइरहेको वार्ताबाट केही न केही सहमतिको विकल्प निस्कने नेताहरुले बताइरहेकाे अवस्थामा दुई अध्यक्षले आफ्नो अडान कायम राखेपछि आजकाे छलफल पनि सकारात्मक हुन नसकेकाे स्राेतले बताएकाे छ । झण्डै ३ घण्टा भएको छलफलमा दुबै अध्यक्षले आफ्ना अडानहरू कायमै राखेपछि छलफललाई निरन्तरता दिने सहमत गर्दै आजकाे छलफल सकिएकाे हाे ।

अध्यक्ष तथा प्राधनमन्त्री ओलीका तर्फबाट संसदीयदलका उपनेता सुवासचन्द्र नेम्वाङलाई र अर्का अध्यक्ष प्रचण्डका तर्फबाट सचिवालय सदस्य तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई राख्नुभएको हाे ।  आजको भेटघाटमा अध्यक्ष ओली र असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर पटक-पटक स्थगित भएको जारी स्थायी कमिटी बैठक सुचारु गर्ने विषयमा छलफल हुने भनिएपनि दुवै अध्यक्षले अडान नछाडेपछि सहमति जुट्न नसकेकाे स्राेतले बताएकाे छ ।

दुई अध्यक्षले आफ्नो पक्षका नेताहरुसँग निरन्तर छलफल र संवादमा रहनु भएपनि अध्यक्षद्वयबीच भने नियमित वार्ता र संवाद हुन सकेको थिएन । 

साउन १३ का लागि तय भएको स्थायी कमिटीको बैठक अध्यक्ष ओलीले सूचना टाँसेर स्थगित गरेपछि अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले एकतर्फी रूपमा सञ्चालन गर्नुभएकाे थियाे। यता ओली पक्षले स्थगित भएको बैठकलाई मान्यता दिएकाे छैन । आन्तिरक विवादका बीच नियमित छलफल, संवादमा रहेका अध्यक्षद्वय त्यसयता प्रत्यक्ष संवादमा हुनुहुन्नथ्याे। उक्त बैठकले प्रचण्डलाई सहमति खोज्ने जिम्मेवारी दिएको थियो ।

नेकपामा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति आपत्ती जनाउँदै उहाँको राजीनामा मागेको छ। जारी स्थायी कमिटी बैठक पनि उहाँले पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा दिनुपर्ने माग चर्को रूपमा उठेपछि बैठक अनिश्चित बनेको छ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.